काठमाण्डौंः भूकम्पले क्षति पुर्याएको बागलुङ नगरपालिका–११ रायडाँडास्थित शान्ति बौद्ध विहार गुम्बाको पुनःनिर्माण थालिएको छ । विसं २०७२ को भूकम्पले क्षति पु¥याएको उक्त बौद्ध गुम्बाको ५ वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गर्न थालिएको छ । रायडाँडाको हलहलेस्थित रहेको गुम्बाको पुनःनिर्माण प्राधिकरण र शान्ति विहार बौद्ध गुम्बाको साझेदारीमा पुनःनिर्माण थालिएको हो ।
विसं २०६२ मा स्थापित गुम्बा २०७० मा विधिवत् दर्ता भएर सञ्चालनमा आए पनि २०७२ सालको भूकम्पले क्षति पु¥याएका कारण पुनःनिर्माण गर्न थालिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङका प्रमुख रेणुका पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार रु ६१ लाखको लागतमा ८०० वर्गमिटर गुम्बा निर्माण गर्न थालिएको हो । रु ६१ लाखमध्ये प्राधिकरणले रु ४० लाख र रु २१ लाख स्थानीय तह तथा श्रमदानबाट जुटाएर निर्माण गरिनेछ ।
एक भिक्षुले नियमित पाठपूजा गर्दै आएको उक्त गुम्बा भूकम्पले क्षति पुर्याएपछि पुनःनिर्माणका लागि पहल थालिएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र स्थानीय जनश्रमदानमा पुरानो गुम्बा भत्काएर भूकम्प प्रतिरोधी गुम्बा निर्माण थालिएको शान्ति बौद्ध विहार गुम्बा रायडाँडा निर्माण समितिका अध्यक्ष रणबहादुर थापाले जानकारी दिनुभयो । “रायडाँडामा ६२ सालदेखि सञ्चालनमा आएको गुम्बा भूकम्पले क्षति पुर्याएको थियो”, थापाले भन्नुभयो, “क्षति पुर्याएको गुम्बा भत्काएर नयाँ निर्माणको काम थालेका छौँ ।” पहिला सानो ढुङ्गामाटोको गुम्बा भत्किएका कारण पुनःनिर्माण थालिएको हो ।
यही असार १० गतेसम्म सक्नेगरी भूकम्प प्रतिरोधी गुम्बा निर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता भइसकेको छ । गुम्बा निर्माणका लागि अपुग रु २१ लाखमध्ये केही बजेट बागलुङ नगरपालिकासँग समेत माग गरिएको रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो । नयाँ निर्माण गरेको गुम्बामा पुरानो गुम्बामा रहेको बुद्धको मूर्ति प्रतिस्थापन गरिने निर्माण समितिले जनाएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया