श्रावण १, २०८२ बिहिबार July 17, 2025

महाधिवेशनको मिति सार्दै काँग्रेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनसम्म सम्पन्न गर्ने गरी तय गरेको पार्टीको १४औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ । कांग्रेसले कोरोना संक्रमणको कारण निर्धारित मितिमा महाधिवेशन हुने अवस्था नभएको र क्रियाशील सदस्यतासहित पार्टी संगठनको समायोजनको काम नसकिएको भन्दै मिति सार्ने तयारी गरिरहेको हो ।

काँग्रेस उच्च स्रोतका अनुसार महाधिवेशन सार्ने विषयमा शीर्ष नेताहरुबिच करिब करिब सहमति भएको छ । तर, महाधिवेशन सारेर जेठ कि भदौमा गर्ने भन्ने टुंगो लागेको छैन ।

‘पछिल्लो पटक तल्ला तहका अधिवेशनका मिति हेरफेर गर्दा नै महाधिवेशनको मिति पनि हेरफेर गर्ने विषयमा केन्द्रीय समितिमा कुरा उठेको हो । त्यस बखत तल्ला तहका मात्रै हेरफेर भयो तर अहिले जेठ वा भदौमा गर्ने गरी शीर्ष तहमा छलफल हुँदै छ,’ कांग्रेसका एक पदाधिकारीले राजधानीसँग भने ।

शीर्ष तहमा भएको छलफलअनुसार पूर्वनिर्धारित मिति सारिए कांग्रेसको १४औं महाधिवेशन २०७८ सालको जेठ वा भदौमा हुनेछ । कांग्रेसको गत पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकले ७ देखि १० फागुन २०७७ सम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

महाधिवेशन सार्ने विषयमा शीर्ष नेताहरुबिच करिब करिब सहमति भएको छ । तर, महाधिवेशन सारेर जेठ कि भदौमा गर्ने भन्ने टुंगो लागेको छैन ।

कांग्रेस पदाधिकारीसहित पूर्वपदाधिकारीको गत बिहीबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको छलफलअनुसार क्रियाशील सदस्यतालाई समेत दोब्बर बनाउने निर्णय भइसकेको छ ।

जसअनुसार कांग्रेसको सदस्यता वितरण, नवीकरण र छानबिनको प्रक्रिया अझै लम्बिने निश्चित छ । जारी कार्यतालिकाअनुसार सदस्यता वितरण साउन मसान्तसम्म मात्र तोकिएको छ । यस्तै, कांग्रेसले सदस्यता छानबिन गर्न अझै समिति बनाइसकेको छैन ।

यस्तै, संविधानले व्यवस्था गरेअनुसारको नयाँ संरचनामा पार्टी संगठनलाई लैजान जारी रहेको समायोजनको कामसमेत कांग्रेसले सकेको छैन । पछिल्लो पटक संगठन समायोजनको काम १५ साउनसम्मा सक्ने भनिएको थियो । त्यसअघि १५ असारभित्र नै अन्तरिम संरचना समायोजनको सबै काम सक्ने भनिएको थियो ।

कांग्रेसले १६ असारको केन्द्रीय समिति बैठकबाट १४औं महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी तल्ला तहका अधिवेशनको मितिसमेत परिमार्जन गरेको थियो । कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणको काम साउन मसान्तभित्र सकेर भदौभित्र अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा पठाइसक्न सबै जिल्लालाई निर्देशन गरेको थियो । यसरी आएका क्रियाशील सदस्यका नाममा असोज मसान्तभित्र उजुरी गर्न र कात्तिक मसान्तभित्र क्रियाशील सदस्यतामाथि पुनरावेदन दिन भनिएको छ ।

यस्तै, ६ पुसमा वडा अधिवेशन, ८ पुसमा ७ सय ५१ स्थानीय तहको अधिवेशन, ११ पुसमा प्रदेशसभा र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १३ पुसमा गर्ने भनिएको थियो । यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १६ पुसमा र सातै प्रदेशको अधिवेशन ६ माघमा गरिसक्ने निर्णय कांग्रेसले तेस्रो पटक मिति संशोधन गर्दै गरिसकेको छ । ।

कांग्रेसले महाधिवेशनका लागि यसअघि सार्वजनिक गरेका क्रियाशील सदस्यता वितरण, सदस्यताको नवीकरण र छानबिनको प्रक्रियासमेत कोरोना संक्रमणकै कारण प्रभावित भएको थियो । कांग्रेसले गत ९ चैतबाटै कोरोना संक्रमणका कारण क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरेको थियो भने आफ्ना नेता कार्यकर्तालाई संक्रमणविरुद्ध सचेतनामा परिचालित हुन निर्देशन दिएको थियो ।

यसअघि महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दा कांग्रेसले गाउँ र नगर वडा अधिवेशन ९ मंसिर, गाउँ र नगरपालिका अधिवेशन ११ मंसिर, प्रदेशसभा क्षेत्रीय अधिवेशन १५ मंसिर, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १७ मंसिर, जिल्ला अधिवेशन २५ मंसिर र प्रदेश अधिवेशन १५ पुसका लागि तय गरेको थियो ।

कांग्रेस विधानअनुसार केन्द्रदेखि बुथ तहसम्म आठ तह छन् । कांग्रेसले ६ हजार ७ सय ४३ स्थानीय तहका वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म गरी आठ तहको नेतृत्व छनोट गर्नुपर्नेछ ।

२०–२३ फागुन २०७२ मा सम्पन्न १३औं महाधिवेशनबाट चार वर्षका लागि सभापति निर्वाचित भएका देउवाले गत फागुनमा एक वर्षको कार्यकाल थप गरेर आगामी फागुनमा महाधिवेशन गर्ने कार्यतालिका ल्याएका थिए । अझै पनि संविधानमा भएको विशेष अवस्थाको व्याख्याअनुसार देउवाले अन्तिम पटक ६ महिना कार्यकाल थप गर्न सक्नेछन् । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार