श्रावण २, २०८२ शुक्रबार July 18, 2025

फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान

जेठ अन्तिमबाट सुरु भएको वर्षा र बाक्लो कुहिरोले लगातार १७ दिनसम्म विमानस्थल ठप्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सोलुखुम्बु । पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि जहाज उडान भएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको जहाज उडाउन १७ दिनपछि बुधबार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ ।

प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले काठमाडौँबाट फाप्लुसम्म सफल उडान भरेर पुन: काठमाडौँ फर्किएको हो । जहाज १२ जना यात्रु लिएर फाप्लु आएको भए पनि जहाजले १० जना यात्रु लिएर काठमाडौँ फर्किएको अधिकृत थापाले जानकारी दिनुभयो । भेगको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले बारम्बर लामो समय उडान ठप्प हुने गर्दछ । जेठ अन्तिमबाट सुरु भएको वर्षा र बाक्लो कुहिरोले लगातार १७ दिनसम्म विमानस्थल ठप्प भएको थियो ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएका जटिल अवस्थाका बिरामी तथा अशक्तहरु काठमाडौँ पठाउन सकस परेको स्थानीय पदम श्रेष्ठले बताउनुभयो । उडान बन्द हुँदा गम्भीर अवस्थाका बिरामीको जीवन जोखिममा परेको स्थानीय स्वास्थ्यकर्मीहरु बताउँछन् । काठमाण्डौँ ‘रेफर’ गरिएका बिरामीलाई जहाजमार्फत पठाउन नसकिँदा घण्टौँ लगाएर गाडीमार्फत ओखलढुङ्गा तथा विराटनगर पठाउनु परेको स्थानीय पेम्बा शेर्पाको भनाइ छ ।

सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकको मुख्य गेटवे लुक्ला हो भने फाप्लु वैकल्पिक स्थलका रुपमा लिने गरिन्छ । मौसमले उडान अवरुद्ध हुँदा फाप्लु हुँदै लुक्ला पुग्ने पर्यटकहरूले योजना परिवर्तन गरिरहेको यातयात व्यवसायी मिङ्मार शेर्पाले बताउनुभयो ।

नियमित उडान तालिका कागजमै सीमित

जिल्लाका सदरमुकाम नजिकको फाप्लु विमानस्थलमा हाल नेपाल एयरलाइन्सबाहेक अन्य निजी विमान कम्पनीहरुले नियमित उडान तालिका राखेका छैनन् । मौसम प्रतिकूल भइरहने र यात्रुसमेत पर्याप्त नुहने भएपछि निजी विमान कम्पनीहरुले नियमित उडान तालिका समावेश नगरेको हुन् ।

नेपाल एयरलाइन्सले हप्तामा सोमबार, बुधबार, शुक्रबार र शनिबार काठमाण्डौँ–फाप्लुमा उडान भर्ने तालिका तय गरेको छ । तर, मौसमका कारण ती उडानहरु अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार हरेक महिना औसत १०/१२ दिन मात्र उडान हुन सक्ने अवस्था रहन्छ । अर्कोतर्फ नेपाल एयरलाइन्ससँग अहिले फाप्लुका लागि चल्ने ट्विनअटर जहाजको सङ्ख्या सीमित छ । यन्त्रको अवस्था, पाइलटको अभाव र अन्य प्राविधिक कारणले गर्दा समेत तालिका प्रभावित हुने गरेको प्राधिकरणले जनाएको छ ।

फाप्लुबाट काठमाडौँसम्मको सडक मार्गको दूरी करिब २७५ किलोमिटर छ तर, त्यो सडक अहिले पनि गाडीका लागि पूर्ण रूपमा उपयुक्त छैन । बिपी राजमार्गको सिन्धुली, खुर्को तथा काभ्रे क्षेत्रको सडक पहिरोका कारण जोखिमपूर्ण भएकाले जिल्लावासीलाई सङ्घीय राजधानी काठमाडौँ आउजाउ गर्न कठिन छ ।

स्थानीय बिमला राई भन्नुहुन्छ, “सडकबाट जान भनेको शरीरलाई यातना दिनु हो । बिरामी छ भने झन् यात्रा कहिल्यै सकिँदैन जस्तो लाग्छ ।” स्थानीय तहका जनप्रतिनिधिले हवाई सेवा नियमित बनाउन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे भन्नुहुन्छ, “मौसमका कारण नियमित उडान असम्भव हुन्छ, तर यसलाई वैकल्पिक रुपमा सेनाको हेलिकप्टर, निजी एयरलाइन्ससँग सहकार्य गरेर काम गरिरहेका छौँ । जहाजको भर नहुँदा बिरामी, सुत्केरी तथा अन्य अति आवश्यक सरकार कामका लागि धेरै सास्ती खेप्नु पर्दछ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार