काठमाडौं, २१ साउन । लायन्स क्लब्स इन्टरनेसनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक (PID) विष्णु बजोरियाले लायन वर्ष २०२६/२७ मा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के, नेपालले हासिल गरेको उत्कृष्ट उपलब्धिप्रति बधाइ दिएका छन्।
बजोरियाले सार्वजनिक गरेको जुलाई २०२६ सम्मको विश्वव्यापी तथ्याङ्कअनुसार लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के, नेपालले क्लब विस्तार र सदस्यता वृद्धिमा ऐतिहासिक सफलता हासिल गरेको छ।
विश्वव्यापी क्लब एक्सटेन्सन (Club Extension) तर्फ डिस्ट्रिक्ट ३२५ के नेपाल ३१ वटा नयाँ क्लब विस्तार गर्दै विश्वकै नम्बर १ स्थानमा रहेको छ। त्यसैगरी नेट मेम्बरशिप ग्रोथ (Net Membership Growth) तर्फ पनि ५१५ सदस्यको शुद्ध वृद्धि गर्दै विश्वकै पहिलो स्थान हासिल गरेको छ।
यसैगरी मल्टिपल डिस्ट्रिक्ट ३२५ ले पनि विभिन्न महत्वपूर्ण सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ। क्लब एक्सटेन्सनतर्फ मल्टिपल डिस्ट्रिक्ट ३२५ ले विश्वमा पहिलो स्थान हासिल गर्दै ८९ वटा नयाँ लायन्स क्लब स्थापना गरेको छ। कुल क्लब संख्याको आधारमा पनि २ हजार २३४ क्लब सहित विश्वकै शीर्ष स्थानमा रहेको छ।
सदस्य संख्याको आधारमा मल्टिपल डिस्ट्रिक्ट ३२५ विश्वका उत्कृष्ट पाँचमध्ये परेको छ। जुलाई २०२६ सम्म यसमा ४२ हजार ८८८ सदस्य रहेका छन्।
देशगत तथ्याङ्कअनुसार नेपाल नयाँ क्लब विस्तारमा भारतपछि विश्वको दोस्रो स्थानमा रहेको छ। नेपालले जुलाई २०२६ सम्म ८९ वटा नयाँ क्लब स्थापना गर्दै फिलिपिन्स, श्रीलंका र इन्डोनेसियाजस्ता देशलाई पछाडि पारेको छ।
डिस्ट्रिक्ट ३२५ के नेपालका डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारीसहित सम्पूर्ण नेतृत्व टोलीलाई बधाइ दिँदै PID विष्णु बजोरियाले आगामी महिनाहरूमा पनि यस्तै उत्कृष्ट प्रदर्शन जारी रहने विश्वास व्यक्त गरेका छन्।
लायन्स क्लब्स इन्टरनेसनलले सार्वजनिक गरेको उक्त तथ्याङ्क जुलाई २०२६ सम्मको विश्वव्यापी सदस्यता, क्लब विस्तार तथा वृद्धिसम्बन्धी विवरणमा आधारित रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया