काठमाण्डौः मन्त्रीपरिषदको बैठकले विदेशबाट हुने ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवाश बालुवाटारमा बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले हवाई मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण गर्दै नेपाल आउने नेपाली नागरिकहरुले सात दिनसम्म काठमाडौंमा होटलको क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय समेत गरेको छ ।
त्यसका लागि कुन होटेलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ भने सरकारले होटलहरुको सूची प्रकाशित गरिनेछ । यसरी होटेलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ ।
यस्तै बैठकले स्थानीय तहहरूमा क्वारेन्टाइनको संख्या विस्तार गर्ने निर्णय पनि गरेको छ । कोरोना रोकथामका लागि गठित कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमी)ले तयार गरेको प्रस्ताव अनुरुप सरकारले विदेशमा समस्यामा परेका नेपालीहरूको उद्धार पुनः शुरु गर्ने निर्णय समेत गरेको हो ।
जसअनुसार विदेशमा समस्यामा परेका नेपाली ल्याउन दैनिक ३ ओटा चार्टर उडान गरिने छ । बैठकले नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारीहरुलाई नेपाल आउन र सम्बन्धित देशमा सहज ढंगले आवतजावतको व्यवस्था गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
काठमाडौंमा कोराना संक्रमणको दर बढेसँगै सरकारले विदेशबाट आउनेहरुको उचित व्यवस्थापन आवश्यक भएको भन्दै दुई दिन अगाडि चार्टर उडान रोक्ने निर्णय गरेको थियो । जसले गर्दा स्वदेश आउन ठिक परेका नेपालीहरु समस्यामा परेका थिए ।
मन्त्रिपरिषद् बैठकले उद्योग तथा कलकारखानाका कच्चा पदार्थ बोकेका ढुवानीका सवारीसाधन चल्न दिने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहेकै अवस्थामा पनि उद्योग कलकारखानाका लागि कच्चापदार्थ बोकेका मालबाहक सवारीसाधनलाई चल्न पाउने भएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया