असार २१, २०८२ शनिबार July 5, 2025

राष्ट्रिय सभाका विषयगत समितिमा ‘सभापति’ सर्वसम्मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय सभाका चारवटै बिषयगत समितिमा निर्वाचन प्रक्रिया शुरु हुँदा चारजना पुरानै सभापतिको उम्मेदवारी दर्ता भएको छ ।

राष्ट्रिय सभाको समितिको कार्यविधि समाप्त भएसँगै उनीहरूको पद रिक्त भएको थियो। लगत्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले समितिहरूमा सदस्यहरू मनोनयन गर्दै निर्वाचन प्रक्रिया सुरू गराएका थिए।

अपरान्ह ४ बजेको अन्तिम नामावली प्रकाशन हुँदा चार जनाको नाममा मात्र उम्मेदवारी दर्ता हुँदा उहाँहरु सभापतिमा सर्वसम्मत हुने निश्चित भएको हो । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार शुक्रबार १ बजे सभापतिहरुको सर्वसम्मत नाम घोषणा हुनेछ ।

उनीहरू चारै जना सर्वसम्मत हुनेछन्। एउटा समितिमा एकमात्रै उम्मेदवारी परेमा सम्बन्धित समितिको बैठकमा निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम सभापतिहरुको आज उम्मेदवारी दर्ता भएको हो । यसअघि पनि चारवटै विषयगत समितिको सभापतिको जिम्मेवारीमा उहाँहरु नै हुनुहुन्थ्यो ।

चार समितिमध्ये विधायन व्यवस्थापन समितिको सभापतिमा परशुमेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) र दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्टको उम्मेदवारी परेको छ ।

चार समितिका सभापतिमध्ये तीन सभापति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हुनुहुन्छ । भट्ट मात्र प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्नुहुन्छ । सभापति गुरुङको प्रस्तावकमा देवेन्द्र दाहाल र समर्थकमा तारामान स्वार हुनुहुन्छ । त्यस्तै, सभापति विडारीको प्रस्ताव र समर्थकमा क्रमशः राधेश्याम अधिकारी र शेरबहादुर कुँवर हुनुहुन्छ ।

सोहीअनुसार सभापति रावलको प्रस्ताव र समर्थकमा खिमलाल भट्टराई र अनिता देवकोटा हुनुहुन्छ भने सभापति भट्टको प्रस्तावक र समर्थकमा दिनानाथ शर्मा र रमेशजङ्ग रायमाझी रहनुभएको छ । एउटा समितिको सभापतिमा एकजना उम्मेदवारको मात्र उम्मेदवारी परेकाले भोलि शुक्रबार दिउँसो १ बजे हुने निर्वाचन प्रक्रियाअनुसार सभापतिको नामावली घोषणा हुने सचिव फुँयालले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया