असार ३१, २०८२ मंगलबार July 15, 2025

विस्थापनको सँघारमा इन्टरनेट सिकाउने ‘थ्रिजी’

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलका थ्रिजी प्रयोगकर्ताको हिस्सा अत्यन्त कम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ३१ गते ।मोबाइलमा उच्च गतिको इन्टरनेट सुविधा सुरुवात गरेको दूरसञ्चारको तेस्रो पुस्ता (थर्ड जेनेरेसन) प्रविधि अर्थात् ‘थ्रिजी’ नेपालबाट विस्थापन हुने अवस्थामा पुगेको छ । चल्तीको फोरजी प्रविधिमा अत्यधिक लगानी गरेका दूरसञ्चार सेवाप्रदायकले थ्रिजीको लगानी घटाउँदै क्रमशः यो सेवा बन्द गर्ने तयारी गरेका हुन् ।

मोबाइलबाटै पहिलो पटक भिडियो कल, ब्राउजिङ, जिपिएस जस्ता सुविधा दिएको थ्रिजीका प्रयोगकर्ता तीव्र रूपमा घट्दा यो विस्थापनको नजिक देखिन्छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एक वर्षकै अन्तरमा थ्रिजी प्रयोग गर्नेको सङ्ख्या ६५ लाखले घटेको छ । २०८१ जेठमा ७३ लाख ७० हजार थ्रिजी प्रयोगकर्ता रहेकोमा २०८२ जेठमा तीव्र रूपमा घटेर जम्मा आठ लाख ७० हजार कायम भएको प्राधिकरणको तथ्याङ्क छ ।

यसमध्ये निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलका थ्रिजी प्रयोगकर्ताको हिस्सा अत्यन्त कम छ । जेठसम्म एनसेलका केवल एक लाख १५ हजार थ्रिजी प्रयोगकर्ता छन् । सो अवधिसम्म टेलिकमका साढे सात लाख थ्रिजी प्रयोगकर्ता रहेको तथ्याङ्कले देखाउँछ । एक वर्षको अन्तरमा टेलिकमका थ्रिजी प्रयोगकर्ताको सङ्ख्या अत्यधिक रूपमा घटेको तथ्याङ्कले चित्रण गर्छ । २०८१ जेठमा टेलिकमका ५६ लाख ४३ हजार थ्रिजी प्रयोगकर्ता रहेकोमा एक वर्षमै ४९ लाखले त्यस्ता प्रयोगकर्ता घटेको देखिन्छ ।

थ्रिजी विस्थापित गर्दै सेवाप्रदायक

दूरसञ्चार प्रविधिमा निरन्तर आइरहेको परिवर्तनका कारण सेवाप्रदायक अहिले पुरानो बनेको थ्रिजी प्रविधिलाई विस्थापित गर्ने योजनामा छन् । एकातिर फोरजी प्रविधिमा बढ्दो लागत र अर्कोतिर पुरानो प्रविधिमा थपिरहनुपर्ने खर्च तथा घट्दो आयलाई कारण देखाउँदै सेवाप्रदायक यो प्रविधि बन्द नै गर्ने तयारीमा छन् । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलले यसअघि सार्वजनिक रूपमै थ्रिजी बन्द गर्ने योजना सार्वजनिक गरिसकेको छ । हालै एनसेलले सन् २०२५ भित्रै थ्रिजी नेटवर्क बन्द गर्ने घोषणा गरेको छ । देशैभर फोरजी प्रविधि विस्तार भइसकेको अवस्थामा पुरानो नेटवर्क बन्द गर्ने कम्पनीको योजना रहेको एनसेलले जनाएको छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले औपचारिक रूपमै थ्रिजी बन्द गर्ने घोषणा नगरे पनि पुरानो प्रविधिमाथिको निर्भरता र लगानी घटाउने रणनीति लिएको छ । हाल कायम रहेका थ्रिजी प्रयोगकर्तालाई पनि फोरजी प्रविधि उपयोगमा आकर्षित गरिरहेको टेलिकमले व्यवसाय बढाउन पनि नयाँ प्रविधिको प्रयोगमा जोड दिइरहेको छ ।

त्यसो त फोरजीका लागि अर्बौं रकम खर्च गरिसकेको अवस्थामा पुरानो प्रविधिको प्रयोग सेवाप्रदायकका लागि व्यावसायिक रूपमा प्रत्युत्पादक बन्ने देखिन्छ । फोरजीका लागि नेपाल टेलिकमले मात्रै २२ अर्ब रुपियाँभन्दा बढी खर्च गरिसकेको छ भने एनसेलले यसमा सुरुवाती रूपमा १० अर्ब रुपियाँभन्दा बढी खर्च गरिसकेको छ । नेटवर्ककको मर्मतसम्भार तथा व्यवस्थापनमा प्रत्येक वर्ष सेवाप्रदायकले थप खर्च गर्नुपर्ने हुन्छ ।

प्राधिकरणका अनुसार अहिले नेपाल टेलिकमको फोरजी प्रयोग गर्नेको सङ्ख्या एक करोड ३९ लाख पुगेको छ । त्यस्तै एक करोड १६ लाखले एनसेलको फोरजी प्रयोग गर्छन् । टेलिकम र एनसेलले देशको सबै स्थानीय तहमा फोरजी पुगेको घोषणा गरेका छन् । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्र मन्त्रालयको पुनसंरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता
२०८२ असार ३१, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
२०८२ असार ३१, मंगलबार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
२०८२ असार ३१, मंगलबार
घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले अन्ततः दिए राजीनामा
२०८२ असार ३१, मंगलबार
सुनको मुल्य स्थिर – चाँदीको मुल्य घट्यो
२०८२ असार ३१, मंगलबार
शिक्षा क्षेत्रमा सहकार्य गर्न भारतका दुई विश्वविद्यालयसँग सम्झौता
२०८२ असार ३१, मंगलबार