काठमाण्डौं, ०३ जेठ। राजनीतिक सत्ता, शासनकला र समकालीन यथार्थबीचको सम्बन्धलाई सैद्धान्तिक रूपमा स्पष्ट पार्ने उद्देश्यसहित आज काठमाडौँमा एक विशेष बौद्धिक कार्यक्रम हुँदैछ।
प्राध्यापक बहस चौतारीको संयोजन तथा त्रिभुवन विश्वविद्यालय, राजनीतिशास्त्र शिक्षा विभागको सहकार्यमा आयोजित सो कार्यक्रममा “कौटिल्यको सत्ता–सूत्र, शासनकला र आजको राजनीतिक यथार्थ” भन्ने विषयमा बहस हुने भएको हो। यो बहस चौतारीको ७१औं प्रस्तुति हुनेछ।
कार्यक्रमका प्रमुख प्रस्तोता अर्थशास्त्रका ख्यातिप्राप्त विद्वान् तथा कौटिल्य दर्शनका विज्ञ प्रा.डा. बाबुराम ज्ञवाली हुनुहुन्छ। उहाँले कौटिल्यको ‘राजा, अर्धशक्ति र दण्ड’ सिद्धान्त तथा शासन अवधारणालाई समकालीन राजनीतिक अभ्याससँग जोडेर विश्लेषण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रममा विशिष्ट समिक्षकको रूपमा पूर्वीय राजनीतिक दर्शनका जानकार एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्व रेक्टर प्रा.डा. लालमणी पाण्डे, राजनीतिशास्त्री तथा दक्षिण अफ्रिकाका लागि पूर्व नेपाली राजदूत प्रा.डा. कपिल श्रेष्ठ, र राजनीतिक अर्थशास्त्री तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. शिवलाल भूषालले आ–आफ्नो समालोचनात्मक धारणा राख्ने छन्।
कार्यक्रममा देशभरिका प्राध्यापकहरू, एम.फिल. तथा पीएचडी तहका शोधार्थीहरू, स्नातकोत्तर विद्यार्थीहरू तथा राजनीतिक दर्शनमा रुचि राख्ने बौद्धिक वर्गको सहभागी रहने अपेक्षा गरिएको छ।
कार्यक्रमको समापनतर्फ शिक्षाशास्त्र संकाय स्नातकोत्तर तह प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी मछिन्द्रराज आचार्यले सहभागी विद्यार्थीहरूका तर्फबाट मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ। उनले कौटिल्य दर्शनको वर्तमान राजनीतिक परिवेशमा प्रयोगात्मक सन्दर्भबारे धारणा राख्नेछन्।
यस कार्यक्रममार्फत राजनीतिक सिद्धान्त र व्यवहारबीचको अन्तरसम्बन्धबारे गहिरो बहस हुने आयोजकको विश्वास छ। प्राध्यापक बहस चौतारीले यस्ता शैक्षिक बहसलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया