हुम्ला, जेठ १९ गते। साक्षर जिल्ला घोषणा भइसकेको हुम्लामा अझै पनि एक हजार चार सय जना निरक्षर रहेको तथ्य सार्वजनिक भएको छ। शिक्षा विकास तथा समन्वय इकाई हुम्लाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार राष्ट्रिय साक्षरता सम्बन्धी मापदण्ड २०७६ अनुसार ९५ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि जिल्ला साक्षर घोषणा गर्न मिल्ने भएकाले केही अंश निरक्षर जनसङ्ख्या रहेको अवस्थामा पनि जिल्ला साक्षर घोषणा गरिएको हो।
शिक्षा इकाइका प्रमुख योगेश आले मगरका अनुसार १५ वर्ष माथि र ५९ वर्ष मुनिका एक हजार चार सय व्यक्ति अझै पनि अक्षर चिन्ने अवस्था बाहिर छन्। जिल्लाको कुल जनसङ्ख्या ३५ हजार ३५४ मध्ये ९६.०४ प्रतिशत साक्षर छन् भने ३.९६ प्रतिशत निरक्षर रहेका छन्।
गाउँपालिका | कुल जनसंख्या | साक्षर जनसंख्या | निरक्षर जनसंख्या |
---|---|---|---|
नाम्खा | 2,889 | 2,778 | 111 |
सिमकोट | 8,443 | 8,072 | 371 |
खार्पुनाथ | 4,321 | 4,134 | 294 |
सर्केगार्ड | 7,438 | 7,124 | 314 |
चङ्खेली | 4,056 | 3,864 | 192 |
अदानचुली | 4,399 | 4,207 | 192 |
ताँजाकोट | 3,841 | 3,775 | 66 |
हुम्लाका सात वटै गाउँपालिका साक्षर घोषणा भइसकेका छन्, जुन चरणबद्ध रूपमा सम्पन्न भएको थियो:
खार्पुनाथ गाउँपालिका: २०७९ असार ३१ (९५.५% साक्षरता)
सिमकोट गाउँपालिका: २०८० वैशाख २५ (९५.६%)
सर्केगार्ड गाउँपालिका: २०८० असार २५ (९५.७४%)
ताँजाकोट गाउँपालिका: २०८० असार २७ (९८.२८%)
अदानचुली गाउँपालिका: २०८० असार २८ (९५.६४%)
चङ्खेली गाउँपालिका: २०८० असार २९ (९५.२४%)
नाम्खा गाउँपालिका: २०८१ फागुन २७ (९६.१६%)
राष्ट्रिय मापदण्डले ९५ प्रतिशत साक्षरता पुगेपछि जिल्ला वा पालिका साक्षर घोषणा गर्न अनुमति दिएको भए पनि बाँकी रहेको ५ प्रतिशत या सोभन्दा कम जनसंख्यामा अझै पनि निरक्षरता कायम रहनु सरकारको शिक्षाको पहुँच विस्तार तथा साक्षरता कार्यक्रमको पूर्ण कार्यान्वयनमा चुनौती देखिन्छ।
विशेषतः दुर्गम क्षेत्र, भाषा विविधता, वृद्धवृद्धा, वा शैक्षिक पहुँच नपुगेका वर्गहरूमा निरक्षरता अझै देखिएको छ।
हुम्लाको साक्षरता सुधार उत्साहजनक देखिए तापनि बाँकी रहेको निरक्षर जनसंख्यालाई साक्षर बनाउन थप कार्यक्रम, जनचेतना र पहुँच विस्तार अपरिहार्य देखिन्छ। जिल्लालाई पूर्ण साक्षरताको दिशामा लैजान यथोचित योजना र संसाधनको परिचालन आवश्यक छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया