भाद्र २२, २०८३ सोमबार September 7, 2026

सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध निर्मम हुँदै प्रहरी

सामाजिक सहिष्णुतामा आघात पुर्‍याउनेलाई कानुनी दायरामा ल्याएरै छाड्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, सामाजिक सहिष्णुतामा आघात पुऱ्याउने अभिव्यक्त भिडियो सामाग्री प्रशारण गर्ने काठमाडौं चन्द्रागिरी नगरपालिका-१२ बलम्बु बस्ने बैतडी सुर्नया गाउँपालिका-७ घर भएका २४ वर्षीय बिरेन्द्र मडै पक्राउ परे । उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो ।

बिरेन्द्रले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जात जातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामाग्री बनाई सामाजिक सञ्जाल फेसबुकको रिलमा प्रशारण गरेका    थिए ।

बिरेन्द्र त प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रशारण गर्ने, संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूले व्यक्त गरेका विचारहरूमाथि अनावश्यक टिप्पणी गरी होच्याई थप पीडा दिन खोज्ने जस्ता घटनाहरूको निगरानी गरी त्यसलाई नियन्त्रण तथा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी निर्मम रूपमा प्रस्तुत भइरहेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘बाढीको कारण भएको मानवीय क्षति तथा भौतिक क्षतिको यस दु:खद घडिमा विभिन्न व्यक्ति, समुह तथा अराजक मानसिकता बोकेका व्यक्तिहरूले हृदय विदारक, विभत्स तस्विरहरू तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी जनमानसमा पीडा माथि थप पीडा हुने गरी त्रास फैलाउन एवम् सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने गतिविधि नियन्त्रण गर्न प्रहरी थप सचेत भई निरन्तर रूपमा कार्य गरिरहेको छ ।’

पछिल्लो तथ्याङ्क अनुसार सामाजिक सञ्जाल फेसबुकमा १ सय ६८ वटा, टिकटकमा ४ वटा र इन्स्टाग्राममा १ वटा गरी कुल १ सय ७३ वटा गलत सूचना र अफवाह सहितका समाचार सामाग्रीहरू प्रशारण भएको देखिन्छ । जसमध्ये साइबर सक्रियतामा फेसबुकबाट ७९ वटा र टिकटकबाट ४ गरी जम्मा ८३ वटा त्यस्ता सामाग्रीहरू सामाजिक सञ्जालबाट हटाइएको छ ।

यस प्रकारका घटनाहरूको सामाजिक सञ्जालमा मोनिटरिङ गरी उक्त सामाग्री तत्कालै हटाउन र त्यस्ता गतिविधिलाई रोक्न साइबर ब्यूरोका प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरी यस सम्बन्धमा प्रभावकारी रूपमा कार्य समेत भइरहेको छ । समितिले सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने कार्यमा संलग्न उपर अनुसन्धान एवम् पहिचान समेत गरी सम्बन्धित प्रहरी कार्यालय वा सरोकारवाला निकायसँग समन्वय, सहकार्य गरी कानुनी कारबाही गर्नेछ । समितिको काम कारबाहीका सम्बन्धमा प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्य भन्नुहुन्छ, ‘सामाजिक सञ्जाल मार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रशारण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन समिति अझ बढि क्रियाशील भई कार्य गरिरहेको छ । सामाजिक सञ्जाल मार्फत अनजानमा पोष्ट गरेका वा सेयर गरेका समाचारहरूको गाम्भिर्यता हेरी सचेत गराई हटाउन लगाइएको छ ।’

विपद्को नाममा हुनसक्ने अपराध र गलत सूचना नियन्त्रण गर्न, विपद्को मौका छोपी राहत संकलनको नाममा हुन सक्ने ठगीलाई पनि नियन्त्रण गर्न समेत नेपाल प्रहरी सक्रिय छ । सामाजिक सञ्जालमार्फत प्रवाह भएको गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रतिको निगरानीलाई अझ तीव्र बनाउँदै सामाजिक सहिष्णुतामा आघात पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव कटिवद्ध छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामुदायिक विद्यालय अभिभावक संघद्धारा सहयोग गर्न आव्हान
२०८३ भाद्र २२, सोमबार
बाढीपछि लयमा फर्किँदै नेपाली चलचित्र क्षेत्र
२०८३ भाद्र २२, सोमबार
लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराद्वारा स्वयम्भूनाथमा दीप प्रज्वलन
२०८३ भाद्र २२, सोमबार
‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना
२०८३ भाद्र २२, सोमबार
सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध निर्मम हुँदै प्रहरी
२०८३ भाद्र २२, सोमबार
परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता
२०८३ भाद्र २२, सोमबार
भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले दियो एक करोड
२०८३ भाद्र २२, सोमबार