असार २२, २०८२ आइतबार July 6, 2025

संसद् अधिवेशन चलाउनैपर्छ : दुर्गा पौडेल (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संसदमा निरन्तर बोल्ने गर्नुहुन्थ्यो, महामारीका समयमा संसद् सञ्चालन भएको छैन । अब त यस विषयमा सोच्ने वेला भएन ?

महामारीको समस्या बढिरहेको छ । यस्तो बेला सरकारले निःशुल्क उपचार गर्नु भन्ने सर्वाेच्च अदालतको निर्देशनलाई पनि लत्याइरहेको अवस्था छ, आफ्नो उपचार आफैँ गर्नु भनेर । यो गलत हो । महामारीको अवस्थामा त जनताको स्वास्थ्यको जिम्मेवारी सरकारले लिनैपर्ने हो । यस्तो अवस्थामा जटिलता छ भनेर अधिवेशन नबोलाउने भन्ने ठीक होइन ।

जटिलतासँगै जुध्ने उपायहरू अपनाउँदै, डब्ल्युएचओको निर्देशनलाई मान्दै, सबै सुरक्षाका उपाय अपनाएर भए पनि अधिवेशन चलाउनुपर्छ । किनभने जनताको धेरै जल्जाबल्दा समस्याहरू उठाउने ठाउँ छैन । तिनको आवाज, व्यथालाई कहाँनेर पोख्ने ? पोख्ने ठाउँ त्यही संसद् हो । जनप्रतिनिधिहरू कामबेगर भएकोजस्तो अवस्था छ । हिउँदे अधिवेशनलाई कुनै हालतले लम्ब्याउनुहुँदैन । स्वास्थ्य सुरक्षाका हरेक मापदण्डलाई अपनाएर भए पनि अधिवेशन चलाएरै जानुपर्छ ।

सरकारले संसद् सञ्चालन गर्न किन चासो दिइरहेको छैन ? सत्तारुढ दलमा पनि यस विषयमा छलफल नभएको बताइन्छ । सरकारले संसद् छल्न खोजेको हो कि सञ्चालन गर्ने वेला नभएको हो ?

हिउँदे अधिवेशन चलाउन तरखर गर्ने वेला त भयो । मंसिरबाट त चलाउनैपर्ने हो नि ! मंसिरबाट पनि हिउँदे अधिवेशन नगरे कहिलेबाट गर्ने ? त्यसको तयारी पनि अब त गर्नुपऱ्याे । सरकारले आगामी अधिवेशनबारे विपक्षी दलहरूसँग पनि छलफल गर्नुपर्ने हो । योजना बनाउनुपर्छ । कसरी जाने भनेर सबैसँग सरकारले सल्लाह लिनुपऱ्याे नि ! सरकारले हिउँदे अधिवेशन बोलाउन नचाहनुको पछाडि पनि कारणहरू होलान् ।

सत्तारुढ पार्टीको पनि आन्तरिक किचलो छ, त्यसले पनि काम गरेको होला । संसद्ले पास गरेको नक्सालाई पाठ्यक्रममा समावेश गरेर नछापेको अवस्था छ । त्यो पनि राम्रो भएको छैन । केही त्रुटि छ भने छानबिन गरौँ । सम्भावित कुराहरूमा यिनीहरू पनि हुन सक्छन् । यीसँगै अरू पनि थुप्रै कारण होलान् । कोरोना पनि कारण हुन सक्छ । तर, जुन कारण छन् त्यसलाई हेर्दा अधिवेशन नै रोक्नुपर्ने अवस्थाचाहिँ छैन । हिउँदे अधिवेशन कसरी अघि बढाउने भन्नेबारेमा सबै बसेर छलफल गरौँ, तर नरोकौँ ।

अधिवेशनलाई लिएर सभामुखसँग पनि छलफल भएको छ तपाईंको ?

कुराकानी भएको छैन । अहिले जिल्लाबाहिर छु, दुई–तीन दिनमा काठमाडौं आउँछु । त्यसपछि सभामुखज्यूसँग भेटेरै अधिवेशनबारे छलफल गर्ने योजना बनाएकी छु ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद् सञ्चालनको विषय उठाए पनि त्यसका लागि दबाब दिन सकेको छैन । तपाईंले पनि सञ्चालन गर्नुपर्छ भन्नुभयो । जसपाले पनि कुरा उठाइरहेको छ । कुरा मात्रै हो कि संसद् अधिवेशन सञ्चालन गर्नुपर्ने आवश्यकता पनि हो ?

आवश्यकता नै हो नि ! अहिले यति ठूलो समस्या आएको छ । किसानको समस्या हेरौँ, मल–बिउ पाइरहेका छैनन् । मल नपाएर हाहाकारको स्थिति छ । त्यस्तै, महिलाको समस्या झनै ठूलो छ । हत्या, लुट, बलात्कारजस्ता घटना भइरहेका छन् । जो बलात्कारी हो ऊ शिर ठाडो पारेर हिँड्छ, जो बलात्कृत हुन्छिन् उनीचाहिँ शिर निहुराएर हिँड्नुपर्ने अवस्था छ । यस्ता समस्याहरू छन् । भ्रष्टचारले यत्रो सीमा नाघेको छ । सदन नभएपछि कहाँ बोल्ने हो ? नियन्त्रण गर्ने कहाँबाट हो ? यस्ता समस्याहरू उठाउन र सरकारलाई खबरदारी गर्न पनि अधिवेशन सञ्चालन एकदमै जरुरी भइसकेको छ । जनताहरू महँगीको चपेटामा परेका छन् । कहाँ हो यस्ता मुद्दामा छलफल गर्ने ? एउटा आधार त त्यही हो, संसद् ।

तपाईं आफैँले यत्रा समस्या देखाउनुभयो । सरकारका अरू कामकारबाहीमाथि पनि प्रश्न उठिरहेको छ । संसद् सञ्चालन भएको भए केही फरक पथ्र्याे ?

केही कन्ट्रोल हुनैपर्छ । सांसदहरू बोलिसकेपछि, जनताका आवाजलाई जनप्रतिनिधिले सुनाइसकेपछि त्यसको रुलिङ भएन भने त्यसको पनि त विरोध हुन्छ त्यहीँबाट । रुलिङ भयो–भएन, काम कति अघि बढ्यो, के काम भइरहेको छ, यस्ता विषयमा त संसद्ले जवाफ माग्छ सरकारसँग । सरकारले पनि जवाफ दिनुपर्छ । त्यति भएपछि केही त फरक परिहाल्छ । पूरै फरक पथ्र्याे वा पर्छ भन्न त म सक्दिनँ, तर केहीचाहिँ फरक हुन्छ ।

अबको अधिवेशनले उठाउनुपर्ने मुद्दा के–कस्तो हुनुपर्छ ? तपाईं के मुद्दा उठाउनुहुन्छ ?

अहिलेको अवस्थामा त किसानकै समस्या जल्दोबल्दो देखिरहेकी छु मैले । किसान र महिलाको एकदमै जटिल समस्या भएको पाउँछु । महिलाका बलात्कारका  मुद्दाहरू एकदमै बढेको छ । यसको तत्काल सरकारले एक्सन लिन जरुरी देख्छु । अर्काेतिर, किसानहरू मलखादको निम्ति तड्पिरहेका छन् । खेतीको वेलामा मलखाद नपाएपछि उब्जनी गर्छन् कसरी ? यस्ता महत्वपूर्ण विषय छन् । यी दुई विषय एकदमै महत्वपूर्ण छ भन्ने लाग्छ । योसँगसँगै भ्रष्टाचार पनि अर्काे प्रमुख मुद्दा हो । भ्रष्टचारको कुरा जुन उठेको छ, सरकारले छानबिन गर्नुको सट्टा ‘भ्रष्टचार भएकै छैन’ भनेर बोल्दै हिँडेको देखिन्छ । भ्रष्टचारको प्रमाण छैन भनेर सरकारले भन्छ । छ कि छैन भनेर छानबिन गर्नुपर्दैन ? छानबिन गरेर प्रमाण आओस् । ढाकछोप गर्छ । यो खतरनाक छ । यस्ता विषयलाई अबको अधिवेशनमा विशेष महत्व दिनुपर्छ ।

संसदीय समितिहरूको प्रभावकारितामाथि पनि बारम्बार प्रश्न उठ्ने गरेको छ । यस्तो समयमा समितिले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ? सदन नहुँदा पनि समितिलाई बुलन्द गर्न सकिन्थ्यो होला, किन त्यस्तो भएन ?

संसदीय समितिको बारेमा पनि एकदमै कुरा उठिरहेको छ । यहाँ मन्त्रालयले र समितिबीच पनि कुरा मिलिरहेको छैन । त्यहाँ सामन्जस्यता छैन । जुन मन्त्रालयअन्तर्गका समस्याहरू छन् ती मन्त्रीहरूलाई बोलाएर गहन छलफल गर्ने पनि भएको छैन । समितिले बोलाउँदा पनि मन्त्रीहरू समय छैन भनिरहेका हुन्छन् । यसकारणले विभिन्न समस्याका विषयमा सम्बन्धित मन्त्रीसँग छलफल गर्न नपाइरहेको स्थिति छ । त्यसकारण यो अवस्थामा त झनै सदनको आवश्यकता देखिन्छ । सदन भएपछि त त्यहीँबाट मन्त्रालयलाई प्रश्न गरिन्छ । सदनले उठाइसकेको कुरामा त सम्बन्धित मन्त्री आएर जवाफ दिन जरुरी भयो । मन्त्रीले मैले भ्याइनँ भन्न त पाउँदैन । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार