असार २६, २०८२ बिहिबार July 10, 2025

मन्त्रीमण्डल पुर्नगठन तत्कालका लागि टर्यो, पार्टी एकताको टुंगो असोज भित्रै लगाउने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ठोस सहमति र मापदण्ड बनाउन असफल भएपछि मन्त्रिमण्डल पुनर्गठन तत्कालका लागि टरेको छ ।

गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न म्याण्डेट दिएको थियो । त्यसपछि असोज ४ गते बसेको सचिवालय बैठकले अध्यक्षद्वयलाई मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड तय गर्ने जिम्मेवारी दिएको थियो तर उनीहरुबीच कुन मापदण्डका आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्नेमा पटक–पटक छलफल भएपनि कुरा नमिल्दा तत्काललाई यो विषय केही पर धकेलिएको हो ।

तत्काल मन्त्रीमण्डल पुर्नगठन नभएपनि खालि रहेका मन्त्री पदमा भने नियुक्त गरिने नेकपा श्रोतले जनाएको छ । यस्तै अध्यक्षद्धयबीचको छलफलले पार्टी एकताका बाँकि रहेका सम्पूर्ण काम यहि असोज महिनाभित्र टुंगोलगाउने सहमति भएको छ ।

गत असोज ६ गते बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी एकताका बाँकी काम सम्पन्न गर्न १० दिनभित्र अध्यक्षद्वय र महासचिव पौडेललाई ठोस कार्ययोजना ल्याउन निर्देशन दिएको थियो । तर सो अवधिमा समेत उनीहरुले ठोस कार्ययोजना ल्याउन नसकेपछि असोज २० गते बसेको सचिवालय बैठकपछि त्यसबारे अध्यक्षद्धय गृहकार्यमै रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए ।

यस्तै रिक्त रहेका ३२ बिभाग ३ आयोगको पनि यहि महिना भित्र ट्ंगो लगाउने अध्यक्षद्धयबीच सहमति भएको छ । बिहीबारको भेटमा प्रधानमन्त्री ओलीले एकलौटी रूपमा मुख्यसचिव र राजदूत नियुक्ति गरेको बिषयमा छलफल भएपनि ठोस वार्ता भने नभएको श्रोतले बताएको छ । एकलौटी रूपमा मुख्यसचिव र राजदूत नियुक्ति गरेपछि अध्यक्ष दाहालसहितका नेताहरूले असन्तुष्टि जनाइरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया