श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कोरोना महामारीबीच छठ : घरआँगनमै जलकुण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः झापाको मेचीनगर–१० धुलावारीका अशोक पोद्दारले आफ्नै आँगनमा कृत्रिम जलकुण्ड बनाएर यसपालिको छठ पूजामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। घरमै छठी मैयाको पूजा गर्ने यो नौलो विधिमा उनका परिवारका सदस्य मात्र सामेल भएका छन्।

“पहिले-पहिले निन्दा नदीमा गएर सूर्यलाई दूध र जल अर्पण गर्थ्यौँ,” पोद्दारले कोरोना सङ्क्रमणको डरले यसपालि घरमै चाड मनाइएको बताउँदै भनेका छन्, “यसपालि कोरोनाले यस्तै भयो, अर्को साल फेरि खोलामा जाउँला।”

कोभिड–१९ को महामारीका कारण आज बेलुकी अधिकांश तराईवासी विभिन्न समुदायले प्राकृतिक नदी र तलाउमा गएर पूजापाठ गर्नुको साटो घर परिसरमै जलकुण्ड बनाएर गरी पर्वको विधिविधान पालना गरेका छन्। धुलाबारीकै सरिता रौनियारले घरनजिकैको कुचो उद्योग परिसरभित्र जेसीबीले जलकुण्ड बनाएर चिटिक्क सिङ्गारिएको मण्डपमा सामूहिक पूजापाठ गरेका छन्।

सरकारले खोला र तलाउमा भीड गर्दा कोरोना सङ्क्रमण बढ्छ भनेर घरमै छठ मनाउन आह्वान गरेको हुँदा अधिकांश व्रतालुले परिस्थितिको गम्भीरतालाई मनन् गर्दै छठ पर्वलाई परिवारभित्रै सीमित तुल्याएको उनले बताएका छन्। झापाको मेची, निन्दा, कनकाई, बिरिङ, देउनीया, रतुवालगायत नदीमा पण्डाल टाँगेर यसपाली बृहत् तथा सामूहिक छठ पूजा गरिएन। भद्रपुरको मेची नदी किनारमा केही सुकुम्बासीले मात्र मण्डप बनाएर पूजापाठ गरेका हुन्।

भद्रपुर निवासी झापा उद्योग वाणिज्य सङ्घका महासचिव पंकज शर्माका अनुसार विगतमा हजारौंको सङ्ख्यामा छठका व्रतालु मेची नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन भेला हुने गर्थे, तर यसपालि मेची किनारमा बसोबास गर्दै आएका सुकुम्बासीका केही परिवारले मात्र नदीमा पूजापाठ गरेको शर्माले बताएका छन्।

प्रदेश १ मै विराटनगरपछि धेरै व्रतालुले सामूहिक पूजा गर्ने थलो मानिएको थियो भद्रपुरको मेची नदी। यसपालि मेची किनारमा विगतको जस्तो रौनक छैन। आफ्नो घर हुने अधिकांश परिवारले निजी जग्गामा सानो जलकुण्ड निर्माण गरेको पाइएको छ। कृत्रिम जलकुण्डमा धाराबाट पानी भरेर अधिकांश व्रतालुले पूजाको विधि पूरा गरेको शर्माले बताएका छन्।

बिर्तामोड, कनकाई र दमकमा पनि अधिकांश व्रतालुले आफ्नै घर परिसरमा जलकुण्ड बनाएर पूजा गरेका छन्, तर जग्गा नभएका र भाडामा बस्दै आएका परिवारले भने खाली चौर र नजिकको खोलामै गएर पूजापाठ गरे।

गौरीगञ्ज बजारमा रहेको गेउरीया खोला र विर्तामोडको अन्धुवा खोलामा अन्यत्रभन्दा केही भीडभाड भयो। स्थानीय नगरपालिका, गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेको कारण खोला र तलाउको साटो आफ्नै घर परिसरमा जलकुण्ड र मण्डप बनाएर छठको पूजा गर्न आग्रह गरेका थिए, तर ती दुई स्थानमा सामूहिकरुपमा छठ मनाइएको छ।

विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईँले कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै स्थानीय सरकारले गरेको आग्रहलाई स्थानीयवासीले पालना गरेको बताएका छन्।

“खोला र बजारमा भीडभाड छैन, शान्तिपूर्ण रूपमा घरघरमै छठ पूजा हर्षोल्लासपूर्वक मनाइएको छ,” उपप्रमुख प्रसाईँले बताएका छन्।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले गौरीगञ्जको गेउरीया खोलामा बाहेक अन्यत्र खोलामा भीडभाड गरी सामूहिक पूजा नभएको र घर परिसरमै विधिपूर्वक पर्व मनाएको पाइएको बताएका छन्। उनका अनुसार झापामा दसैं, तिहारमा जस्तै छठ पर्वसमेतमा जनसमुदायले संयमित भएर चाडपर्व मनाएको उल्लेख गर्दै यसमा स्थानीय पालिका, मिडिया र प्रहरीको सहयोग रहेको बताए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार