कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा फाराम खुल्यो

विद्यार्थीहरूले नियमित शुल्कमा २०८३ साल मंसिर १४ गतेसम्म परीक्षा फाराम भर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायअन्तर्गत डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखाले स्नातकोत्तर तह दोस्रो सेमेस्टर (M.Ed. तथा MSSEd) को परीक्षा फाराम भर्नेसम्बन्धी सूचना जारी गरेको छ।

सङ्कायले नियमित तथा आंशिकतर्फका विद्यार्थीहरूलाई लक्षित गर्दै परीक्षा आवेदन फाराम खुलाएको हो। २०८३ साल माघ महिनामा सञ्चालन हुने परीक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूले सम्बन्धित क्याम्पसमा सम्पर्क गरी अनलाइन तथा भौतिक माध्यमबाट परीक्षा फाराम भर्नुपर्ने सूचनामा उल्लेख छ।

सूचनाअनुसार विद्यार्थीहरूले नियमित शुल्कमा २०८३ साल मंसिर १४ गतेसम्म परीक्षा फाराम भर्न सक्नेछन्। तोकिएको समयभित्र फाराम भर्न नसक्ने विद्यार्थीका लागि दोब्बर शुल्क तिरी मंसिर १५ गतेदेखि २१ गतेसम्म फाराम भर्ने व्यवस्था गरिएको छ।

परीक्षा आवेदन फारामको शुल्क नियमिततर्फका विद्यार्थीका लागि प्रतिविद्यार्थी १ हजार ५०० रुपैयाँ र ICTE/MSSEd तर्फका विद्यार्थीका लागि २ हजार ५०० रुपैयाँ तोकिएको छ।

विद्यार्थीहरूले शिक्षाशास्त्र सङ्कायको आधिकारिक वेबसाइट tufoe.edu.np मा रहेको अनलाइन फाराम भरी नियमित तथा आंशिक परीक्षाका लागि आवेदन दिन सक्नेछन्। फाराम भर्दा रजिस्ट्रेसन नम्बरसमेत सही रूपमा उल्लेख गर्नुपर्नेछ।

त्यसैगरी, परीक्षा आवेदन फाराम अनलाइन भरेपछि आवश्यक कागजातसहित सम्बन्धित क्याम्पसमा बुझाउनुपर्नेछ। क्याम्पसले भौतिक परीक्षा फारामसमेत संकलन गरी आवश्यक विवरण तथा कागजातसहित डीन कार्यालयको परीक्षा नियन्त्रण महाशाखामा तोकिएको समयभित्र पठाउनुपर्ने सूचनामा जनाइएको छ।

परीक्षा फाराम भर्दा विद्यार्थीहरूले पासपोर्ट साइजको स्पष्ट फोटो तथा आवश्यक विवरण सही रूपमा अपलोड गर्नुपर्नेछ। अपूर्ण विवरण, अस्पष्ट फोटो वा गलत जानकारीसहित पेस गरिएको आवेदन फाराम अस्वीकृत हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन सङ्कायले आग्रह गरेको छ।

परीक्षा फाराम भर्ने क्रममा कुनै समस्या आएमा विद्यार्थीहरूले सम्बन्धित क्याम्पस प्रशासनमा सम्पर्क गर्न सक्नेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया