काठमाडौं । आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक बस्न नसकिरहेका बेला बसेको राष्ट्रिय सभा बैठक पनि सुरु भएको केही समयमै स्थगित भएको छ ।
राष्ट्रियसभामा विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको आज पनि विरोध भएको हो । बैठक सुरु भएदेखि विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले आजै बस्ने गरी एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् । हिजो पनि विपक्षीको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित भएको थियो ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान हटाउने निर्णयको स्पष्टीकरण नदिएसम्म बैठक चल्न नदिने अडान विपक्षी दलहरूले राखिरहेका छन् । सोही अडानका कारण प्रतिनिधि सभा बैठक बस्न सकिरहेको छैन ।
सभामुख देवराज घिमिरेले संसद भवन नयाँ बानेश्वरमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग गरिरहेको छलफल पनि टुंगोमा पुग्न सकिरहेको छैन । सभामुख घिमिरेले प्रतिनिधिसभामा जारी अवरोध खुलाउने गरी प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया