काठमाडौं, असार २६ गते । नेपाली कांग्रेसले २०७९ सालको संघ र प्रदेश निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा विभिन्न तहका नेतामाथि अनुशासनात्मक कारबाही गरेको छ। पार्टीको केन्द्रीय अनुशासन विभागले पूर्वमन्त्री, महामन्त्री, जिल्ला सभापति, क्षेत्रीय नेता र अन्य क्रियाशील सदस्यहरूमाथि कारबाही सार्वजनिक गरेको हो।
अनुशासन विभागका संयोजक आनन्दप्रसाद ढुंगानाका अनुसार आरोप पुष्टि भई स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएपछि कारबाही गरिएको हो। कारबाहीमा परेका नेताहरूमा गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्ला सभापति विष्णुकुमार राई र पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता रहेका छन्। यिनीहरूलाई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्कासन गरिएको छ।
यस्तै, धनुषाको लक्ष्मीनीया गाउँपालिकाका पार्टी सभापति आनन्द यादवलाई छ महिनाको लागि निष्कासन गरिएको छ। अन्य कारबाहीमा परेकाहरूमा धनुषाको सबैला नगरपालिका, धनुषाधाम नगरपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकाका वडास्तरका नेताहरू छन्। यी सबैलाई पनि पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा छ महिनाका लागि निलम्बन गरिएको छ।
कास्की क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, धनगढी उपमहानगरपालिका वडा नं. २ का महाधिवेशन प्रतिनिधि भीमबहादुर शाह, निवर्तमान सचिव पूर्णकुमार कुँवर, वडा नं. १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी, सदस्य सुभाष चन्द, वडा नं. ५ का पूर्वमहाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीलगायतलाई पनि छ महिनाका लागि निलम्बन गरिएको छ।
त्यस्तै, कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीलाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरिएको छ।
अनुशासन विभागले भनेको छ, “पार्टी अनुशासन उल्लंघन गर्ने जो–कोहीलाई आवश्यक कारबाही हुनेछ। पार्टीको निर्णय, उम्मेदवार र नीतिको विपरीत क्रियाकलापको अब क्षमा छैन।”
यस कारबाहीसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक असन्तोष, गुटगत राजनीति र स्थानीय तहसम्मको संगठन संरचना पुनः चर्चामा आएको छ। पार्टीले अनुशासनलाई सुदृढ पार्दै आगामी चुनावी रणनीति र नेतृत्व व्यवस्थापनमा कडाइ गर्ने संकेत पनि देखिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया