काठमाडौं । भोटेकोशी बाढीमा परेर ११ दिनदेखि बेपत्ता रहेकी एक महिलाको शनिबार जीवितै उद्धार गरिएको छ।
नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित बाढीले क्षतिग्रस्त एउटा घरको चौथो तलाबाट चन्डिका श्रेष्ठलाई सशस्त्र प्रहरी बलको टोलीले जीवितै उद्धार गरेको हो।
सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बाढीमा परेको आनन्द श्रेष्ठको चारतले घरको चौथो तलामा चन्डिका श्रेष्ठ फेला पर्नुभएको थियो।
उहाँलाई सशस्त्र प्रहरी निरीक्षक सुमन विकको कमान्डमा खटिएको टोलीले उद्धार गरेको हो। उद्धारपछि उहाँलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको डिएसपी थापाले जानकारी दिनुभयो।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेत्रावतीलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। बाढीमा परेर बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य निरन्तर चलिरहेका बेला ११ दिनपछि महिलालाई जीवितै उद्धार गरिनु उद्धार टोलीका लागि महत्वपूर्ण सफलता बनेको छ।
उद्धार गरिएकी चन्डिकाको स्वास्थ्य अवस्था तथा ११ दिनसम्म उहाँ कसरी घरको चौथो तलामा रहनुभयो भन्नेबारे थप विवरण आउन बाँकी छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया