श्रावण ७, २०८२ बुधबार July 23, 2025

पशुपति क्षेत्र विकास कोषमा आर्थिक हिनामिना गर्ने कर्मचारी बर्खास्त

खापाल दवाडीले कोषको आम्दानी रकम तोकिएको खातामा जम्मा नगरी आफूले मासेर हिनामिना गरी भ्रष्टाचारजन्य कार्य गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख २६ गते । पशुपति क्षेत्र विकास कोषले आर्थिक हिनामिना र अपचलनमा संलग्न एक कर्मचारीलाई बर्खास्त गरेको छ । कोषका सदस्यसचिव डा. मिलनकुमार थापाका अनुसार ३६ लाख ५० हजार ९५५ रुपियाँ हिनामिना गर्ने लेखापाल ईश्वरबहादुर दवाडीलाई बर्खास्त गरिएको हो ।

कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले ‘हिनामिना गरेको रकम असुलउपर गर्ने गरी कोषको सेवाबाट बर्खास्त गरिएको’ पत्र लेखापाल दवाडीलाई दिनुभएको छ । सदस्यसचिव डा. थापाले कोषभित्र आर्थिक सुशासन र पारदर्शिताको प्रत्याभूति गर्न आर्थिक अपचलन र हिनामिनामा संलग्न कर्मचारीलाई कारबाही गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भगवान् पशुपतिनाथको सेवा गर्ने जिम्मेवारी पाएकै व्यक्तिबाट आर्थिक अनियमितता भएको खुलेपछि कारबाही गर्नुको विकल्प रहेन ।” यसअघि डा. थापाकै नेतृत्वमा २०८१ जेठ ७ गते सोमबार पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएकै अवस्थामा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको थियो । पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरे र बाजा बजाउने कर्मचारीहरू ३४ वर्षका अनिल परियार, ३५ वर्षका कुमार दमाईं परियार र २९ वर्षीय सञ्जय कपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको थियो । अभियुक्तविरुद्ध अहिले काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

उहाँका अनुसार लेखापाल दवाडीले कोषको आम्दानी रकम तोकिएको खातामा जम्मा नगरी आफूले मासेर हिनामिना गरी भ्रष्टाचारजन्य कार्य गरेकाले कारबाही गरिएको हो । २०४४ सालमा कोषको ऐन जारी भएयता केही कर्मचारीलाई निलम्बन गरिए पनि आजीवन अयोग्य हुने गरी बर्खास्त गरिएको यो पहिलो निर्णय हो ।

कारबाहीमा परेका दवाडीले वैशाख २३ गते स्पष्टीकरण पेस गरी हिनामिना गरेको बेहोरामा साबिती भई केही रकम जम्मा गराएको बताएका थिए । कोषका अनुसार आठ लाख ९३ हजार ४३८ रुपियाँ लेखापाल दवाडीबाट असुल गर्न बाँकी रहेको र उक्त रकम पनि असुल गरिने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया