सुलीकोट (गोरखा), असोज २ गते । उत्तरी गोरखाको आरुघाट–लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–३, उहिया बेसीस्थित अण्डाडाँडामा ठुला ढुंगा खसेर तीन दिनदेखि सडक अवरुद्ध भएको छ ।
लामो समयदेखि पहिरोको जोखिममा रहेको उक्त क्षेत्रमा बुधबार बिहानदेखि ढुंगा खस्न थालेपछि सडक अवरुद्ध भएको हो ।
अण्डाडाँडा क्षेत्रमा वर्षायाम सुरु भएसँगै पटक–पटक पहिरो तथा ढुंगा खस्ने समस्या देखिँदै आएको स्थानीयले बताएका छन् । माथिबाट खस्ने ठुला ढुंगाका कारण सडकमा यात्रा गर्ने सवारीसाधन तथा पैदलयात्री जोखिममा पर्ने गरेका छन् ।
पछिल्लो पटक खसेका ढुंगाले सडकको केही भाग नै ढाकिएपछि यातायात सञ्चालनमा समस्या भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “सय मिटर माथिबाट ढुंगा खस्ने क्रम नरोकिएकाले तत्काल सडक खुलाउन सम्भव छैन । जोखिमपूर्ण क्षेत्रमा सावधानी अपनाएर मात्रै यात्रा गर्नुपर्ने अवस्था छ ।”
उहिया बेसी हुँदै आवतजावत गर्ने स्थानीयवासी, विद्यार्थी तथा दैनिक यात्रुका लागि अण्डाडाँडाको पहिरो र ढुंगा खस्ने समस्या लामो समयदेखि चुनौती बन्दै आएको छ । वर्षा जारी रहेकाले थप पहिरो तथा ढुंगा खस्न सक्ने सम्भावना रहेकाले सम्बन्धित निकायले तत्काल जोखिमको स्थलगत निरीक्षण गरी सडक सञ्चालनसँगै दीर्घकालीन समाधान खोज्नुपर्ने स्थानीयको माग छ ।
बारम्बार सडक अवरुद्ध हुँदा स्थानीयको दैनिक जनजीवनसँगै अत्यावश्यक सेवा तथा सामान ढुवानीमा समेत असर परेको छ । जोखिमयुक्त क्षेत्रमा तत्काल सडक सफाइ र सुरक्षित आवतजावतको व्यवस्था गर्नुपर्ने स्थानीय सुना गुरुङको भनाइ छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया