काठमाण्डाैः राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूमा कोभिड-१९को असरसम्बन्धी अध्ययन गर्न उपसमिति गठन गर्ने भएको छ ।
समितिको मङ्गलबार बसेको बैठकले राष्ट्रिय गौरवका आयोजनाहरूमा कोभिड -१९ले पारेको असर सम्बन्धमा स्थलगत अनुगमन गरी अध्ययन गरेर सरकारलाई उपयुक्त सुझाव दिन उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
समितिकी सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन गर्ने, सरोकारवाला पक्षसँग छलफल गर्ने र सरकारलाई निर्देशन एवं सुझाव दिने गरी उपसमिति गठन गरेर समितिका क्रियाकलापलाई अगाडि बढाउने निर्णय भएको बताईन् ।
कोभिड सङ्क्रमणको जोखिमका कारण समितिका नियमित बैठकहरू प्रभावित भएको र अबदेखि बैठकलाई निरन्तरता दिनका लागि उपसमिति बनाएर काम गर्ने तयारी गरिएको सभापति रावलले बताईन् ।
पछाडि परेको क्षेत्र, समुदाय, मानव अधिकारको सन्दर्भमा, राष्ट्रिय सम्पदा, राष्ट्रिय सुरक्षा, विभिन्न सन्धि/सम्झौता लगायतका विषयमा पनि समितिले छलफललाई अगाडि बढाउने गरी कार्ययोजना निर्माण गरिएको सभापति रावलले बताईन् ।
यस्तै लैङ्गिक हिंसाविरुद्धको विषयमा तीन तहका सरकार र जनप्रतिनिधिको भूमिका सम्बन्धमा पनि छलफल चलाउने निर्णय बैठकले गरेको छ । समितिले प्रस्ताव गरेको सङ्घ, प्रदेश र पालिका अन्तरसम्बन्ध विषयमा गोष्ठी गर्ने सम्बन्धमा समेत छलफल भएको सभापति रावलले बताईन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया