घोराही (दाङ), १ मङ्सिरः दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९१.८६ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।
भन्सार कार्यालयका प्रमुख लोकबहादुर विष्टका अनुसार आर्थिक वर्ष २०८३÷८४ को साउनदेखि असोजसम्म रु ४४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ४१ लाख मात्रै सङ्कलन भएको छ ।
नेपाल–भारत सीमानाकामा आवतजावत घट्दा भारतीय सवारीसाधनबाट प्राप्त हुने राजस्व प्रभावित भएपछि लक्ष्य पूरा हुन नसकेको हो । कार्यालयका अनुसार साउनमा रु १३ लाखको लक्ष्य राखिएकोमा रु ११ लाख, भदौमा रु १४ लाख ८९ हजारको लक्ष्य रहेकामा रु आठ लाख ४० हजार र असोजमा रु १६ लाखको लक्ष्य रहेकोमा रु आठ लाख ५१ हजार मात्र राजस्व उठेको थियो ।
कार्यालयले असोज मसान्तसम्म मुद्दा लिलामीबाट रु १३ लाख राजस्व सङ्कलन गरेको जनाएको छ । कोइलाबास भन्सारको प्रमुख राजस्व स्रोत भारतीय सवारीसाधनको अस्थायी पैठारी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सामान ल्याउने थोरै मात्रै छन् । नजिकैका नागरिकले मात्र सामान ल्याउँछन् । व्यापारीले यहाँबाट सामान ल्याउँदैनन् ।”
कार्यालयका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने चारपाङ्ग्रे सवारीसाधनबाट दैनिक रु ६०० र मोटरसाइकलबाट रु २०० राजस्व लिने गरिएको छ । कोइलाबासस्थित रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर र दाङको चौघेरा मन्दिरलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा घुमफिर र पूजापाठका लागि आउने भारतीय नागरिकका सवारीसाधनबाट पनि राजस्व उठ्ने गरेको छ ।
प्रमुख विष्टले भन्नुभयो, “यहाँ उठ्ने राजस्व भनेकै सवारीसाधनबाट उठ्ने कर हो ।” दाङ, रोल्पा र प्युठान क्षेत्रबाट दूरीका हिसाबले छोटो भए पनि व्यावसायिक कारोबारका लागि नाकाको आकर्षण बढ्न नसकेको पाइएको छ ।
पछिल्लो समय सडक सञ्जालमा सुधार हुँदै गए पनि आवश्यक भन्सार पूर्वाधार र सरकारी पहलको अभावमा नाकाको व्यावसायिक सम्भावना उपयोग हुन नसकेको व्यवसायीको भनाइ छ ।
नेपाल भारत सीमा क्षेत्रमा आवतजावतमा कडाइ, वैदेशिक पर्यटकको सङ्ख्या न्यून र व्यावसायिक कारोबार विस्तार हुन नसक्दा भन्सारको राजस्व प्रभावित भएको जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया