असार २२, २०८२ आइतबार July 6, 2025

ट्रान्सपरेन्सीको रिपोर्टमा हाम्रा प्रधानमन्त्रीको नामै तोकिनु चिन्ताजनक विषय हो – खेमराज रेग्मी, अध्यक्ष, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन ग्लोबल करप्सन ब्यारोमिटर एसिया सार्वजनिक भएको छ । भ्रष्टाचारको ब्यारोमिटरमा नेपालको अवस्था के छ ?

अहिले नेपालको अवस्था निकै नै खस्किएकोजस्तो देखियो । भ्रष्टाचार नियन्त्रणमा हामी चुक्यौँ भन्ने देखिएको छ । सरकारले भ्रष्टाचार नियन्त्रणमा जति जोड दिनुपर्ने हो, त्यो नदिएको भन्ने छ । त्यसमा त स्पष्टै प्रधानमन्त्री केपी शर्मा ओलीको नाम राखेरै भनिएको छ । उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने विषय धेरैपटक भनिरहनुभएको छ । तर, प्रधानमन्त्रीको नेतृत्वमा रहेको संयन्त्रले त्यसलाई कार्यन्वयनमा ल्याएन । बरु, उल्टै विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका आफ्ना मन्त्रीहरूलाई बचाउ गर्ने काममा प्रधानमन्त्रीज्यू  लाग्नुभएको छ । यसले गर्दा सरकारप्रति मानिसहरू निराश छन् । सरकार खासगरी ठूला भ्रष्टाचार (ग्रान्ड करप्सन) नियन्त्रणमा सरकार उदासीन भएको कारणले जनता निराश छन् । जब कि बुद्धिजीवी र सचेत नागरिकले यसबारेमा धेरैपटक आवाज उठाएका छन् । तर, सरकार उदासीन छ भन्ने प्रतिवेदनको निष्कर्ष छ । एसियाका १७ देशको सर्वेक्षण गरिएको छ । ५८ प्रतिशत नेपालीले विगत एक वर्षमा भ्रष्टाचार पहिलाभन्दा झनै बढ्यो भनेर आफ्ना विचार व्यक्त गरेका छन् । ५८ प्रतिशत भनेको धेरै ठूलो संख्या हो । त्यसैमा कमेन्ट गरेर ट्रान्सपरेन्सीले आफ्नो निष्कर्ष निकालेको हो । सार्वजनिक जग्गा व्यक्तिको जिम्मा लगाउने काम भइरहेको जगजाहेर नै छ । सार्वजनिक खरिदमा राजनीतिक नेतृत्व र कर्मचारीहरूको मिलेमतोमा धेरै भ्रष्टाचार हुने गरेको छ ।

५८ प्रतिशत नेपालीले देशमा भ्रष्टाचार बढेको भनेका छन् । यो प्रतिशत एसियामा सबैभन्दा धेरै हो । जब कि सबैभन्दा कम क्याम्बोडियामा यो प्रतिशत १२ मात्र छ । नेपालको प्रतिशत सबैभन्दा बढी हुनुको कारण के होला ?

भ्रष्टाचार नियन्त्रण गर्ने भनेको सरकारले हो । प्रधानमन्त्री भ्रष्टाचार नियन्त्रण गर्छु, भ्रष्टाचार हुन दिन्नँ भनिराख्नुहुन्छ । तर, आफ्नै घोषणा कार्यान्वयन गर्नुभएन । भनाइ र गराइमा तादात्म्यता विल्कुलै भएन । तर, भ्रष्टाचार नियन्त्रणमा सरकारको कुनै जिम्मेवारी छैन, सबै जिम्मा मानौँ अख्तियारको हो भनेर पन्छाएजस्तो देखियो । अख्तियार भ्रष्टाचार नियन्त्रण गर्ने निकाय होइन । अख्तियार त भ्रष्टाचारीलाई कारबाही गर्ने निकाय हो । धेरैले नबुझेको चुरो यही हो । भ्रष्टाचार हुन नदिन सचेत हुने, सतर्क हुने त सरकार हो । त्यसमा पनि प्रधानमन्त्री हो । उहाँले मन्त्रीहरूलाई रोक्नुप¥यो, मन्त्रीले सचिव, सचिवले डिजी हुँदै कर्मचारीहरूलाई रोक्ने हो । यो संयन्त्र उहाँले तयार गर्न सक्नुभएन, अथवा उनीहरूलाई काममा लगाउन सक्नुभएन । त्यसकारण भ्रष्टाचार बढ्दै गएको हो । यहाँ त अख्तियारको आँखा छल्यो भने जति भ्रष्टाचार गरे पनि हुन्छ भन्ने प्रवृत्ति बढ्दै गएको छ ।  कुनै एकजना सचिवलाई भ्रष्टाचार गरेबापत सरकारले कारबाही ग¥योे भन्ने तपाईंले सुन्नुभएको छ ? सचिवको कुरा छाडिदिउँ, सहसचिव, डिजी, कर्मचारीहरू कसैलाई पनि कारबाही गरिएको छैन । सरकार स्वयं भ्रष्टाचार नियन्त्रण गर्नमा उदासीन रहन्छ भने एउटा कुनै निकायले चाहँदैमा भ्रष्टाचार नियन्त्रण हुँदैन । मानिसले भ्रष्टाचार नगरून्, भ्रष्टाचार गर्दा जेल जानुपर्ने रहेछ, मुद्दा खेप्नुपर्ने रहेछ, जागिर जाने रहेछ भन्ने भएपछि मानिसले भ्रष्टाचार गर्दैनन् भन्ने प्रभाव परोस् भनेर अख्तियारले कारबाही गर्ने हो । तर, भ्रष्टाचार नियन्त्रण गर्ने, रोक्ने खालको सरकारको कुनै पनि कार्यक्रम देखिएन । त्यसकारण भ्रष्टाचार बढेको हो । अर्काे कुरा, मन्त्रीहरू बद्मासी गरिरहेका छन्, सारा प्रमाण छन्, तर प्रधानमन्त्रीज्यू ‘हैन, उसले गरेकै छैन’ भनेर विनाछानबिन सफाइ दिनुहुन्छ । चाहे ओम्नीको काण्ड होस्, चाहे सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्ड होस्, गोकर्ण र बालुवाटारकै जग्गा काण्डमा होस् । त्यसकारण मान्छेमा सरकारप्रति नैराश्य उत्पन्न भएको स्थिति छ । त्यसैको अभिव्यक्ति ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टमा आएको छ ।

भ्रष्टाचारमा देशको राष्ट्रपति÷प्रधानमन्त्रीकै कार्यालय संलग्न छन् भनेर ५० प्रतिशत जनताको धारणा आएको छ, यसले राजनीतिक नेतृत्वप्रतिको कस्तो धारणालाई प्रतिनिधित्व गर्छ ?

राष्ट्रपतिमा कार्यकारी अधिकार हुँदैन । त्यसकारण जहाँ कार्यकारी अधिकार नै हुँदैन, त्यहाँ नै भ्रष्टाचार हुन्छ भन्ने विषय त्यति सान्दर्भिक भएन । हाम्रो मुलुकमा कार्यकारी प्रमुख भनेको प्रधानमन्त्री भएको हुनाले उहाँ र उहाँसँग सम्बद्ध व्यक्ति र निकायको विषय प्रमुख हो । मुख्य विषय प्रधानमन्त्री र तलका ‘इन्स्टिच्युसन’हरू हो । प्रधानमन्त्री एउटा इन्स्टिच्युसन हो । त्यस्तै, प्रधानमन्त्रीका मन्त्रीहरू, सल्लाहकारहरू, सहयोगीहरू, उनीहरूचाहिँ प्रायः सबै भ्रष्ट छन् भनेर ५० प्रतिशत नेपालीले आफ्नो विचार दिए । दोस्रोमा चाहिँ, ‘पार्लियामेन्टरियन’हरू । यसमा चुनावका विषय छन् । चुनाव लड्दा कहाँबाट खर्च गरे ? कहाँबाट ल्याए ? उनीहरूले पाउने जुन सांसद विकास कोष छ, त्यसको पैसा कसरी खर्च गरेका छन् ? वास्तवमा त्यो त भ्रष्टाचारको पुलिन्दा नै हो । हामीले देखेकै छौँ । कैयौँ ठाउँमा एक लाखमा हुने कामलाई १० लाख लगाएका छन् । अरू सबै उनीहरूले बाँडिचुँडी खाने, भ्रष्टाचारको अखडा नै भएको छ, त्यो । त्यस्तै, भनसुन गरेर अपराधीलाई जोगाइदिने काम भएका छन् । अझ पहिला–पहिला ‘कोएलिसन गभर्मेन्ट’ हुँदा मन्त्रीलाई, प्रधानमन्त्रीलाई ब्ल्याकमेलिङ गर्ने कालाबजारीहरू र धन्दावाललाई  संरक्षण गर्ने मुख्य मानिस भनेकै सांसद हुन् । अहिले पनि त्यो भएको छैन होला भन्न सकिँदैन । मूलतः उनीहरूको चुनावमा भएको खर्च, त्योचाहिँ नियमित आम्दानीबाट भएको खर्च होइन भन्ने हो । त्यस्तै, ब्युरोक्र्याट्सहरू । कर्मचारीहरू पनि प्रायः सबै भ्रष्ट छन् भन्ने मानिसको संख्या ४३ प्रतिशत भयो । त्यसपछि स्थानीय सरकार पनि प्रायः सबै भ्रष्ट छन् भन्नेमा ४० प्रतिशत छन् । यहीअनुसार पुलिस, न्यायाधीशहरूप्रति पनि मान्छेको सकारात्मक धारणा छैन । लोकतन्त्रका लागि पनि राम्रो होइन  ।

स्थानीय तहका सरकार पनि भ्रष्टाचारमा अग्रणी छन् भन्ने प्रतिवेदनले देखाएको छ । शीर्ष राजनीतिक नेतृत्व मात्र होइन, स्थानीय तहका नेतृत्वले पनि भ्रष्टाचार बढाएको छ भने त विषय झन् चिन्ताजनक भएन र ? 

बिल्कुलै हो । त्यहाँ पनि ब्युरोक्र्याट्स र स्थानीय तहका नेताहरू मिलेर व्यापक रूपमा भ्रष्टाचार गरेका छन् भन्ने रिपोर्ट आइरहेका छन् । जनताले प्रशासनिक सेवासुविधा त पहिलेभन्दा धेरै सजिलोसँग प्राप्त गरेका छन् । तर, अहिले विकास निर्माणका लागि अथाह पैसा निकासा भएको छ । त्यहाँ पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ छ । आफ्नो स्वार्थ बाझिएका काममा हात हाल्ने । जस्तो, आफ्नो सालो ठेकेदार छ, उसलाई ठेक्कापट्टा दिने । आफ्नो कार्यकर्ता छ, उसको अध्यक्षतामा समिति गठन गर्ने र भुक्तानी दिने र बाँडचुड गरेर खाने । यो व्यापक रूपमा छ । त्यसकारण सारांश के छ भने नेपालमा भ्रष्टाचार व्यापक रूपमा बढ्दै छ र यो चिन्ताको विषय हो । त्यसकारण यसलाई नियन्त्रण गर्न सरकारको दृढ संकल्प चाहिन्छ र साथसाथै नागरिक समाजलगायत भ्रष्टाचारविरुद्धमा अभियान चलाउने संघसंस्थाहरूको सशक्त अभियान सञ्चालन गर्नुपर्छ भन्ने पनि ट्रान्सपरेन्सीको प्रतिवेदनको निष्कर्ष छ ।

यो देशमा भ्रष्टाचारले जनता आहत छन् भन्ने बुझिन्छ, किनकि ८४ प्रतिशत नेपालीले भ्रष्टाचार देशको ठूलो समस्या हो भन्ने ठान्छन् । जनताको यो चिन्ताप्रति कसैको चासो छ कि छैन ?

सबैभन्दा दुःखको कुरा यही हो, यति धेरै जनताले चिन्ता गरेको विषयमा शीर्ष नेतृत्व चिन्तित छैन । हाम्रो नेपालको सन्दर्भमा प्रतिवेदनले के भन्छ भने १२ प्रतिशत मानिसले सार्वजानिक सेवा लिँदा घुस खुवाउनुुपरेको बताएका छन् । २९ प्रतिशत मानिसले भनसुन गराएर काम गराउनुपरेको बताएका छन् । योचाहिँ भ्रष्टाचार व्यापक रूपमै रहेछ भन्ने भयो । आधाभन्दा बढी मानिसले सरकारी कार्यालयमा गएर कानुनबमोजिम पाउनुपर्ने सेवासुविधा लिँदा घुस खुवाउनुपर्ने र भनसुन गराउनुपर्ने रहेछ । जब कि त्यो सुविधा अधिकारपूर्वक पाउनुपर्ने हो ।  अहिले एउटा डरलाग्दो तथ्यांक पनि आएको छ, यो प्रतिवेदनमा । त्यो के हो भने सात प्रतिशत महिलाले सेवासुविधा लिँदा यौनशोषणको मार खेप्नुपरेको छ । आफैँले व्यहोरेको अथवा आफ्ना मान्छेले व्यहोरेको भन्ने नै सात प्रतिशत छन् । मूल कुरा के हो भने प्रजातान्त्रिक ढंगले निर्वाचित सरकार छ । अझै त्यसमा पनि विगतमा अस्थिर सरकार भएको हुनाले मुलुकमा विकास भएन, अनियमितता अराजकता बढ्यो भनेर जनताले यो सरकारलाई झन्डै दुईतिहाइको बहुमत दिएका छन् । स्थायी सरकार भइसकेपछि अनियमितता निर्बाध ढंगले सरकारले हटाउँछ र जनताले सुविधा पाउँछन् भन्ने आशय थियो । जनताले गर्नुपर्ने काम त गरे, तर जो सत्तामा पुगेका छन्, उनीहरूले जनताको सुख, सुविधाभन्दा आफू र आफ्ना व्यक्तिहरूको सुविधा र फाइदाका लागि मात्रै काम गरे, त्यही देखिएको छ । मुलुकमा व्यापक रूपमा भ्रष्टाचार बढेको छ भनेर ५८ प्रतिशतले भने । अझ, नेपालका ८४ प्रतिशत मानिसले मुलुकको सबैभन्दा ठूलो समस्या सरकारी तहमा हुने भ्रष्टाचार हो भनेका छन् । हाम्रो समस्याको जड कहाँ रहेछ भन्दा सरकारमै रहेछ । सरकारको नियत भ्रष्टाचार नियन्त्रण गर्ने होइन, सुशासन दिने होइन, आफू र आफ्ना मानिसलाई कसरी राज्यकोषको दुरुपयोग गरेर भए पनि सुविधा दिने÷दिलाउने भन्ने काममा तल्लीन भएको देखियो ।

भ्रष्टाचार बढेको छ, तर राज्यले कहीँ न कहीँ भ्रष्टाचार नियन्त्रण गर्न कोसिस गरेको छ भन्ने जनताको संख्या पनि ६२ प्रतिशत छ भन्ने छ । जनताको यो अभिमतको के अर्थ होला ?

सायद अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बितेका एक–डेढ वर्षमा जुन सक्रियता देखायो, त्यो कारण मानिसमा एउटा प्रभाव परेको हुन सक्छ । तल्लो तहका कर्मचारीमाथि कारबाही पनि भएका छन्, मुद्दा पनि दर्ता भएका छन् । सरकारले केही गर्न खोजेको छ है भनेर मानिसमा छाप परेको छ । त्यो हुन सक्छ भनेर हामीले विश्लेषण ग¥यौँ । अख्तियार मात्रै हैन, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, सतर्कता केन्द्र छ । यिनीहरूको कामको केही प्रभाव जनतामा परेको देखियो, जसले गर्दा सरकारले केही न केही गर्दै छ भन्ने एउटा सन्तोषको विषय  छ । तर, प्रतिवेदनको ‘इन्डिकेसन’ कहाँ छ भने ठूला भ्रष्टाचार नियन्त्रणमा सरकार बिल्कुलै उदासीन रहेको छ ।

यस्ता प्रतिवेदन हरेक वर्ष आउँछन् । तर, त्यसले राज्यको नीति निर्माणमा बस्ने पदाधिकारीको धारणा खासै फरक पारेको छ कि छैन ?

पार्नुपर्ने हो । वास्तवमा कुनै पनि अध्ययन गर्ने र अध्ययनको प्रतिवेदन दिएपछि त्यसको कहाँ–कहाँ कमजोरी भए, हामीले गर्नुपर्ने के थियो भन्नेलगायत प्रतिवेदनमा निष्कर्षसहित सुझाब पनि दिइएको हुन्छ । त्यसलाई मनन गर्ने हो । तर, नेपालको सन्दर्भमा हाम्रो राज्यसत्ताले त्यो पटक्कै ध्यान दिएको देखिएन । अध्ययन गर्ने र प्रतिवेदन बुझ्ने, बुझाउने भनेकै सुझाबका लागि हो । हाम्रो कहाँ कमजोरी रहेछ, कहाँ हामी चुक्यौँ, गर्नुपर्ने के हो भनेर प्रतिवेदनले दिन्छ । यही प्रतिवेदनले पनि मूलतः राजनीतिक नेतृत्व तह नै दृढ संकल्पका साथ भ्रष्टाचार नियन्त्रण गर्न उद्यत हुनुपर्छ भनेको छ । र, नागरिक समाजलगायत भ्रष्टाचारविरोधी संस्थाहरूले पनि सशक्त आवाज उठाएर भ्रष्टाचार नियन्त्रणमा दबाब दिनुपर्छ भन्ने छ । खासमा ठूला भ्रष्टाचार, नीतिगत भ्रष्टाचार पनि भन्छन्, त्यसलाई । त्यसका विरुद्धमा त मिडियाले लेखेका छन् । हामीले हरेक इस्युमा प्रधानमन्त्री, अख्तियारलाई भनिरहेका छौँ । आयल निगम जग्गा खरिद काण्डको अनुसन्धान अख्तिायारले तामेलीमा राख्नासाथ ठूलो विरोध भयो । त्यसैले सेक्युरिटी काण्डवालाचाहिँ तामेलीमा राख्न सकेनन् । हिम्मत गरेनन् । संसद्मा प्रतिपक्षले विरोध गरेजस्तो गरेका छन् । सरकारचाहिँ यिनीहरू ‘कराउँदै गर्छन्’ भन्नेजस्तो ठानेको छ । अब अहिले त ट्रान्सपरेन्सी इन्टरनेसनलले हाम्रा प्रधानमन्त्रीको नामै तोकेर भ्रष्टाचार नियन्त्रणमा उहाँको उदासीनता र अकर्मण्यताको बारेमा लेख्नु भनेको त चिन्ताजनक अवस्था हो ।

प्रतिपक्षको दबाबमूलक भूमिकाले पनि भ्रष्टाचार नियन्त्रणमा सघाउने हो, नेपालका प्रतिपक्षको भूमिका कस्तो छ ? 

प्रतिपक्षको भूमिका पनि उत्साहजनक देखिएन । सत्तापक्षबाट भइरहेको भ्रष्टाचारमा सशक्त रूपमा सदनमा अथवा अन्य मञ्चहरूमा आवाज उठाउनुपर्ने थियो, त्यो भएको छैन । जसको कारणले सत्तापक्षलाई भ्रष्टाचार गर्न सजिलो भयो । प्रतिपक्ष दह्रो नभएसम्म वास्तवमा प्रजातन्त्र बलियो हुँदैन भन्ने मान्यता छ । तर, प्रतिपक्ष बलियो भयो भन्न सकिने अवस्था छैन । त्यस्तै, प्रजातन्त्र बलियो हुनका लागि सुशासन हुनुपर्छ । सुशासन भनेको भ्रष्टाचाररहित शासन व्यवस्था हो, जहाँ नेता, कर्मचारीहरूमा पारदर्शिता, सदाचार हुन्छ । त्यो कायम गराउनका लागि प्रतिपक्षको अहं भूमिका हुन्छ । तर, अहिलेचाहिँ प्रतिपक्षले प्रभावकारी र सशक्त भूमिका खेल्न नसकेको यथार्थ हो । नयाँँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार