असोज २९, २०८३ बिहिबार October 15, 2026

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

सडकको ग्राभेलबाहेकको अरू सम्पूर्ण काम अन्तिम चरणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गलेश्वर (म्याग्दी) । ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको स्तरोन्नति भइरहेको छ। वि.सं. २०६४ मा कृषि सडकका रूपमा म्याग्दीको बेनीबजारबाट बेनी नगरपालिका-२ को हाँडेभिर-बगरफाँट हुँदै भकिम्ली जोड्ने नौ किलोमिटर सडकको ट्रयाक खुलेकामा अहिले स्तरोन्नति भइरहेको हो।

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाका रूपमा हाँडेभिर-बगरफाँट-भकिम्ली सडक आयोजना छनोट भएको हो। सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयले माछापुच्छ्रे हिमालयन जेभीसँग रु १० करोड लागत अनुमान गरी प्रतिस्पर्धामार्फत वि.सं. २०८१ जेठमा ठेक्का सम्झौता गरी आयोजना कार्यान्वयन गराइएको थियो। कम्पनीले दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने सर्तमा सडक स्तरोन्नतिको जिम्मा लिएको थियो।

अहिले सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने, सम्याउने, बेस तयार गर्ने, खोल्सा र खोलाहरुमा पक्की ढलान गरी पानीलाई निकास दिनेलगायत काम सकेर अब ग्राभेल गर्न बाँकी रहेको निर्माण कम्पनीका प्रतिनिधि निरोज भण्डारीले बताए। ‘सडकको ग्राभेलबाहेकको अरू सम्पूर्ण काम अन्तिम चरणमा पुगेको छ। अबको एक साताभित्रमा ग्राभेलका लागि बेस राख्ने काम सुरु हुन्छ’, उनले भने।

बगरफाँटको कोटखोलादेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने काम सकिएको र अब ग्राभेलसहित स्तरोन्नति गरिने भण्डारीले बताए। उनका अनुसार हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्मको सडक कालोपत्र भइसकेको छ।

सडक स्तरोन्नतिको मापदण्डअनुसार बगरफाँटबाट दूधेखोलासम्मको करिब साढे दुई किमी सडकलाई आठ मिटर फराकिलो बनाइएको सडक स्तरोन्नति सहजीकरण समितिका संयोजक चन्द्रबहादुर घिमिरेले बताउनुभयो । अब ग्राभेलसहित स्तरोन्नति गरिने उनका भनाइ छ।

सोही सडक स्तरोन्नति आयोजनाअन्तर्गत दूधेखोलाबाट भकिम्ली जोड्ने सडकको विभिन्न ठाउँमा ३९० मिटर ढलान गरेर स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी रबिन चोखालले जानकारी दिए।

सडक स्तरोन्नतिपछि बागलुङको ताराखोलाबाट म्याग्दीको मङ्गला गाउँपालिका-३ र ४ वडामा पर्ने बरङ्जा, अर्मन, बेनी नगरपालिकाका मुसुङडोले, थामडाँडा, बास्कुना, अर्जेखोलालगायत भकिम्ली, हल्लेगौडा, दूधेखोला र बगरफाँटका बासिन्दालाई सहज हुनेछ। यहाँ उत्पादिन सुन्तला, फलफूल, तरकारी, दूधलगायतका कृषि उपजको बजारीकरण र आवतजावतमा सहज हुने भएपछि स्थानीय खुसी भएका छन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया