काठमाडौंः विशेष अदालत काठमाण्डौंले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचारको आरोपमा मुख्य अभियुक्त मानिएका शोभाकान्त ढकाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।
विशेष अदालतले ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपका मुख्य अभियुक्त मानिएका ढकाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको हो। मुख्य बिचौलियाको भूमिका निभाएको आरोप लागेका ढकाल उक्त प्रकरणमा अनुसन्धान शुरु भएपछि फरार भएका थिए। म्याद जारी भएको करिब एक वर्षपछि विशेष अदालत बुधबार हाजिर भएका उनलाई विशेषले थुनामा पठाउने आदेश जारी गरेको हो।
यसअघि यही मुद्दामा जोडिएका अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश विशेषले गरेको थियो। यस्तै डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन एक कर्मचारी पनि पुर्पक्षका लागि थुनामा पठाइएको छ।
पछिल्लो पटक थुनामा पठाइएका ढकाल र रामकुमार सुवेदीले संयुक्त रुपमा उक्त सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा बिचौलियको भूमिका निभाएका थिए। सुवेदी लेखापढी व्यवसायी समेत भएकाले उनको सहयोगमा बालुवाटरको सरकारी जग्गा व्यक्तिको बनाउने चलखेल सुरु भएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया