असार २९, २०८२ आइतबार July 13, 2025

आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ

असारको दिनमा समेत पानी नपरेपछि धान लगाउन ठिक्क पारेका खेत अहिले बाँझै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बरहथवा (सर्लाही)। हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ दैनिक आकाश हेरेर थाकिसकेका छन् । असारको दोस्रो सातादेखि धान रोप्ने तयारी गरेका उनले पानी नपरेपछि धान रोप्न पाएका छैनन्।

“असारको पहिलो हप्तातिर हल्का मात्र पानी परेको थियो”, उनले भने। “तर, यस वर्ष धानको ब्याड राख्ने समयमा पनि पानीले साथ नदिएपछि ढिलो भयो ।” सुक्खामा राखेका बीउ राम्रोसँग नबढेपछि पर्खिँदापर्खिँदै समय घर्किन लागेको उनको गुनासो छ ।

सिँचाइको व्यवस्था नभएको एक बिघा खेतमा उनले अकासे पानीका भरमा धान रोप्दै आएका छन्। यसरी अकासे पानीका भरमा खेती गर्न केही समययता साह्रै सकस हुन थालेको उनले सुनाए । “यस वर्ष धानको बीउ राख्ने समय पनि खडेरीमै गयो”, उनले भने, “पानीको पर्खाइमा बीउ ढिलो भयो, अहिले धान रोप्न उस्तै समस्या छ ।”

मौसम पूर्वानुमान महाशाखाले यस वर्ष औसतभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरेको छ । तर मधेसका जिल्लामा खडेरी बढ्दै गएको किसान बताउँछन् । असारको दिनमा समेत पानी नपरेपछि धान लगाउन ठिक्क पारेका खेत अहिले बाँझै बसेका छन्भने केही स्थानमा समयमै रोप्न नपाउँदा धानको बीउ छिप्पिन थालिसकेको छ ।

पटकपटक मौसम बदली हुँदै टर्दै गर्न थालेपछि यस वर्ष धान रोप्न नपाइने चिन्ताले सताएको जिल्लाको लालबन्दी नगरपालिका–५ जब्दीका दीपक घिमिरेको भनाइ छ । “पानी बन्दै पर्न छाड्यो”, उनले भने, “खेतमा पटाउन नहर कुलोको सुविधा छैन । आकाशको पानीको भर हो । यस वर्ष यस्तै होला जस्तो छ ।” झण्डै डेढ बिघा खेतमा वर्षामा अकासे पानी र हिउँदमा डिपबोरिङको भरमा उनले खेती गर्दै आएका छन्।

“डिपबोरिङले सुक्खा समयमा खेतमा पानी भरेर धान रोप्न सकिँदैन”, घिमिरेले भने, “सामान्य तरकारी वा अन्य बालीको जराजरामा हाल्नमात्र पुग्छ ।” समयमै वर्षात् नहुँदा बीउ राख्न नपाएका किसान फेरि धान रोप्ने समयमा पानी नपर्दा समस्यामा छन् । यसरी समय घर्किएर रोपेको धानले राम्रो उत्पादन दिनेमा समेत किसानहरूलाई शङ्का छ ।

गत वर्ष यही समयमा ८० प्रतिशत धान रोपाइँ सकिएको सर्लाहीमा यस वर्ष मुस्किलले ३५ प्रतिशत पुगेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले बताए। धान रोपाइँ ढिलो हुनुमा सिँचाइ प्रमुख कारण रहेको उनको भनाइ छ । “अर्कातर्फ धेरै किसानले समयमा बीउ राख्न पाएनन्”, उनले भने, “राखेको बीउ धेरैको खडेरीले खायो, फेरि राखेको तयार हुन बाँकी छ ।”

यसले धानको उत्पादनमा समेत ह्रास आउने उहाँले बताउनुभयो । जिल्लाको बागमती, बरहथवा, धन्कौल, हरिवन, लालबन्दी, हरिपुरलगायत सिँचाइ सुविधा भएका केही क्षेत्रमा मात्र रोपाइँ भएको प्रमुख कुशवाहाको भनाइ छ । सिँचाइ सुविधा नभएका स्थानका किसान पानी नभएको भन्दै छट्पटाइरहेका छन् । यस क्षेत्रमा बागमती, सोती, मनुसमारालगायतको सिँचाइको व्यवस्था छ ।

छयालीस हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको जिल्लामा झण्डै आधा ५० प्रतिशत भूभागमा सिँचाइको सुविधा पुगेको छैन । यस क्षेत्रका किसान सधैँ अकासे पानीका भरमा खेती गर्छन् । इनार, डिपट्युबेल, रोअलपम्पबाट अन्य खेती गर्ने गरेका भए पनि धान रोप्न सम्भावना नरहेको किसानको भनाइ छ । मानो रोपेर मुरी फलाउने र वर्षभरिको अन्नको गर्जो टार्ने योजना तुहिने चिन्ता रहेको बागमती नगरपालिका–११ का किसान शङ्कर सापकोटाको भनाइ छ ।

यसैबीच यस वर्ष प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । सुक्खाग्रस्त क्षेत्र घोषणासँगै सङ्घ सरकारसँग सोहीअनुसारको राहत माग गर्ने निर्णय प्रदेशस्तरको मन्त्रिस्तरीय बैठकले गरेको छ । किसान भने सुक्खाग्रस्त क्षेत्र घोषणाले के हुन्छ भन्ने कुरामा अन्योलमा देखिएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार