काठमाण्डौः राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने र हिन्दु अधिराज्य पुनर्स्थापना गर्ने लक्ष्य प्राप्तिको निमित्त निकट भविष्यमै पुनः आन्दोलन सुरु हुने बताएका छन् ।
पार्टी आबद्ध भातृ सङ्गठन राष्ट्रिय युवा मोर्चा नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलन सफल पार्न कम्तीमा ५ हजार प्रतिबद्ध स्वयंसेवक तयार गर्न युवा मोर्चालाई तयारीमा लाग्न निर्देशन समेत दिए । मुलुकमा कुशासन, ब्रम्हलुट, मनपरितन्त्र हाबी भएको भन्दै सर्वसत्तावादी चिन्तनबाट शासकहरू अघि बढिरहेकोले जनताले यसको प्रतिवाद गर्ने समेत उल्लेख गरे ।
नेपाली जनताको भावनालाई कुल्चिएर गणतन्त्र , धर्मनिरपेक्षता र सङ्घीयता जबरजस्ती लादिएको भन्दै थापाले विदेशीले बोकाइदिएको भारी बोक्न तयार भएका दलहरू अहिले पनि विदेशी शक्ति रिझाउन मै तल्लीन भएको आरोप लगाए ।
राजसंस्था भन्ने बित्तिकै केही केही मान्छे झस्किने गरेको भन्दै थापाले राजसंस्था र प्रजातन्त्र सङ्गै जाने भएकोले कोही चिन्तित हुनु नपर्ने स्पष्ट पारे । राजा र जनता मिलेर मुलुकको आर्थिक ,सामाजिक, राजनीतिक कायापलट गर्ने दूरगामी सोच र योजना आफूहरूसँग भएको समेत थापाले बताए ।
युवा पुस्ताले मनपरितन्त्र नसहने भन्दै अब हुने आन्दोलनमा युवाहरूको सक्रिय सहभागिता जरुरी भएको उनको धारणा थियो । कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष तेजकुमार कुरुङ्गवाङ्ग, युवा मोर्चाका सह अध्यक्ष गृष्मविक्रम मल्ल, लाक्पा शेर्पा, सरोज तिमल्सिना, शक्ति दर्शनधारी, मनोज तिमल्सिना, विनोद कपाली लगायतले बोलेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया