असार २२, २०८२ आइतबार July 6, 2025

‘नेतृत्व गम्भीर बने मात्र देश अगाडि बढ्छ’- विश्व पराजुली, भारतस्थित डब्लूएफपीका निर्देशक (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विश्व खाद्य कार्यक्रमले प्रतिष्ठित नोबेल शान्ति पुरस्कार पाउनुलाई कसरी हेर्नुभएको छ ?

नोबेल पुरस्कार संस्था र हामी कर्मचारीका लागि ठूलो गौरवको विषय हो । हामी ८० देशमा छौं । त्यसअन्तर्गत सत्र हजार कर्मचारी छन् । कतिपय देशमा काम गर्न अत्यन्त कठिन छ । म कुनै बेला यमन काम गर्दा हेल्मेट र बुलेटप्रुफ ज्याकेट लगाएर अफिस जाने गर्थें । परिवारलाई निकै चिन्ता हुन्थ्यो । एकचोटि त रातभरि नै बन्दुक चल्यो । डर लागेर रातभरि नै बाथरुममा बिताएको थिएँ । त्यस्ता परिस्थिति धेरै पटक सामना गर्नुपर्छ । अलकायदाले अपहरण गरेर फिरौती माग्नेसम्मका घटना भएका छन् । त्यस हिसाबले नोबेल पुरस्कारलाई संस्थाका कर्मचारीको दुःख र मिहिनेतको सम्मान हो भन्ने ठानेको छु ।

दोस्रो कुरा, विश्वभरि नै खाद्य संकट र भोकमरीको समस्या बढ्दो छ । अहिले यो समस्याप्रति हामीले विशेष चासो देखाएका छौं । कोभिड–१९ को महामारीअघि १२ करोडभन्दा बढी मानिसलाई सहयोग गर्दै आएका थियौं । कोभिड-१९ महामाारी सुरु भएपछि त्यो संख्या बढेर २७ करोड पुगेको छ । भारत र नेपालमै हामीले देखिसक्यौं । मानिसको रोजगारी गुमेको छ अनि खाने कसरी ? यो समस्या समाधानका लागि विभिन्न मुलुकका सरकारलाई सहयोग गरेका छौं ।

तेस्रो कुरा, भोकमरीको समस्या विकराल बन्दै छ भनेर हामीले विगतदेखि नै कराउँदै आएका हौं । भोकमरीको अन्त्यबिना दिगो शान्ति त सम्भव नै छैन । कतिपय मुलुकका सरकारले नागरिकको खाद्य अधिकारमाथि नियन्त्रण गर्ने गरेका छन् । खाद्यलाई हतियारका रूपमा प्रयोग गरिएको छ । चौथो कुरा, हामीले खाद्य उपलब्ध गराएपछि प्रवासन रोकिएको छ । शरणार्थी बन्ने क्रम रोकिएको छ । हाम्रो काम हिंसाग्रस्त मुलुकमा खाद्यान्न उपलब्ध गराउने मात्र होइन, त्यहाँका सरकारसँग मिलेर खाद्यान्न अभाव भोगिरहेका जनताको समस्या समाधान गर्नु पनि हो । यी सबै भूमिकाका लागि पुरस्कृत गरिएको जस्तो लाग्छ ।

कोरोना महामारी अघि र पछि डब्लूएफपीको भूमिकामा कस्तो परिवर्तन आएको छ ?

हाम्रो संस्थाको भूमिका तीन–चारवटा किसिमबाट फरक भएको छ । खाद्यान्न संकट भोग्ने जनसंख्या नै दोब्बर भएको छ । त्यसको अर्थ काम दोब्बर भयो । बढी स्रोत साधन चाहियो । दोस्रो, महामारीका कारण विदेशमा रहेकाहरूको रोजगारी गुमेको छ । त्यसले रेमिट्यान्समा असर पर्ने भयो । नेपाल धेरै रेमिट्यान्स भित्र्याउने मुलुकमा पर्छ । रेमिट्यान्सकै भरमा पेट पाल्दै आएको परिवारलाई कोरोनाले प्रत्यक्ष मार पारेको छ । पहिले एक देशबाट अर्को देशमा खाद्यान्न आपूर्ति सहज थियो । तर कोभिडका कारण भविष्यमा आफूलाई नै अपुग हुन सक्छ भनेर कतिपय मुलुकले खाद्यान्न निर्यातमा रोक लगाएका छन् । जसले आपूर्तिको चक्र तोडिएको छ । हुन त कुनै पनि अवस्थामा अत्यावश्यक मानवीय सहायता रोक्न नपाइने व्यवस्था छ ।

डब्लूएफपीओले गैरखाद्य वस्तुको आपूर्ति पनि गर्छ । यसको आफ्नै जहाज छ । कोरोना महामारीकै दौरानमा थुप्रै देशमा पीपीआईलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री तत्काल पुर्‍यायो । संयुक्त राष्ट्रसंघका महासचिवले नै सबैलाई पत्र लेखेर डब्लूएफपीलाई काम गर्न सहज बनाउनु भन्नुभएको थियो । हाम्रो सहयोगले धेरैको ज्यान बचेको छ । सँगै कोभिडपछिको परिस्थिति कस्तो रहन्छ भन्ने चिन्ता पनि छ । मानिसको पोषणको अवस्था झन् नाजुक बन्दै गएको छ । खानेकुराको अभाव हुने मुलुकमा त अवस्था थप जटिल हुने देखिन्छ । त्यस्तो अवस्था सामना गर्न पनि अहिलेदेखि नै तयारी थाल्नुपर्ने हुन्छ । यसले पनि डब्लूएफपीको भूमिका फराकिलो भएको छ ।

डब्लूएफपीकै अनुसार कोभिडका कारण विश्वभर थप १३ करोड मानिस कुपोषणको सिकार हुने र करिब ८० करोड दुई छाक खान नपुग्ने अवस्थामा पुगेका छन् । यो समस्या समाधानमा डब्लूएफपीले कस्तो भूमिका खेल्दै छ ?

यसमा विशेषगरी सरकारहरू बढी जिम्मेवार हुनुपर्‍यो । हाम्रो संस्था त होस्टेमा हैंसे गर्ने मात्र हो । जनतालाई खान दिने दायित्व त सम्बन्धित सरकारकै हो । सरकारले आफ्ना जनतालाई पाल्न नसक्ने र उनीहरू भोकमरीको सिकार हुने अवस्था त युद्धग्रस्त मुलुकमा मात्र हुन्छ । दाता र हाम्रो जस्तो संस्थाले त सरकारलाई सहयोग गर्ने मात्र हो । भारतमा खाद्य सुरक्षा ऐन नै छ । नेपालमा त झन् संविधानमै सबै नागरिकलाई खाद्य सुरक्षाको ग्यारेन्टी गर्ने भनिएको छ जस्तो लाग्छ । डब्लूएफपीको ध्यान खाद्यान्न बाँड्ने मात्र नभएर सरकारको सार्वजनिक वितरण प्रणालीलाई कसरी व्यवस्थित गर्ने भन्नेमा पनि रहने गरेको छ ।

जनसंख्याका हिसाबले विश्वकै दोस्रो ठूलो मुलुक भारतमा डब्लूएफपीको कन्ट्री डाइरेक्टरको जिम्मेवारी बहन गर्न कत्तिको चुनौतीपूर्ण छ ?

मसँग यही क्षेत्रमा काम गरेको ३५ वर्षभन्दा बढीको अनुभव भएकाले त्यति चुनौतीपूर्ण ठानिन । डब्लूएफपीको मुख्यालयमा उच्च तहमा बसेर काम गरेको अनुभव थियो । चीन, अफगानिस्तान, इजिप्ट, जिम्बाबे, म्यानमारलगायत धेरै मुलुकमा काम गरिसकेको थिएँ । त्यसमाथि मैले कृषि विषयको अध्ययन नै भारतमा गरेको हुँ । त्यो मात्र नभएर भारत त हाम्रा लागि छिमेक नै भयो । यहाँको परिस्थिति सामना गर्न क्षमता र आत्मविश्वास दुवै चाहिन्छ । सँगै अनुभव पनि चाहिन्छ । मैले त अरू मुलुकमा भन्दा सजिलो ठानेको छु ।

कोभिड महामारीका कारण भारतमा धेरैको रोजगारी गुमेको छ । जनसंख्याको ठूलो हिस्सालाई दुई छाक खान मुस्किल बनेको छ । यो परिस्थितिमा तपाईंहरूको भूमिका कस्तो छ ?

भारतमा धेरै कुरा विकेन्द्रित भएकाले पनि अन्य देशभन्दा सहज छ । राज्यहरूको आफ्नै प्रणाली छ । लकडाउनका बेला राज्यहरूले आआफ्नो हिसाबले निर्णय लिए । यहाँको काम गर्ने तरिका नै फरक छ । सँगै नागरिकको समस्या जसरी भए पनि सम्बोधन गर्नुपर्छ भन्ने भावना देखें । कोभिड महामारीका कारण धेरैको रोजगारी गुमेको छ । त्यसैले नगद र अनुदानको खाद्यान्नलाई थप प्रभावकारी बनाइएको छ ।

मैले लकडाउनको सुरुका तीन महिना छुट्टी भनिनँ । सरकारले समन्वय समूह बनाएको थियो । सबैको जिम्मा विभिन्न मन्त्रालयका सचिवहरूलाई दिइएको थियो । एउटा समूहको नेतृत्व मैले गरेको थिएँ । त्यसमा भारत सरकारका एक सचिव पनि थिए । हामी विभिन्न सुझाव दिन्थ्यौं । त्यही सुझावका आधारमा सरकारले आफ्ना नीति तथा कार्यक्रम परिमार्जन गर्थ्यो । आपूर्ति प्रणालीमा अवरोध आउन सक्छ भनेर बजार र उत्पादकलाई जोड्न वेबमा आधारित एप्लिकेसन विकास गर्न पनि सहयोग गर्‍यौं । लखनउमा प्रत्यक्ष खाद्यान्न सहयोग पनि गर्‍यौं । दुई सय वटा एनजीओसँग समन्वय गरेर सरकारलाई सहयोग पुर्‍यायौं ।

धेरै देशमा यस्तो छैन । म भारत आउनुअघि जिम्बाबेमा थिएँ । त्यहाँका आधाभन्दा बढी जनतालाई डब्लूएफपीले खाद्यान्न सहयोग गरिरहेको थियो । नेपालमै हेरौं न । खुलामञ्चमै स्वयंसेवकहरूले मानिसलाई खाना खुवाइरहेका छन् । सरकारमा बस्नेले त कोही पनि भोको बस्ने छैन भनेर दाबी गरेका थिए । तर व्यवहारमा लागू भएको छैन । एकाध अवस्थामा वितरण गरिएको होला । नेपालको प्रमुख समस्या सार्वजनिक वितरण प्रणाली प्रभावकारी नहुनु पनि हो ।

भूगोल र जनसंख्याका हिसाबले तुलना गर्न नमिले पनि कोभिडको असर नेपालमा पनि परेको छ । बेरोजगारी र गरिबी बढ्ने प्रक्षेपण गरिएको छ । खाद्य संकट बढ्ने जोखिम पनि त्यत्तिकै छ । यी चुनौतीलाई कसरी सम्बोधन गर्न सकिन्छ ?

यसलाई अलि फरक ढंगले हेर्नुपर्छ । भारतमा धेरै कुरा विकेन्द्रित छ । नेपालमा अझै पनि सबै कुरा केन्द्रीकृत छ । त्यसमाथि राज्यको नेतृत्व तहमा रहेकाहरू नागरिकको समस्या समाधानका लागि गम्भीर देखिएनन् । सबैभन्दा ठूलो चुनौती भनेको जनसंख्याको ठूलो हिस्सा विदेशमा छ । कोभिडका कारण उनीहरूको भविष्य अन्योलमा छ । उनीहरू स्वदेश फर्किंदाको अवस्थाका लागि सरकारको तयारी खोइ ? सकेसम्म प्रयास गर्नुपर्‍यो । हात उठाउनु त भएन । नागरिकप्रतिको दायित्वबाट पन्छिनुभएन । लकडाउनका बेला आफ्नो देश फर्किन पनि नेपालीले सास्ती भोग्नुपर्ने परिस्थिति बन्नु दुःखद हो । अर्को कुरा, त्यहीँ बसेकाले पनि रोजगारी गुमाएका छन् । उनीहरूको समस्या कसरी समाधान गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्‍यो ।

आपूर्ति प्रणाली खलबलिएको छ । भविष्यमा थप समस्या आउन सक्छ । जस्तै– भारतले प्याजको निर्यात रोक्यो । यस्ता समस्या थपिन सक्छन् । त्यसैले आत्मनिर्भर बन्नका लागि के–के गर्न सकिन्छ भन्नेमा सरकारले तयारी थाल्नुपर्‍यो । हुन त पैसा लिएर किन्ने मल त समयमा दिन सक्दैनौं, अरू के भन्नु ? परिस्थिति अनुमान गर्दै विकल्पमा पहिलेदेखि नै तयारी गर्नुपर्छ । त्यसका लागि एउटा प्रणाली नै विकास गर्नुपर्‍यो । उत्पादन बढाउनुपर्‍यो । तर, विडम्बना कामभन्दा कुरा बढी भयो । काम गर्‍यो भने सम्भव छ भन्ने भारतबाटै सिक्न सकिन्छ । नेपालको त जनसंख्या नै कति छ र ? त्यसैले गम्भीर हुनुपर्‍यो । प्रधानमन्त्री र मन्त्रीले आदेश दिएर मात्र भएन, योजना, बजेट र तयारीलाई पनि हेर्नुपर्‍यो । वितरण प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्‍यो ।

कार्यान्वयन पक्षको नियमित अनुगमन गर्नुपर्‍यो । प्रदेशलाई जिम्मेवार बनाउनुपर्‍यो । परम्परागत शैलीबाट काम गरेर हुनेवाला छैन । पदमा रहेकाहरूलाई जिम्मेवार बनाउनुपर्‍यो । डब्लूएफपीजस्ता संस्थाले त सहयोगी भूमिका मात्र खेल्ने हुन् । मुख्य काम त सरकार र त्यसको नेतृत्व गर्नेहरूकै हो । कर्मचारी दक्ष नभएका पनि होइनन् । विज्ञहरूको कमी पनि छैन । मुख्य समस्या नेतृत्वमै छ । विकासमा नेतृत्वको भूमिका अहं हुन्छ । कुनै बेला चरम खाद्य अभाव झेल्ने गरेको भारत अहिले निर्यात गर्ने अवस्थामा पुगेको छ । खाद्य अभावदेखि नागरिकका कुनै पनि सरोकार सम्बोधन गर्न प्रधानमन्त्री गम्भीर बन्नुपर्छ । अनि मात्र अरू संयन्त्रले अनुसरण गर्छन् र देश अगाडि बढ्छ । नत्र जति ठूलो घोषणा गरे पनि कागजमै सीमित हुन पुग्छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार