काठमाण्डौंः सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति लगायत समसामयिक विषयमा आज छलफल हुने भएको छ।
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र सोही पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहिबार बिहान भएको भेटवार्ताले बिहीबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहितको उक्त बैठक तय गरेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।
नेकपाको यही भदौ २६ गते सहमतिका साथ निर्णय भई स्थायी कमिटीको बैठक सम्पन्नपछि अध्यक्षद्वयले अन्तरपार्टी सर्कुलर जारी गरी सरकार र पार्टीका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने संकल्प गरिसकेका छन् । त्यसबाहेक सोही पार्टीले काँग्रेससँगको छलफल पश्चात संवैधानिक अंगमा लामो समयदेखी रिक्तरहेको पदमा नियुक्त गर्न असोज २ गते शुक्रबार सचिवालय बैठक समेत बोलाईसकेको छ ।
हालसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्त, निर्वाचन आयोगका केही आयुक्तसहित विभिन्न संवैधानिक आयोग तथा केही विश्वविद्यालयमा उपकुलपति र पदाधिकारी रिक्त रहेको स्थितिमा सरकार र प्रतिपक्षबीच छलफल तथा सहमतिपछि नियुक्तिको प्रक्रियामा अघि बढ्ने नेकपाको तयारी छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया