काठमाण्डाैंः साझा पार्टीले संसदिय निर्वाचनमा पराजित नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति आपत्ति जनाएको छ। राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना भएको साझाले जनाएको छ।
पार्टिका सहप्रवक्ता शरदराज पाठकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गौतमलाई राष्ट्रिय सभामा लैजानु आम नागरिकको अपेक्षामाथिको ठाडो उपहास र लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार भएको ठहर गरेको हो।
‘यसबाट भ्रष्ट, अनैतिक, अनुदार र तानाशाही उन्मुख सरकारले जनतालाई पुनः एक पटक ‘तिमी कराउँदै गर, हामीलाई केही फरक पर्दैन भन्ने हठी सन्देश दिएको छ।’ विज्ञप्तिमा भनिएको छ। ‘संविधानको संरक्षक राष्ट्रपतिले यस तथ्यमाथि आँखा चिम्लिएर राष्ट्रिय सभाको गरिमा थप खस्काउने कदमलाई ठाडै सदर गर्नु त्यत्तिकै विडम्वनापूर्ण विषय हो।’ साझा पार्टीले गौतमलाई मन्त्रिमण्डलमा नलैजान समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ।
यस्तो छ साझाको प्रेश विज्ञप्तीको पूर्णपाठः
प्रेस विज्ञप्ति
प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा पराजित नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझा पार्टी गम्भीर आपत्ति व्यक्त गर्दछ।
राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका, आमरूपमा भ्रष्टाचारका गम्भीर आरोपहरू लागेका, गरिब जनताको नाममा ‘कम्युनिष्ट’ राजनीति गरेर आफ्नो जीवन आलिशान बनाएका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना हो।
यो आम नागरिकको अपेक्षामाथिको ठाडो उपहास हो। लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार हो। यसबाट भ्रष्ट, अनैतिक, अनुदार र तानाशाही उन्मुख सरकारले जनतालाई पुन: एक पटक “तिमी कराउँदै गर, हामीलाई केही फरक पर्दैन” भन्ने हठी सन्देश दिएको छ।
संविधानको संरक्षक राष्ट्रपतिले यस तथ्यमाथि आँखा चिम्लिएर राष्ट्रिय सभाको गरिमा थप खस्काउने कदमलाई ठाडै सदर गर्नु त्यत्तिकै विडम्वनापूर्ण विषय हो।
संविधानको धारा ७८ को उपधारा ४ ले प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्तिलाई मन्त्री बन्न रोक लगाएको अवस्थामा चर्चामा रहेजस्तो अनेक छिद्र खोजेर गौतमलाई मन्त्रीमण्डलमा नलैजान साझा पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह पनि गर्दछ।
नागरिकप्रतिको चरम वेवास्ताका कारण जनआक्रोश अत्यन्त चुलिएको समयमा नागरिकलाई झनै चिढ्याईए त्यसले मुलुकलाई अकल्पनीय राजनीतिक दुर्घटनाको बाटोमा लैजान सक्नेतर्फ हामी सरकारलाई समयमै सचेत गराउछौँ।
शरदराज पाठक
सहप्रवक्ता, साझा पार्टी
२ असोज २०७७
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया