असार १९, २०८२ बिहिबार July 3, 2025

लालु-लैफु सडक निर्माण अन्तिम चरणमा

पर्यटन प्रवर्द्धनमा ठूलो आशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मान्म (कालीकोट), २ वैशाखः जिल्लाको लाल-लैफु सडक निर्माण अन्तिम चरणमा पुगेको छ । नरहरिनाथ गाउँपालिकाको लालुबाट पचालझरना गाउँपालिका नानीकोट हुँदै बाजुराको सिमानासम्म जोड्ने लालु–लैफु राजमार्ग निर्माण अन्तिम चरणमा पुगेको हो ।

निर्माण व्यवसायीको ढिलासुस्ती, पर्याप्त बजेट अभाव हुँदा अछाम, कालीकोट, बाजुरा हुँदै मुगु र हुम्ला जोड्ने लक्ष्यका साथ निर्माण थालिएको राजमार्गले अन्तिम रूप लिएको रास्कोट नगरपालिका-५ का स्थानीय जगतबहादुर शाहीले बताउनुभयो ।

कालीकोटमा एक पालिकाबाट अर्को पालिका हिँडेर पुग्न एक दिन लाग्ने अवस्थामा लालु-लैफु सडकको रास्कोट-पचालझरना खण्डमा मोटर गुड्न थालेपछि दिनभरको समय सदुपयोग भई करिब डेढ घण्टामा झरेको उहाँले जानकारी दिनुभयो । “धेरै पहिलादेखि निर्माणसम्बन्धी बहस भइरहेको लालु–लैफु सडकले अहिले सार्थकता पाएको छ”, उहाँले भन्नुभयो, “अहिले सडकमा गाडी गुड्न थालेका छन् ।”

सङ्घ र प्रदेश सरकारको साझेदारीमा लालु-लैफु राजमार्गअन्तर्गत ४५ किलोमिटर खण्डमा निर्माण र नालासहित ग्राभेलको काम भइरहेको पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख हरि शर्मा धितालले बताउनुभयो । सोमध्ये रास्कोट-५ बाट पचालझरना गाउँपालिका-९ सम्मको करिब आठ किमीमा कडा चट्टानी भाग रहेको भन्दै केके एनएनएस जेभी सुर्खेतले निर्माणको जिम्मा लिएको उहाँले जानकारी दिनुभयो ।

“विसं २०८० पुस गते ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी जिम्मा लिएको निर्माण कम्पनीले अहिले करिब ९० प्रतिशत काम सम्पन्न गरिसकेको छ”, उहाँले भन्नुभयो, “बायोइञ्जिनियरिङको कामबाहेक अरु सबै काम अबको दुई महिनाभित्र पूरा हुने विश्वास लिएका छौँ । अहिले सुक्खा भएकाले वर्षायाममा बायोइञ्जिनियरिङको काम गर्नुपर्ने हुन्छ ।”

तीस महिनामा सक्ने काम १५ महिना नपुग्दै सम्पन्न हुने अवस्थामा पुगेको प्रमुख धितालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले उक्त खण्डमा द्रुत गतिमा ग्राभेलको काम भइरहेको छ । कूल रु २८ करोडको बजेटमा निर्माण हुने उक्त सडक रु २१ करोडमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष रु १४ करोड खर्च भएको छभने चालु आवमा रु पाँच करोडबाट काम भइरहेको उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया