असार २२, २०८२ आइतबार July 6, 2025

कृषिमा टाठाबाठाको मात्रै अनुदानमा पहुँच हुने व्यवस्था अन्त्य गर्दै छौं- घनश्याम भुषाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चालू आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि प्रतिनिधिसभाबाटै तपाईंले कृषि मन्त्रालयले अघि सारेका कार्यक्रम सरकारको नीति तथा कार्यक्रम र बजेटमा नपरेको बताउनुभएको थियो ? मन्त्रालयले अघि सारेका कुन–कुन कार्यक्रम बजेटमा नपरेका हुन् ?

मन्त्रालयले अघि सारेका कार्यक्रमहरू सरकारको नीति तथा कार्यक्रम र बजेटमा कत्ति पनि परेनन् भन्ने होइन । तर, हामीले जुन दृष्टिकोण बनाएका थियौं र जे गर्न मन्त्रालयलाई तयार गरेका थियौं, त्योअनुसारले पर्याप्त भएन कि भन्न खोजिएको हो । हाम्रो सोच र बजेट तथा नीति कार्यक्रम बनाउने सन्दर्भमा देखिने कमजोरीबारे धेरै कुरा त मैले  संसद्मै बोलिसकेको छु । कृषि कर्म धेरै गाह्रो काम हो । यसमा बचत पनि असाध्यै कम हुने गरेको छ । यात्रिकीकरणले गाह्रो कामलाई सजिलो त बनाउँछ तर कृषिमा क्रान्तिकारी परिवर्तनका लागि यसबाटै न्यूनतम बचत हुन्छ भन्ने प्रत्याभूति किसानलाई दिन सक्नुपर्छ । ‘संरक्षित कृषि, सुनिश्चित बचत’ मार्फत हामीले गर्न खोजेको पनि यस्तै हो । यसका पाँच नीतिगत आधार छन् । पहिलो, उत्पादन सामग्रीमा अनुदान । यसमा व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानको साटो सबैले पाउने गरी बिउ र नश्ल, मल, सिँचाइ, बिजुलीजस्ता उत्पादनका मुख्य सामग्रीमा अनुदान केन्द्रित गरिनेछ । दोस्रो, सबै किसानको घरदैलोमा प्राविधिक सेवा पुर्‍याइनेछ । स्थानीय तहसम्म रिक्त रहेका आठ हजार दरबन्दीमा पदपूर्ति गरी जनताको घरदैलोमा पठाइनेछ । तेस्रो, हरेक किसानलाई ५ प्रतिशत नबढ्ने गरी सस्तो ब्याजमा सुलभ ऋणको पहुँचको ग्यारेन्टी गरिनेछ । चौथो, प्राकृतिक प्रकोप र अन्य भवितव्यबाट हुने बाली र पशुपन्छीको क्षतिबाट किसानलाई बचाउन बाली तथा पशुपन्छीको बिमालाई व्यापक बनाइनेछ । पाँचौं, किसानले उत्पादन गर्ने मुख्य बाली वस्तुको उत्पादन लागतको मूल्यांकन गरेर उचित बचतको ग्यारेन्टी हुने गरी न्यूनतम समर्थन मूल्य तोकिनेछ र किसानले आफ्नो उत्पादन सरकारले तोकेभन्दा बढी मूल्यमा बजारमा बेच्न सक्नेछन् । तर, बजारमा न्यूनतम मूल्य पनि नपाए सरकार आफैले खरीद गर्ने व्यवस्था गर्नेछ ।

यसको अर्थ नेपालको बजेट निर्माण प्रक्रिया–प्रणालीमा अर्थमन्त्री र अर्थ मन्त्रालय हाबी भएर विभागीय मन्त्रालयहरूद्वारा अघि सारिएका प्राथमिकतालाई समेत लत्याउँछ ?

देशको समग्र बजेट अर्थ मन्त्रालयले नै बनाउने हो तर बजेट देशका विभिन्न क्षेत्रका समस्या सामाधान गर्ने दिशाउन्मुख र जनआकांक्षा सम्बोधन गर्न सक्ने खाले हुनुपर्छ । अर्थ मन्त्रालय हाबी हुने भन्दा पनि सबैले जिम्मेवारीबोध गर्ने र आफ्नो क्षमता आकलन गरी भविष्यका लागि दिशानिर्देश गर्न सक्ने हुनुपर्छ । नेपालमा कृषि विकासका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कस्तो नीति लिनुपर्छ, बजेटको सीमाभित्र रहेर कस्ता कार्यक्रम गर्नुपर्छ भन्ने सम्बन्धित मन्त्रालयलाई नै राम्रोसँग थाहा हुने विषय हो । यसलाई यसरी नै बुझिए धेरै समस्या हुने छैन ।

चालू आवमा कृषिका लागि ४१ दशमलव ४० अर्ब विनियोजन गरिएको छ, जुन कुल बजेटको २ दशमलव ८ प्रतिशत हो । कृषिमन्त्रीका रूपमा तपाईंले गर्न चाहेको कृषि क्षेत्रका आमूल परिवर्तन यो रकमबाट सम्भव होला ?

देशको कुल गार्हस्थ्य उत्पादनको करीब २७ प्रतिशत योगदान रहेको कृषि पेसा संकटका बेलासमेत साथ दिइरहेको क्षेत्र हो । यो संरक्षण गर्नुपर्ने क्षेत्र पनि हो । अहिले विनियोजन हुँदै आएभन्दा धेरै बजेट व्यवस्था गर्नुपर्नेछ । बिग्रिएको कृषिलाई सपार्न अब हामी कृषि व्यवस्थाकै नयाँ जग बसाल्दै छौं । अघि मैले भनेका पाँच नीतिगत आधार पनि त्यसका महत्त्वपूर्ण अंग हुन् ।

कृषकलाई बजारसँग जोड्ने प्रयास यस वर्षको बजेटमा देखिएको छ । बजार सृजना गर्न आवश्यक पूर्वाधार निर्माणलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?

व्यक्तिले प्रस्तावना लेख्ने र त्यसलाई प्रतिस्पर्धा गराएर अनुदान दिने युगको अब अन्त्य गर्दै छौं । कृषिमा अनुदान जरुरी छ । तर टाठाबाठाको मात्रै पहुँच हुने अनुदान व्यवस्थाको अन्त्य गर्न खोजिएको हो । अब सबै किसानले प्राप्त गर्न सक्ने गरी बीउ, मल, सिँचाइ, बिजुलीलगायत उत्पादन सामग्रीमा अनुदान केन्द्रित गरिनेछ र बढाउँदै लगिनेछ । विगतमा हामीले कृषिको उत्पादन र उत्पादकत्वलाई मात्रै बढी जोड दियौं । अब हाम्रो प्रयास कृषकको उत्पादन कसरी बजारसम्म पुर्‍याउने र किसानलाई उचित मूल्य दिलाउने भन्ने हुनेछ । यसका लागि न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन, बजार व्यवस्थाको अध्ययन, आवश्यक बजार पूर्वाधार निर्माण आदि कार्य गरिनेछ । क्रमशः सबै स्थानीय तहलाई बजारसँग जोडिनेछ । राष्ट्रिय/अन्तरराष्ट्रिय व्यापारको सम्भाव्यताको अध्ययन र पूर्वानुमान गरिनेछ र किसानलाई सूचित गरिनेछ । त्यसका लागि मन्त्रालयअन्तर्गत एउटा संरचना नै खडा गरिनेछ । यसका लागि हामीले यसै वर्ष बजेटको व्यवस्था पनि गरेका छाैं ।

आफ्ना उत्पादनले बजार नपाउने, पाए पनि उचित मूल्य नपाउने अवस्था कृषकको छ । कृषक र बजारबीचको आपूर्ति शृंखलाको खाडल तथा बिचौलियाको घटाउने तयारी कसरी गर्दै हुनुहुन्छ ?

न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन गर्न निजी र सहकारीलाई संयोजन गर्ने, उनीहरूको क्षमता बढाउने, खाद्य व्यवस्था कम्पनीसँग सहकार्य गर्ने, राज्यका तर्फबाट खरीद गर्ने संरचना बनाउने, आवश्यक भौतिक पूर्वाधार जस्तै, शीतभण्डार, खाद्य गोदाम आदि बनाउने कार्य गरिँदै छ । यसले किसानले बजार अनि उचित मूल्य नपाउने समस्या र बिचौलियाको चलखेल क्रमशः अन्त्य गर्नेछ ।

स्थानीय निकाय (सरकार)लाई कृषि विकासको केन्द्र (ड्राइभिङ सिट) बनाउने तपाईंको योजना थियो । यसले बजार भण्डारण, कृषि सामग्रीको आधारभूत आवश्यकतालगायत पक्ष कृषकका लागि सहजै उपलब्ध हुन सकोस् । तर, बजेटमा यो आएन । अब यसलाई कसरी अगाडि बढाउने मन्त्रालयको सोचाइ छ ?

अबको कृषि विकासको मुख्य बाहक प्रदेश सरकार र स्थानीय तहहरू हुनेछन् । यिनको क्षमता बढाइनेछ । हामीले स्थानीय तहलाई कृषि विकासको स्वचालित सेलको रूपमा विकास गर्दै लैजानेछौं, जहाँ कृषि विकासका न्यूनतम सबै पूर्वाधार हुनेछन् । त्यसको त्यहाँ बीउको व्यवस्था हुनेछ, सहकारीले मल वितरण गरिरहेको हुनेछ । प्राविधिक जनशक्तिले किसानलाई सिकाइरहेका हुनेछन्, कृषि कर्जा र इन्स्योरेन्स गर्ने निकाय त्यही हुनेछन् । कृषि बजार र दूध संकलन केन्द्र हुनेछ । भण्डारणका लागि कोल्ड स्टोर र गोदाम घर हुनेछ । त्यहाँ कृषि उपज प्रशोधन गर्ने व्यवस्था पनि हुनेछ । यसरी किसानका धेरै चासोको सम्बोधन त्यहीँबाटै गर्न सकिनेछ । यो सबै तयारीका लागि हामीले स्थानीय तहमा विगतमा भन्दा धेरै बजेट पनि पठाएका छाैं । केही काम संघीय निकायको अगुवाइमा पनि सम्पन्न गरिनेछ । आगामी वर्षको बजेटभन्दा पहिले नै स्पष्ट तस्वीर आउनेछ ।

कृषि मन्त्रालयकै अध्ययनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट कृषक होइन, सत्तारूढ दलकै नेता र पहुँचवाला व्यापारी पोषित भएको देखियो । अख्तियारले अनियमितताको छानबिनै शुरू गरेको छ । तपाईंले संसद्मा यसको अध्ययन गर्ने बताउनुभएको थियो । त्यो अध्ययन कहाँ पुग्यो ?

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कन्सेप्ट राम्रो भए पनि यसको कार्यान्वयन पक्षमा हामीलाई शंका लाग्यो । हामीले मन्त्रालय र मातहतका विज्ञहरूको विभिन्न समूह बनाएर यसको अध्ययन गर्‍यौं । सोही सुझावअनुसार केही सुधार गरेका छौं । यसमा अझै धेरै काम गर्नुपर्नेछ । एक स्थानीय तहमा कम्तीमा एक पकेट क्षेत्र बनाउन बजेट विनियोजन गरिएको छ र यसै वर्ष त्यो काम सम्पन्न हुँदै छ ।

यस्तै समस्या व्यावसायिक कृषि तथा व्यापार आयोजना  (प्याक्ट)मा पनि देखियो । यसको दाता (विश्व बैंक) आफैले सरकारलाई पत्र लेखी अनियमितता गर्नेमाथि कारबाही गर्न सुझायो । अब दाताबाट लिइने यस्ता सहयोगलाई कसरी अगाडि बढाउने तपाईंको योजना छ ?

प्याक्ट हामी आउनुभन्दा अगाडिको प्रोजेक्ट भए पनि सबैको नजरमा रहेकै आयोजना थियो । यसमा कहीँ अनियमितता भएको छ भने त्यसको खोजी गरी कारबाही गर्नु हाम्रो दायित्व हो । कुनै दाताले भने पनि नभने पनि हामीले आफ्नो जिम्मेवारीको काम गरिरहनुपर्छ । मन्त्रालयबाट कमिटी बनाएर यसमा काम भइरहेको छ । दाताको सहयोगको सन्दर्भमा जुनकुनै सहयोग अब हाम्रो प्राथमिकता र राष्ट्रिय स्वार्थमा मात्र स्वीकार गरिनेछ । त्यसबाहेकको कुनै ऋण वा सहयोग नलिने गरी हामीले नीति बनाउँदै छौं । केही समयपछि त्यो बाहिर आउनेछ ।

किसालाई पेन्सन दिनुपूर्व वास्तविक किसानको तथ्यांक संकलन गरिने बताउनुभएको छ । कृषकको अभिलेखिकीकरण र सूचीकरण गर्ने काम कसरी गरिँदै छ ? किसानलाई पेन्सन दिन कहिलेबाट सम्भव होला ?

भाषण गरेर मात्र किसानले पेन्सन पाउँदैनन् । त्यसका लागि नीति, कार्यक्रम र बजेट चाहिन्छ । त्योभन्दा अगाडि किसानको पहिचान हुन जरुरी छ । त्यसका लागि पहिलो पाइला भनेकै कृषकको दर्ता अर्थात् सूचीकरण हो । अब किसानको दर्ता गरी परिचयपत्र प्रदान गरिनेछ । त्यसलाई आधार मानेर कृषि कार्यक्रम तर्जुमा गरिनेछन् । कृषक दर्ताका लागि यसै वर्ष बजेट विनियोजन गरी सबै स्थानीय तहहरूमा पाठाइएको छ । प्रदेश सरकार र स्थानीय तहले पनि थप बजेटको व्यवस्था गरेका छन् । यसको मार्गदर्शन स्वीकृत हुने क्रममा छ । तिहारलगत्तै यसलाई अभियानका रूपमा देशैभरि एकैसाथ शुरू गरिनेछ । यो निरन्तर र अटुट रूपमा चलिरहनेछ ।

मुलुकको जीडीपीमा सबैभन्दा ठूलो योगदान कृषि क्षेत्रको छ । यही क्षेत्रमा राज्यको लगानी सबैभन्दा न्यून छ । तपाईंले कृषिमा लगानी बढाइनेछ भन्नुभएको थियो । त्यो राज्यले नै गर्ने हो वा निजीक्षेत्रलाई  साथै लैजाने ? मन्त्रालयको योजना के छ ?

निजीक्षेत्र र सहकारीहरूको सहभागिता नभई कृषि व्यवस्था बलियो हुँदैन । त्यसैले निजीक्षेत्र, खासगरी कृषि सहकारीको क्षमता र सहभागिता बढाउन कृषि मन्त्रालयले पर्याप्त सहयोग गर्नेछ ।

कृषि पेसा केही अपवादलाई छाड्ने हो भने नयाँ पुस्ताको रोजाइमा पर्दैन । कसरी युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने ? उनीहरूलाई कृषि र कृषि उद्यममा लाग्न पू“जी र प्रविधिको उपलब्धताबारे मन्त्रालयको योजना के छ ?

कृषि–कर्म सबैभन्दा दुःख हुने काम हो । हामीले स्वदेशकै बेरोजगार र विदेशबाट फर्केका युवाहरूलाई लक्षित गरेर कृषि तथा पशुपन्छीपालनका कार्यक्रम ल्याएका छौं । उनीहरूले समूह बनाएर पनि कृषि उद्यम गर्न सक्नेछन् । उनीहरूले कृषि व्यवसायका लागि सहुलियतपूर्ण कृषि कर्जा पाउनेछन् । उनीहरूको व्यवसायको बीमा हुनेछ र तिनले उत्पादन गरेका वस्तुको बजारका लागि सहजीकरण गरिनेछ ।

मुख्य–मुख्य बालीमा न्यूनतम मूल्य तोक्ने काम शुरू भएको छ । धानको समर्थन मूल्य तोकिएको छ । बजारमा न्यूनतम मूल्य नपाए सरकारले खरीद गर्ने व्यवस्था गर्ने तपाईंको भनाइ छ ? यसका लागि स्रोत छ ?

हामीले बाली लगाउनु अगाडि नै धान र गहुँको समर्थन मूल्य तोक्ने परिपाटी विकास गरेका छाैं । उखु र दूधको तोकिएकै छ । यो मूल्य किसानलाई बचतको ग्यारेन्टी गर्ने खाले छ । यो मूल्यमा किसानले बजार नपाए राज्यले खरीद गरिदिनेछ । यसका लागि हामीले पर्याप्त तयारी गरेका छाैं । तयारीका बाँकी काम पनि छिट्टै सक्दै छौं । निजीक्षेत्र, सहकारी र खाद्य व्यवस्था कम्पनीलाई सहभागी गराइनेछ । भण्डारणका लागि पुराना गोदाम मर्मत गरिँदै छ र नयाँ गोदाम व्यवस्था गर्दै छौं । प्रदेश सरकार, स्थानीय तह र सहकारीहरूसँग पर्याप्त समन्वय गरिएको छ ।

मल अभाव यो वर्ष पनि दोहोरियो । किसानले समयमै मल नपाउने, अर्को मागअनुसारको आपूर्तिसमेत सरकारले गर्न नसक्ने अवस्था वर्षौंदेखि छ । यसलाई कसरी समाधान गर्ने सोच बनाउनुभएको छ ?  

नेपालमै रासायनिक मल कारखाना स्थापनाको सम्भाव्यता कृषि मन्त्रालय लागेको छ, जबकि यसअघिका अध्ययनहरूले लागत र प्रविधि दुवै कारणले रासायनिक मल कारखाना स्थापना गर्न सहजन भएको देखाएको छ ।

किसानले यसपालि पनि विगतकै नियति झेल्नुपर्‍यो । यसमा हामी दुःखी छाैं । अबदेखि मलमा यस्तो समस्या नहोस् भनेरै म आउनेबित्तिकै धेरै छलफल चलाएँ । मल आपूर्ति र वितरणमा विगतमा देखिएका समस्या पहिचान गर्दा तीनओटा मुख्य समस्या पहिचान गर्‍यौं । पहिलो, समस्या बजेटको थियो, जसमा मल आपूर्तिलाई पर्याप्त बजेट नहुनु र जति दिइएको छ, त्यो पनि समयमै निकासा नहुनु । दोस्रो, टेन्डर प्रक्रिया ढिला भएकाले समयमा आपूर्ति नहुनु । तेस्रो समस्या वितरणमा देखियो । वितरणमा अनियमितता हुनु, एक ठाउँको मल अन्यत्र जानु, गैरकृषि क्षेत्रलाई अनुदानको मल वितरण हुनु र वितरणको खास लेखाजोखा नहुनु आदि वितरणमा देखिएका समस्या थिए । हामीले रासायनिक मलका लागि कार्यविधि परिमार्जन गर्‍यौं । कम्प्युटर सफ्टवेयर नै बनाएर मल आपूर्ति, ढुवानी एवं वितरणलाई व्यवस्थित ग-यौं र वेबसाइटबाट पारदर्शी बनायाैं । यसले वितरणका अधिकांश समस्या हल गर्‍यो । बाँकी रह्यो, आपूर्तिलाई व्यवस्थित गर्न । आपूर्तिमा बजेटको समस्या सामाधान गर्न विगतभन्दा धेरै ११ अर्ब रुपैयाँ विनियोजन ग¥यौं र समयमै निकासा पनि गरायाैं । आपूर्ति ढिला नहोस् भनेर विगतभन्दा दुई महीना चाँडो टेन्डर पनि गर्‍यौं । यो सबै तयारी गरिएकाले मल समयमै आउने र वितरण पनि पारदर्शी हुनेमा हामी विश्वस्त थियाैं । तर, त्यतिबेलै आएको महामारीका कारण विश्वभर भएको बन्दाबन्दीले गर्दा हाम्रो मल आपूर्तिलाई गम्भीर असर गर्यो । बन्दरगाहहरू लामो समय बन्द हुँदा आपूर्ति अलि ढिला भयो र पछि ठेकेदारका कारणले पनि मल समयमा आउन सकेन । यसले गर्दा किसानले दुःख पाउनुपर्यो । ढिलो गरी  मल आयो तर किसानले दुःख पाउनुपर्‍यो । यसले हामीलाई पाठ सिकाएको छ कि विगतमा गरिएजस्तै आपूर्तिको मोडालिटी दिगो नहुने रहेछ । त्यसैले नियमित आपूर्ति गर्ने मोडालिटी तयारी गर्दै छौं । साथै, मल कारखानाको सम्भाव्यता अध्यन पनि गर्दै छौं । अबदेखि यस्तो समस्या नहोस् भन्न गम्भीर तयारी गर्दै छौं ।

कोरोना महामारीको प्रकोपमा परेका कृषि सम्बद्ध व्यवसायलाई प्रत्यक्ष सहायताको अभाव खड्किएको छ, किनकि घोषित राहत कार्यक्रम मुख्यतः कृषि र कृषिसम्बद्ध ब्यवसाय निरपेक्ष छन् विभागीय मन्त्रालयले यसमा पहल नगरेको हो ?

महामारीले अरू क्षेत्रजस्तै कृषिमा पनि निकै बाधा पुर्‍याएको छ । यो महामारीको प्रकोपमा परेका किसान र व्यवसायीलाई सहयोग होस् भन्ने उद्देश्यले हामीले सुलभ ऋणको पहुँच, उत्पादनका सामग्री, उत्पादनको ढुवानी र बजार व्यवस्थालाई सहज बनाउन महत्वपूर्ण पहलकदमी लिएका छाैं । बन्दाबन्दीको समय पनि कृषि सामग्री र उत्पादनको सहज ढुवानी गराउने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । भेटरेनरीलाई अत्यावश्यक सेवामा राखेर अटुट रूपमा प्रदान गरिएको थियो ।

कृषि क्षेत्रको बृहत्तर रूपान्तरणका लागि कृषि, सि“चाइ, भूमि व्यवस्था मन्त्रालयलाई एकीकृत गरी एउटै मन्त्रालय बनाइनुपर्ने होइन र ?

पहिले सबै एकै ठाउँ थिए, पछि छुट्टाछुट्टै गरिएछ । यी सबै कृषिसँग नजिकको सम्बन्ध भएका मन्त्रालयहरू हुन् । सबै मिलेर कृषकको हितमा कसरी काम गर्न सकिन्छ भनेर लागिरहेका छौं । (न्यू बिजनेश एज अक्टोबर–नोभेम्बर,२०२० अंकको अनुदित अंश ।)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार