श्रावण ५, २०८२ सोमबार July 21, 2025

दश महिनामा एक्काइस गर्भवती तथा सुत्केरीको हवाई उद्धार

उच्च जोखिममा परेका गर्भवती, सुत्केरी र शिशुको ज्यान बचाउन उद्धार कार्यक्रम प्रभावकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ओखलढुङ्गा ।  ओखलढुङ्गाबाट चालु आर्थिक वर्षको १० महिनामा २१ गर्भवती तथा सुत्केरीको उद्धार गरिएको हो ।

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत २१ जना गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनुप पौडेलले बताउनुभयो । उद्धार गरिएका सबै गर्भवती–सुत्केरीलाई काठमाडौँका विभिन्न अस्पतालमा पठाइएको उहाँले जानकारी दिनुभयो ।

उच्च जोखिममा परेका गर्भवती, सुत्केरी र शिशुको ज्यान बचाउन उद्धार कार्यक्रम प्रभावकारी बनेको पौडेलको भनाइ छ । “सुविधा सम्पन्न अस्पतालमा उपचार नगरिए ज्यानै जानसक्ने सम्भावना भएका गर्भवती तथा सुत्केरीलाई स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविकालगायत स्वास्थ्य संस्थाका कर्मचारीको सिफारिस र खबरका आधारमा मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा तत्काल हवाई उद्धार भइरहेको छ”, उहाँले भन्नुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका महिलाले नवजीवन पाएको जिल्लास्तरीय आमा समूह सञ्जालका अध्यक्ष कान्ति राजभण्डारीले बताउनुभयो । “पहिले दुर्गम क्षेत्रका महिलाले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता थियो । हाल हवाई उद्धार सेवा पाएपछि आमा र शिशुको ज्यान बचेको छ”, उहाँले भन्नुभयो, “यो कार्यक्रम निकै प्रभावकारी छ । आगामी दिनमा स्वास्थ्यका क्षेत्रमा योजना बनाउँदा सरकारले दुर्गमका नागरिकलाई केन्द्रमा राख्यो भने राम्रो हुन्छ भन्ने सन्देश पनि यसले दिएको छ ।”

विगतमा महँगोमा हेलिकप्टर चार्टर गरेर काठमाडौँ लैजान सक्नेहरूले उपचार पाउने र नसक्नेहरूले उपचार अभावमा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको थियो ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया