असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रपति र प्रधानमन्त्रीबीच अकस्मात भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आईतबार साँझ सवा ७ बजे प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्न शीतल निवास पुगेका हुन् ।

संवैधानिक परिषद् सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर गरेको नियुक्तिबारे छलफलका लागि प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेको बालुवाटार स्रोतले बताएको छ ।  करिब पौने घण्टा राष्ट्रपतिसँग परामर्श गरी प्रधानमन्त्री ओली बालुवाटार फर्किएका छन् ।

गत ३० मङ्सिरमा अध्यादेशमार्फत ऐन संशोधन गरेपछि प्रधानमन्त्री ओलीको अध्यक्षतामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सदस्य रहेको संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि ३८ जनाको नाम सिफारिस गरेको थियो ।

संसदले पत्र प्राप्त भएको ४५ दिनभित्र कुनै निर्णय नगरेमा स्वतः नियुक्ति हुन सक्ने प्रावधान संयुक्त सदन कार्य सञ्चालन नियमावलीमा छ । आजै मात्र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्‌द्वारा सिफारिस गरेका नामहरू फिर्ता पठाइदिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया