काठमाडौं, जेठ २१ । लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ को आगामी कनभेन्सनलाई लक्षित गर्दै आइडी इन्डोरसी पदका उम्मेदवार लायन राजन लम्साललाई एकजुट समर्थन प्राप्त भएको छ।
डिस्ट्रिक्ट ३२५ आर, नेपालका पूर्व डिस्ट्रिक्ट गभर्नर लायन डीके ढुङ्गानाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै लम्साललाई व्यक्तिगत र संस्थागत रूपमा पूर्ण समर्थन गर्ने घोषणा गरेका छन्।
पूर्व डि.जी. ढुङ्गानाले मंगलबार सार्वजनिक वक्तव्य जारी गर्दै भने, “संस्थागत हित र नेपाली लायनवादको उज्ज्वल भविष्यलाई प्राथमिकता दिँदै मैले व्यक्तिगत उम्मेदवारी फिर्ता लिएको हुँ।” उनले लायन राजन लम्साललाई “योग्य, सक्षम र अन्तर्राष्ट्रिय स्तरमा नेपाली लायनहरूको प्रभावशाली पहिचान दिलाउन सक्षम दूरदर्शी नेता” भन्दै प्रशंसा समेत गरेका छन् ।
ढुङ्गानाको अनुसार यो निर्णय केवल व्यक्तिगत हैन, सम्पूर्ण डिस्ट्रिक्ट ३२५ आर का पिडिजीहरू, वर्तमान गभर्नर टिम र सदस्यहरूको सहमतिमा आधारित सामूहिक समर्थन हो। उनका शब्दमा, “यो निर्णय कमजोरी होइन, बरु लायन्स धर्म र संगठनप्रतिको निष्ठाको उत्कृष्ट उदाहरण हो।”
लायन राजन लम्साल लायन्स आन्दोलनमा दशकौंको अनुभव, नेतृत्व क्षमताको गहिरो समझ र अन्तर्राष्ट्रिय नेटवर्किङमा दखल राख्ने व्यक्तित्वका रूपमा परिचित छन्। लम्सालले यसअघि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरिसकेका छन् ।
अबको कन्भेन्सनमा उनलाई विजयी गराउन आह्वान गर्दै ढुङ्गानाले भने, “आउनुहोस्, हामी सबै मिलेर लायन राजन लम्साललाई विजयी बनाउँ-नेपाली लायनवादलाई अन्तर्राष्ट्रिय मञ्चमा थप सशक्त बनाउने हाम्रो साझा सपना साकार पारौं।”
लायन राजन लम्सालको पक्षमा समर्थन जुट्दै जाँदा कन्भेन्सनको राजनीतिक सरगर्मी चुलिएको छ। धेरै लायन नेताहरूले यस निर्णयलाई ऐतिहासिक भन्दै स्वागत गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया