असार २६, २०८२ बिहिबार July 10, 2025

नेपाली काँग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्कासित

गठबन्धन उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा काँग्रेस नेता विष्णुकुमार राईमाथि कडा कारबाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खोटाङ, असार २६ । नेपाली काँग्रेस खोटाङका सभापति विष्णुकुमार राईलाई पार्टी अनुशासन उल्लंघनको आरोपमा एक वर्षका लागि पार्टी सदस्यताबाट निष्कासन गरिएको छ। पार्टीको आधिकारिक उम्मेदवारलाई अघिल्लो निर्वाचनमा असहयोग गरेको आरोप पुष्टि भएपछि केन्द्रीय अनुशासन समितिले राईलाई कारबाही गरेको हो।

अनुशासन समितिका संयोजक आनन्द ढुंगानाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख भएअनुसार, २०७९ सालको संघ र प्रदेशसभा निर्वाचनमा पार्टीले गठबन्धनका तर्फबाट दिएको उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै सभापति राईमाथि कारबाही गरिएको हो।

तीन वर्षअघि प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसले माओवादी उम्मेदवार रामकुमार राईलाई समर्थन गरेको थियो भने प्रदेशसभा क्षेत्र नं १(२) मा काँग्रेसकै भुपेन्द्र राई उम्मेदवार थिए। तर, क्षेत्र नं १(१) मा एकीकृत समाजवादीका बिरबल काजी राईलाई समर्थन गरिए पनि एमालेका पाँचकर्ण राई विजयी भएका थिए। यस घटनामा सभापति राईले गठबन्धन उम्मेदवारविरुद्ध अन्तर्घात गरेको ठहर गर्दै कारबाही गरिएको जनाइएको छ।

पार्टी निर्णयबारे प्रतिक्रिया दिँदै राईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले आफ्नो ३५ वर्षे राजनीतिक यात्रा स्मरण गर्दै, ‘राजनीतिमा सधैं प्राप्ति मात्र हुँदैन, गुमाउनु पनि पर्छ,’ भन्दै पार्टीको कारबाहीलाई ‘सहर्ष ग्रहण’ गर्ने जनाएका छन्। तर उनले २०७९ सालमा गठबन्धनका क्रममा खोटाङ काँग्रेसमाथि गरिएको ‘सुनियोजित अन्याय र अपमान’ सहन नसकेको प्रस्ट पारेका छन्।

उनले लेखेका छन्, “स्वाभिमानी कार्यकर्ता भएर त्यसको विरुद्ध डटेर लागेकै हुँ। जसबापत केन्द्रले महत्वपूर्ण सम्मानपत्र पठाएको छ। हार्दिक ग्रहण गर्दछु।” उनले आफू निष्ठावान खोटाङे कांग्रेसीहरूको साथमा रहेको उल्लेख गर्दै अनुशासनको नाममा गरिएको कारबाहीप्रति सम्मान र प्रतिरोध दुबै अभिव्यक्त गरेका छन्।

यो घटनाले नेपाली काँग्रेसको केन्द्रीय र स्थानीय नेतृत्वबीचको सम्बन्ध, अनुशासनको व्याख्या, तथा आन्तरिक खिचातानीलाई पुनः चर्चामा ल्याएको छ। राईको निष्कासनसँगै खोटाङमा काँग्रेसको आन्तरिक राजनीति अझ पेचिलो बन्ने अनुमान गरिएको छ।
राई सरल स्वभाव, शालीन छवि र पार्टीप्रति निष्ठा राख्ने नेताका रूपमा खोटाङमा चिनिन्थे। पार्टी निर्णयसँगै स्थानीय तहमा काँग्रेस कार्यकर्ताहरूको धारणा र भविष्यको रणनीति कस्तो हुन्छ भन्ने विषयमा चासो बढेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया