काठमाण्डौंः राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि सक्रिय भएर आफ्नो भूमिका देखाउन सांसदहरूलाई आग्रह गरेका छन्।
प्रदेश १ का मुख्यमन्त्रीसहित सांसदहरू सहभागी ‘कोभिड-१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा विराटनगरमा बोल्दै उनले सो कुरा बताएका हुन्।
अध्यक्ष तिमिल्सिनाले कोरोनाको मेडिकल उपचार निश्चित नभएकाले यसको नियन्त्रणका लागि स्वास्थ्यकर्मीसँगै जनचेतना फैलाउने विषयमा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताए।
‘कोरोना सुरु हुँदा सरकारले गरेको लकडाउन पालना गराउन हामीले आफ्ना जनतालाई घरमै बस्न आग्रह गर्यौं,’ उनले भने, ‘संक्रमण फैलिएको मुलुकबाट विद्यार्थी ल्याउँदा जनता के हुने हो भनेर आतंकित भइरहेको अवस्था थियो। अहिले संक्रमण लाखौंमा पुगिसकेको छ। यो अवस्थामा हामी आतंकित नभई सचेत हुन जरुरी छ।’
अध्यक्ष तिमिल्सिनाले कोरोना नियन्त्रण प्रभावकारी बनाउन जनप्रतिनिधि अगाडि सरेको मुलुकले सफलता प्राप्त गरेको अनुभव रहेको जानकारी गराउँदै नेपालमा पनि सांसद, स्थानीय तहका प्रतिनिधि र राजनीतिक दलका संगठनहरु जनतामा पुग्नुपर्ने धारणा राखे।
‘यो महामारी अहिले मानव जातीको चुनौती हो। यसकाविरुद्ध सबै एक भएर लड्नुपर्छ,’ उनले भने, ‘समाजमा अफ्ट्यारो परेको बेला आफ्नो भूमिका देखाउन जनप्रतिनिध, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्रलगायत सबैलाई यो एउटा अवसर पनि हो।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया