काठमाडौं, १६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘युथ भोलेन्टियर फोर्स’ गठनको घोषणा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भक्तपुरको गुण्डुमा जनसङ्गठन समन्वय संयन्त्रले आज आयोजना गरेको विशेष भेलाले फोर्स गठनको घोषणा गरेको हो ।
एमालेको शनिबार बसेको सचिवालय बैठकले गरेको निर्णय आजै कार्यान्वयन गर्दै एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतको नेतृत्वमा आज नौ सदस्यीय कमिटी घोषणा गरिएको हो ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं जनसङ्गठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकालले बस्नेतको संयोजकत्वमा विनोद पाण्डे, शक्ति बडाल, मीनबहादुर शाही, पुष्प श्रेष्ठ, वचन देउजा, विनिता काफ्ले, महेश चौलागाईं, निशा लिम्बू गरी नौ जना सदस्य रहनेगरी कार्यसमिति घोषणा गरिएको बताए ।
उनले जिल्ला जिल्लामा फोर्स गठन गरी देश, पार्टी र पार्टी नेताको सुरक्षाका साथै देशमा सामाजिक सेवामा समर्पित रहने गरी फोर्सको परिचालन गरिने बताए । विशुद्ध सामाजिक सेवा र जनतासँग प्रत्यक्ष जोडिने गरी फोर्स परिचालन हुने भन्दै ढकालले कम्तीमा एक लाख युवा कार्यकर्ता फोर्समा आबद्ध गराइने बताए ।
नेता बस्नेतले भक्तपुरबाट पहिलोपटक युथ भोलेन्टियर फोर्सको घोषणा गरेको बताउँदै भक्तपुरबाहेक ललितपुर, काठमाडौँ, काभ्रे, रामेछापलगायतका जिल्लामा घोषणा तयारी भइरहेको र सबै जिल्लामा क्रमशः घोषणा गर्ने बताए ।
उनले आगामी मङ्सिर ५ गते बानेश्वरबाट फोर्सको औपचारिक घोषणा गर्ने र फोर्सलाई ६ गते काठमाडौँमा हुने पार्टीको बागमती प्रदेशको भेला तथा पार्टीको महाधिवेशनमा परिचालन गरिने बताए ।
कार्यक्रममा एमाले ओलीले गुण्डुमा पार्टी नेताका सुरक्षाका लागि खटिएका भूपूसैनिक सङ्गठन, युवा सङ्घ, एमाले भक्तपुर जिल्ला कमिटीलगायतलाई सम्मानपत्र प्रदान गरेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया