काठमाडौं, असार १८ । कर्णाली विकास बैंक घोटालामा संलग्न आरोपमा पक्राउ परेका पशुपति दयाल मिश्र नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेको खुलेको छ । मिश्र पूर्व जिल्ला विकास समिति (जिविस) सभापति र मधेश आन्दोलनबाट उदाएका नेताका रूपमा परिचित छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार नेपालगञ्जबाट उनलाई पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार मिश्रलाई बाँकेमा राखेर अनुसन्धान अघि बढाइनेछ ।
विसं २०६६ देखि २०७५ सम्म कर्णाली विकास बैंकको अध्यक्ष रहेका मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट स्वतन्त्र समूहका तर्फबाट उम्मेदवार बनेका थिए । सूर्य चिन्ह लिएर प्रतिस्पर्धा गरेका उनी पराजित भएपछि नेकपा एमाले प्रवेश गरी केन्द्रीय सदस्य बनेका थिए । एमालेमा प्रवेश गरेपछि उनलाई नेपालगञ्ज उपमहानगरको मेयरका लागि टिकट दिइएको थियो, तर त्यहाँ नेपाली कांग्रेसका प्रशान्त विष्ट विजयी भएका थिए ।
यस घोटाला प्रकरणमा हालसम्म तीन जना पक्राउ परिसकेका छन् । यसअघि बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पनि पक्राउ परिसकेका थिए । अनुसन्धान जारी रहेको प्रहरी स्रोतको भनाइ छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया