असोज २१, २०८३ बुधबार October 7, 2026

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

साउन ३० गते बिहान ७:०० बजेसम्म मध्यपहाडी राजमार्ग भएर सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमनमा रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रुकुमपूर्व, साउन २९ गते । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि रुकुमपूर्वमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका अनुसार यही साउन २८ गते दिउँसोदेखि परेको भारी वर्षाका कारण जिल्लाअन्तर्गत पर्ने मध्यपहाडी राजमार्गको काँडाबगर, धौलापहिरालगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै वर्षाको सम्भावना रहेको जनाएको तथा सडकको अवस्था जोखिमपूर्ण रहेकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सवारी आवागमनमा रोक लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमद्वारा जारी सूचनाअनुसार आज बेलुकी ७:०० बजेदेखि साउन ३० गते बिहान ७:०० बजेसम्म मध्यपहाडी राजमार्ग भएर सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । प्रशासनले दिउँसोको समयमा मौसमको पूर्वानुमान, वर्षाको अवस्था तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया