काठमाडौंः नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न आग्रह गरेको छ। प्रतिवेदनले प्रधानमन्त्री ओली स्वयंले भ्रष्टाचारीको संरक्षण गरेको भन्ने कांग्रेसको समीक्षालाई पुष्टि गरेको एक विज्ञप्तिमार्फत् जनाएको छ।
प्रतिवेदनमा भ्रष्टाचारीको संरक्षण प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण उल्लेख छ। प्रतिवेदनमा किटानी विवरण रहेको स्थिति देशकै लागि लज्जास्पदसमेत भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।
उनले शनिबार प्रेस विज्ञप्तिमार्फत् भनेका छन्, “पछिल्लो एक वर्षमा एसियाली मुलुकहरूमा नेपालको स्थिति भ्रष्टाचारमा सबैभन्दा अगाडि देखिनु दुःखद् त छ नै, भ्रष्टाचारीको संरक्षण स्वयं प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण प्रतिवेदनमा रहेकोे स्थिति देशकै लागि लज्जास्पद समेत छ।”
अन्तर्राष्ट्रिय जगत्मा नेपालको छविमा यसबाट गम्भीर असर पुगेको स्थिति दृष्टिगत गर्दै सत्तारुढ पार्टीले संस्थागत धारणा सार्वजनिक गर्न अत्यन्तै अनिवार्य भएको पनि प्रवक्ता शर्माले बताए।
एकातर्फ भ्रष्टाचारीको अनुहारसम्म हेर्दिनँ भनेर अभिव्यक्ति दिने र अर्कातर्फ भ्रष्टाचारको अनेक प्रकरण ढाकछोप गर्न ओहोदाकै मर्यादासम्म प्रधानमन्त्रीले बिर्सिदिने, शक्ति प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरेर अति शक्तिले अति भ्रष्ट बनाउँछ भन्ने मान्यतालाई पुष्टि गर्नतर्फ लाग्ने अनि भ्रष्टाचारविरुद्ध उठेका आवाजलाई पूर्वाग्रहपूर्ण देख्ने प्रवृत्तिले मुलुकमा झनै बेथिति र भ्रष्टाचार बढाउने अनुमान गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया