काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भएका तीनवटा महत्त्वपूर्ण विधेयकहरूलाई आज प्रमाणीकरण गर्नुभएको छ ।
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयकहरू प्रमाणीकरण भएसँगै अब तिनको कार्यान्वयनका लागि बाटो खुलेको छ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रमाणीकरण गरिएका विधेयकहरूमा ‘आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक’ रहेका छन्।
यी विधेयकहरूमध्ये ‘आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आगामी आर्थिक वर्षका लागि सरकारको खर्च र विनियोजन प्रक्रियालाई वैधानिकता दिने महत्वपूर्ण दस्ताबेज हो। यसले सरकारी सेवाहरू र विकास परियोजनाहरूको निरन्तर सञ्चालन सुनिश्चित गर्छ।
त्यसैगरी, ‘नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ ले सरकारका विभिन्न वित्तीय प्रस्तावहरूलाई कानुनी रूप दिनेछ, जसले देशको आर्थिक नीति र राजस्व सङ्कलनमा प्रत्यक्ष प्रभाव पार्नेछ।
तेस्रो विधेयक, ‘राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक’, ले सरकारलाई आवश्यक पर्दा राष्ट्र ऋण उठाउनका लागि कानूनी आधार प्रदान गर्नेछ। यो विधेयक ठूला पूर्वाधार परियोजनाहरूका लागि लगानी जुटाउन वा बजेट घाटा व्यवस्थापन गर्न आवश्यक पर्ने ऋणको व्यवस्थापनका लागि महत्वपूर्ण मानिन्छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया