सिरहा। सिरहाको गोलबजार नगरपालिका-११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन्। गत साउन १४ गते गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार गोलबजारबाटै आइतबार राति उनलाई पक्राउ गरिएको हो।
सुनसरीको देवानगञ्जमा गत साउन १० गते भएको घटनालाई लिएर साउन १४ गते गोलबजारमा अशान्ति फैलाउन वडाध्यक्ष अनवरले मुख्य भूमिका खेलेको दाबी गर्दै ‘हिन्दु सम्राट सेना’ नामक संस्थाका व्यक्तिहरूले प्रहरीमा जाहेरी दिएका थिए। सोही किटानी जाहेरीका आधारमा उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको थियो।
प्रहरीका अनुसार जाहेरी परेयता उनी ससुरालीसहित विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए। घर फर्केको विशेष सूचनाका आधारमा खोजतलास गर्दा प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन सफल भएको हो।
मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ बमोजिम धर्म, जातजाति, सम्प्रदाय वा भाषाका आधारमा विभिन्न समुदायबीचको सुसम्बन्धमा खलल पुर्याउने कसुर प्रमाणित भएमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया