काठमाण्डाैंः प्रदेश सांसदसमेत रहेका डडेलधुरा कांग्रेसका जिल्ला सभापति कर्ण मल्ल पार्टीको क्रियाशील सदस्यता लिन असार २७ देखि राजधानीमा धाइरहेका छन् । यसबीचमा ६४ जिल्लाका सभापतिले क्रियाशील सदस्यता बुझिसके । कर्णले भने अझै पाउन सकेका छैनन् ।
पार्टीको तत्कालीन संरचनाको समायोजन सकिएपछि केन्द्रले क्रियाशील सदस्यता दिने गरेको छ । फागुनदेखि नै क्रियाशील सदस्यता वितरण सुरु भएको हो । डडेलधुरामा समायोजन सकेर कात्तिक २८ गते केन्द्रलाई ‘रिपोर्ट’ बुझाइएको थियो । फागुन दोस्रो साता कर्ण क्रियाशील सदस्यताका लागि पहिलोपल्ट राजधानी आएका थिए । ‘त्यतिबेला २०/२२ दिन पार्टी केन्द्रीय कार्यालय सानेपा जाउने/आउने गरें । नपाएपछि जिल्ला फर्किएँ । पछि केन्द्रबाट मुख्य सचिव कृष्ण पौडेलले फोन गरेर सदस्यता लिन बोलाउनुभयो । असार २७ गते काठमाडौं आएँ । लगातार १९ दिन केन्द्रीय कार्यालय धाएँ तर अहिलेसम्म दिइएको छैन,’ उनले कान्तिपुरसँग भने, ‘निषेधाज्ञा भएपछि त केन्द्रीय कार्यालय नै बन्द छ ।’
जिल्ला सभापति धाइरहेकै बेला उनको जानकारीबिनै पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा पार्टीका मुख्य सचिव पौडेलले तत्कालीन माओवादी केन्द्रबाट पार्टी प्रवेश गरेका स्थानीय कार्यकर्ताका लागि भन्दै ११ सय ७ वटा क्रियाशील सदस्यता दिएका छन् । पार्टीका केन्द्रीय आमन्त्रित सदस्यसमेत रहेका तत्कालीन माओवादी केन्द्रका स्थानीय नेता जनकराज कलौनीमार्फत ११ सय ७ थान क्रियाशील सदस्यता दिइएको हो । अन्य पार्टीबाट आएका कार्यकर्ताले क्रियाशील सदस्यता पाइसक्दा कांग्रेसका पुराना तथा नयाँ कार्यकर्ताका लागि भने सदस्यता अझै गएको छैन । यसका पछि जिल्ला सभापति कर्णमाथि देउवाको अविश्वास मुख्य कारण बन्न पुगेको छ । कर्ण केही समयदेखि नै देउवासँग छैनन् । आफ्नै जिल्लामा पकड गुम्ने भयले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता कर्णमार्फत दिन चाहेका छैनन् । पार्टीका एक पदाधिकारीका अनुसार आफ्नो निकटका कोही केन्द्रीय सदस्यमार्फत क्रियाशील सदस्यता पठाउने मनसाय देउवामा देखिएको छ ।
पार्टी विधान, नियमावली, महामन्त्रीहरूद्वारा हस्ताक्षरित निर्देशिकाले जिल्ला कार्यसमितिमार्फत मात्रै क्रियाशील सदस्यता वितरण र नवीकरण गराउनुपर्ने व्यवस्था गरेको छ । केन्द्रमा पठाउने क्रियाशील सदस्यताको रिपोर्टमा समेत जिल्ला सभापतिको हस्ताक्षर अनिवार्य हुनुपर्छ । मुख्य सचिव पौडेलले कलौनीमार्फत ११ सय ७ थान सदस्यता दिइएको स्विकारे । ‘जिल्ला कार्यसमितिका सभापतिको नाम लेखेर र ११ सय ७ जनाकै नाम खुलाएर सदस्यता दिइएको हो,’ पौडेलले भने, ‘(देउवाले) आफ्नै गृहजिल्ला भएकाले केही साथीसँग सल्लाह गर्नु छ भन्नुभएकाले जिल्ला सभापतिलाई दिन ढिलाइ भएको हो । अन्य कारण होइन ।’
प्रक्रियाबाहिरबाट डडेलधुरामा क्रियाशील सदस्यता दिइएकामा देउवा समूहमै असन्तुष्टि छ । उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले समेत त्यसो गर्न नहुने सुझाव सभापतिलाई दिँदै आएका थिए । ‘क्रियाशील सदस्यता वितरण र नवीकरणमै गम्भीर आशंका बढिरहेका बेला प्रक्रियाविपरीत जान हुन्न भन्ने मत पदाधिकारीहरूसमेतको थियो,’ देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘तर उहाँले कर्णलाई सदस्यता दिन हुन्न भन्दै रोक्दै आउनुभएको हो ।’ यस विषयमा महामन्त्री खड्काले भने केही बोल्न चाहेनन् । ‘उपसभापति निधि नेतृत्वको समायोजन समितिले गर्ने काम हो,’ उनले भने, ‘के भइरहेको छ, मलाई जानकारी भएन ।’
ंपछिल्लो समय कांग्रेस विवादको केन्द्रमा डडेलधुरा रहे पनि क्रियाशील सदस्यताको विवाद तन्किँदै जाने देखिएको छ । चौधौं महाधिवेशनबाट नेतृत्व कसले लिने भन्नेमा नेताहरूको प्रतिस्पर्धा सुरु भइसकेकाले क्रियाशील सदस्यता वितरणदेखि नै आफ्नो पक्ष बलियो बनाउन नेताहरू चाहन्छन् ।
कांग्रेसका क्रियाशील सदस्यता नै सुरु मतदाता हुन् । क्रियाशील सदस्यताको टुंगो लागिसकेपछि मात्रै स्थानीय तहबाट अधिवेशन सुरु हुन्छ । क्रियाशील सदस्यले क्षेत्रीय प्रतिनिधि छनोट गर्ने र तिनै क्षेत्रीय प्रतिनिधिले केन्द्रीय महाधिवेशनका प्रतिनिधि चयन गर्ने पद्धति छ ।
सभापति देउवा १४ औं महाधिवेशनमा पनि आफू अनुकूलको परिस्थिति खडा गर्न चाहन्छन् । त्यसका लागि उनले पार्टीभित्रै पद तथा जिम्मेवारी दिएर कार्यकर्ता खुसी पार्ने रणनीति बनाएका छन् । त्यसको पछिल्लो उदाहरण केन्द्रीय विभागहरूको गठन हो । केन्द्रीय विभागहरूमा देशभरका कार्यकर्तालाई जोड्न सकिने भएकाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोधका बाबजुद उनले गठनलाई निरन्तरता दिएका छन् । जब कि विधानले सभापति चुनिएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।
देउवा अन्य दलबाट प्रवेश गर्नेहरूलाई पनि आफ्नो विश्वासमा लिन चाहन्छन् । त्यसका लागि कतिपयलाई पद दिने र पद नपाउनेलाई राजनीतिक सुरक्षा दिने देउवाको रणनीति छ । उनले हालै राप्रपाबाट कांग्रेस प्रवेश गरेका सुनीलबहादुर थापालाई सहमहामन्त्री दिने घोषणा गरेका थिए । उनीसँगै आउने अन्य ५ जनालाई केन्द्रीय सदस्य र २ जनालाई आमन्त्रित सदस्यता दिने तय भइसकेको छ । अब क्रियाशील सदस्यता कति दिने भन्ने टुंगिन बाँकी छ ।
यसअघि तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई उपसभापति र उनीसँगै आउने अन्य ११ जना नेतालाई केन्द्रीय सदस्य बनाइसकेका छन् । गच्छदार समूहको तत्कालीन लोकतान्त्रिक फोरमलाई २५ हजार क्रियाशील सदस्यता दिने निर्णय भइसकेको छ ।
०७४ कै आम निर्वाचनमा तत्कालीन माओवादी केन्द्र, एमाले, समाजवादी, राजपा, अखण्ड नेपाल, अखण्ड नेपाल समानान्तर र राप्रपाबाट आएका कतिपय नेताहरूले केन्द्रीय कार्यसमितिमा प्रवेश पाइसकेका छन् । यो समूहलाई जोड्ने र उनीहरूमार्फत महाधिवेशनमा आफ्नो पकड कायम राख्ने योजनाअन्तर्गत अहिले क्रियाशील सदस्यता वितरण भइरहेको र यसैमा देउवाले बढी चलखेल गर्न खोजेको शंका वरिष्ठ नेता पौडेल पक्षको छ ।
डडेलधुरामा पार्टी सभापतिलाई नै ‘बाइपास’ गरेर क्रियाशील सदस्यता दिनुका पछि देउवाको त्यही नियत प्रकट भएको पौडेल पक्षीय नेता अर्जुननरसिंह केसीले बताए । ‘डडेलधुरा मात्रै होइन, रसुवामा समेत विधान र प्रक्रिया मिचेर क्रियाशील सदस्यता दिइएको छ । अरू धेरै जिल्लामा अपारदर्शी रूपमा केन्द्रबाट सिधै क्रियाशील सदस्यता पठाइएको कुरा आइरहेको छ,’ उनले भने, ‘विधान र प्रक्रिया मिचेर अन्य राजनीतिक दलबाट आएकाहरूलाई अपारदर्शी रूपमा सदस्यता दिने र पार्टीमा लागेका पुराना साथीहरूलाई नियन्त्रण गरी पार्टी कब्जा गर्ने रणनीति बनाइएको छ, यसको हामी सशक्त विरोध गर्छौं ।’
अहिलेसम्म तत्कालीन लोकतान्त्रिक फोरमका लागि २५ हजार, डडेलधुरामा तत्कालीन माओवादी केन्द्रका लागि ११ सय ७, रसुवामा १२ सय, पोखरामा अखण्ड नेपालका लागि १५ सय, अखण्ड नेपाल समानान्तरका लागि १५ सय क्रियाशील सदस्यता वितरण भइसकेको छ । पौडेल पक्षको सोमबार भएको जुम बैठकले पार्टी सभापति देउवाको विधानविपरीत गतिविधिका विरोध गर्दै क्रियाशील सदस्यता वितरणमा भइरहेका अनियमितता सामना गर्न जिल्ला र केन्द्रहरूमा धर्ना दिने निष्कर्ष निकालेको थियो ।
सुनीलबहादुर थापासहित कांग्रेस प्रवेश गर्नेहरू जंगीलाल राय, कर्णबहादुर बुढा, मोहनसिंह राठौर, शम्भुलाल श्रेष्ठ, अभिषेक प्रताप साहका समर्थक र शुभेच्छुकका लागि छुट्टै क्रियाशील सदस्यता दिने तयारी छ । प्रदेश २ का आठ जिल्लामा भने समायोजन नसकिएकाले क्रियाशील सदस्यता वितरण हुन सकेको छैन । आठ जिल्लाकै सभापतिहरूले कोरोना संक्रमणको महामारी नरोकिएसम्म क्रियाशील सदस्यता बाँड्ने स्थिति नभएको जानकारी केन्द्रमा पठाएका छन् । कान्तिपुरबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया