काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका नेपाली भाषीबीच भाषिक एकता कायम गर्न मद्दत गरेको ऐतिहासिक तथ्यलाई पनि हामी सबैले मनन गर्नुपर्ने बताउनुभएको छ ।
आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीको अवसरमा उहाँलाई स्मरण गर्दै राष्ट्रपति पौडेलले दिनु भएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि कामना गर्नुभएको छ ।
“भानुभक्तले नेपाली भाषालाई जनताको भाषा बनाउँदै साहित्यलाई सबैको पहुँचमा पुर्याउन र यसलाई अझ समुन्नत तुल्याइ नेपाली भाषा, साहित्य एवम संस्कृतिको सम्वद्र्धनका निम्ति अतुलनीय योगदान पुर्याएको पाइन्छ”, राष्ट्रपतिको सन्देशमा भनिएको छ, “नेपाली कविताका आदिकवि र भाषाका प्रवद्र्धक भानुभक्तलाई नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा पनि चिनिन्छ ।”
भानुभक्त आचार्यले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको संस्कृत भाषाको वाल्मीकि रामायण नेपाली साहित्यसँग सरोकार राख्ने सबैको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबीच जनचेतनाको विकास तथा भावनात्मक एकता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निभाएको राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।
भानुभक्तीय रामायण नेपाली भाषा लिपीको प्रवद्र्धन गर्ने तथा धर्म, कर्तव्य, निष्ठा, सेवाभाव आदि विषयलाई मानवीय जीवनमा उपयोग गर्न सहयोग पुर्याउने रचना भएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ ।
भानुभक्तको जन्मस्थललाई साहित्यिक तथा आदिकविको ऐतिहासिक साँस्कृतिक स्थलको रूपमा विकास गर्न सकेमा नै उहाँप्रति हाम्रो सच्चा सम्मान हुने राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो । उहाँले भानुभक्त आचार्यलाई सम्मानका साथ स्मरण गर्दै सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै भाषा संस्कृतिप्रतिको प्रेम, सम्मान एवम् संरक्षण गर्न हामी सबैलाई प्रेरणा मिलोस भन्ने कामना गर्नुभएको छ ।
पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रुपमा तनहुँको चुँदी रम्घामा विसं १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन सम्पूर्ण नेपाली भाषा, साहित्य र संस्कृति प्रेमीहरूद्वारा विविध कार्यक्रमहरू आयोजना गरी भानु जयन्ती मनाउने गरिन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया