असार २२, २०८२ आइतबार July 6, 2025

‘चीनले नेपाललाई कहिल्यै नाकाबन्दी गरेन, भविष्यमा पनि गर्नेछैन’ – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१९ मा नेपाल भ्रमण गर्दा नेपाल र चीनबीच धेरैवटा सम्झौतामा हस्ताक्षर भएका थिए । ती सम्झौताको कार्यान्वयनमा के–कति प्रगति भएका छन् ? सम्झौता कार्यान्वयन गर्न के–कस्तो कठिनाइ रहेको छ ?

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गर्दा दुई देशका नेताले चीन–नेपाल सम्बन्धलाई विकास तथा समृद्धितर्फ उन्मुख पुस्तौंपुस्ताको मैत्रीपूर्ण रणनीतिक सहकार्यमा स्तरोन्नति गर्नुभएको थियो । दुवै पक्षबीच ‘एक प्रदेश एक मार्ग’ (बीआरआई) को संयुक्त निर्माण, हिमालय वारपारको त्रिआयामिक कनेक्टिभिटी सञ्जालको निर्माण आदि महत्त्वपूर्ण सहमति भएका थिए । यसबाट चीन–नेपाल सम्बन्ध अझ गहिरो र अझ विस्तारित हुने भएको छ ।

सन् २०२० चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका उपलब्धि कार्यान्वयन गरिएको पहिलो वर्ष थियो साथै चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्ष पनि थियो । दुई देशका राष्ट्र प्रमुख र विदेशमन्त्रीबीच धेरैपटक टेलिफोन वार्तामार्फत महामारी रोकथाम, ठोस सहकार्य आदि विषयमा विचार आदानप्रदान भएका छन् । दुवै देशका सरकार र जनता महामारीको असर घटाउन अथक प्रयास गर्दै छन् ।

विभिन्न क्षेत्रको सहकार्यमा महत्त्वपूर्ण प्रगति भएका छन् । महामारीविरुद्धको सहकार्यमा चीनले नेपाललाई रोकथामका सामग्रीको अनुदान दिएको छ । यस्तै, पहिलोपटक भिडियो वार्ता सञ्चालन गरी महामारी रोकथामका अनुभव आदानप्रदान गरेको छ । नेपालसँग संयुक्त रूपमा महामारी रोकथाम तथा नियन्त्रणको संयन्त्र निर्माण गरेको छ । कनेक्टिभिटीका सम्बन्धमा चीन–नेपाल व्यापार सुचारु बनाउन गठित कार्यटोलीको भिडियो वार्ताका माध्यमबाट पहिलोपटक बैठक बसिसकेको छ । चीन–नेपाल पारवहन तथा यातायात सन्धि औपचारिक रूपमा लागू भएको छ । टोखा–छहरे सुरुङ सर्वेक्षण गरी योजनाको पूर्वसर्वेक्षण कार्य सम्पन्न भएको छ । चीनले नेपाललाई सहयोगस्वरूप प्रदान गरेको दरबार हाईस्कुल पुनर्निर्माण परियोजना सञ्चालन भई नेपाली पक्षलाई हस्तान्तरण गरिसकेको छ ।

दुवै पक्षले संयुक्त रूपमा सगरमाथाको ८८४८.८६ मिटरको नयाँ उचाइ घोषणा गरेका छन् । यो पनि चिनियाँ राष्ट्रपति सीको भ्रमणका महत्त्वपूर्ण उपलब्धिको कार्यान्वयन हो र यसले चीन–नेपाल सम्बन्धको नयाँ उचाइ पनि विश्वसामु प्रस्तुत गरेको छ ।

अहिले कोभिड–१९ महामारीले विश्वभरिका मानिसको आवागमन, मालसामान ढुवानी आदिमा ठूलो असर पारेको छ । यसले हामीलाई चीन–नेपालका ठूला परियोजनालाई अघि बढाउन पनि केही कठिनाइ पुर्‍याएको छ तर एक प्रदेश एक मार्गअन्तर्गत हुने चीन–नेपालबीचको सहकार्य दीर्घकालीन सहकार्य हो । केही समयको, कुनै कुराका कारणले यसमा कुनै ठूलो असर पर्नेछैन । हामी महामारीको रोकथाम तथा नियन्त्रणको पूर्वसर्तमा क्रमिक रूपमा ती परियोजनाको पुनः सञ्चालन गर्दै जानेछौं । त्यसका लागि नेपाली पक्षले पनि अझ धेरै सुविधा र सहयोग प्रदान गर्नेछ भन्ने आशा गर्दछु ।

चीनले नेपाललाई कोभिड–१९ खोप प्रदान गर्ने घोषणा गरेको छ । त्यस सम्बन्धमा के प्रगति भइरहेको छ ? चीनले नेपाललाई अझ बढी खोप प्रदान गर्ने सम्भावना कस्तो छ ?

यस वर्षको विश्व आर्थिक फोरम ‘डाभोस एजेन्डा संवाद’ मा चिनियाँ राष्ट्रपति सीले महामारीविरुद्धको संघर्ष नै अन्तर्राष्ट्रिय समुदायले सामना गरिरहेको सबैभन्दा जल्दोबल्दो समस्या हो भनेर जोड दिनुभएको थियो । यो ‘जनता नै सबभन्दा महत्त्वपूर्ण, जीवन नै सबभन्दा बहुमूल्य’ भन्ने आधारभूत मान्यता पनि हो र क्रमिक रूपमा अर्थतन्त्रलाई पुनः गतिशील बनाउनुको पूर्वसर्त पनि हो । राष्ट्रपति सीले गर्नुभएको गम्भीर वाचालाई चीनले सक्रिय रूपमा कार्यान्वयन गर्दै ‘कोभिड–१९ खोप कार्यान्वयन योजना’ लाई एक करोडवटा खोप प्रदान गर्ने निर्णय गरिसकेको छ । फेब्रुअरी ६ सम्ममा चीनले विदेशी मुलुकहरूलाई अनुदानस्वरूप प्रदान गरेको पहिलो समूहको खोप पाकिस्तान पुगिसकेको छ । यसका साथै नेपाललगायत अन्य १३ विकासशील देशलाई खोपको अनुदान सहयोग दिने कार्य भइरहेको छ ।

चीन नेपालको विश्वसनीय मित्र हो । दुई देश सदैव एकअर्काका सहयोगी र एकै डुंगाका यात्रु हुन् । चीनले नेपाललाई पहिलो चरणमा ५ लाख कोभिड खोप प्रदान गर्न सहमत भएबाट चीनले नेपालसँगको मैत्री सम्बन्धलाई उच्च महत्त्व दिएको स्पष्ट हुन्छ । यसपटक चीनले नेपाललाई प्रदान गर्न लागेको खोप चीनको राष्ट्रिय औषधि समूहले उत्पादन गरेको हो । त्यसको तेस्रो चरणको क्लिनिकल परीक्षण परिणामबाट उक्त खोप दुई मात्रा लगाएपछि त्यसबाट हुने प्रतिरक्षात्मक प्रभावकारिता ७९.३४ प्रतिशत रहेको प्रमाणित भएको छ । यस्तै, खोप लगाएपछि एन्टिबडी देखा पर्ने दर ९९.५२ प्रतिशत रहेको छ । खोप प्रभावकारी र सुरक्षित रहेको वैज्ञानिक रूपमा प्रमाणित भइसकेको छ । अहिलेसम्म यो खोप चीन, यूएई, पाकिस्तान, हंगेरीलगायत १४ देश र क्षेत्रमा विधिपूर्वक दर्ता गरी बजारमा पुर्‍याइएको अथवा संकटकालीन प्रयोगमा ल्याइसकिएको छ । नेपालले पनि उक्त खोपलाई नेपालमा संकटकालीन प्रयोगका लागि यथाशीघ्र स्वीकृति देओस् र उक्त खोपले नेपाली जनताको स्वास्थ्य रक्षाका लागि छिट्टै महत्त्वपूर्ण भूमिका खेल्न सकोस् भन्ने हामी चाहन्छौं । उत्पादन क्षमता अभिवृद्धि भएपछि चीन विभिन्न माध्यमद्वारा नेपाललाई अझ बढी संख्यामा कोभिड खोप प्रदान गर्न चाहन्छ । नेपाललाई यथाशीघ्र महामारीमाथि विजय प्राप्त गर्न सहयोग पुर्‍याई संयुक्त रूपमा चीन–नेपाल साझा स्वास्थ्यसम्बन्धी समष्टि निर्माण गर्न चाहन्छ ।

अर्को प्रसंग, रसुवागढी–केरुङ र तातोपानी–खासा नाका खोल्न र तिनलाई सुचारु राख्न चिनियाँ पक्षले के–कस्ता प्रयत्न गरेको छ ?

चीनले नेपालसँगको कनेक्टिभिटीलाई सदैव उच्च महत्त्व दिएको छ र नेपाललाई आवश्यक पर्ने उपभोग्य वस्तु तथा स्वास्थ्य एवम् चिकित्सासम्बन्धी सामग्रीको ढुवानी सुचारु राख्न यथाशीघ्र प्रयास गर्दै आएको छ । कोभिड महामारी र त्यस क्षेत्रको भौगोलिक अवस्थाका कारणले चीन–नेपाल नाका सञ्चालन र मालसामान भन्सार पार गर्ने क्षमतामा बारम्बार प्रतिकूल असर परिरहेको छ । अहिले पनि सामान्य अवस्थामा पुग्न सकेको छैन । चीनको केन्द्रीय सरकार र तिब्बत स्वशासित क्षेत्रको सरकारले नाकाहरूको स्थलगत निरीक्षण गरी महामारी रोकथाम र नियन्त्रणको पूर्वसर्तमा नाका सुचारु रूपमा सञ्चालन गर्न र मालसामान भन्सार पार गर्ने क्षमता बढाउने व्यावहारिक उपायको अध्ययन गर्न धेरैपटक कार्यटोलीलाई पठाइसकेको छ । चीन र नेपालले खासा नाकामा सामान खसाल्ने र झुन्ड्याउने ढुवानी तरिका प्रयोग गरी नाकाबाट मालसामान भन्सार पार गर्ने क्षमतालाई अझ अभिवृद्धि गरेको छ । सन् २०२० मा केरुङ र खासाबाट चीनले तीन हजार टनभन्दा बढी मालसामान निर्यात गरेको थियो, जसको मूल्य ३६ अर्ब नेपाली रुपैयाँ रहेको छ ।

चीनले नेपालको उत्तरपूर्वी भूभागका जनतालाई ठूलो परिमाणमा महामारी रोकथामका सामग्री र दैनिक उपभोग्य वस्तु प्रदान गरेको छ । गत वर्षको अन्तमा चीनले अनेक कठिनाइ हटाई अस्थायी तथा एकपक्षीय रूपमा बुराङ नाका खोली नेपाल पक्षले चीनमा खरिद गरेको मालसामान भन्सार पार गर्न सुविधा र सहयोग प्रदान गरेको थियो । यसले हुम्ला क्षेत्रका २००० भन्दा बढी परिवारलाई हिउँदमा आवश्यक पर्ने सामग्रीको आपूर्ति भएको थियो । केही समयअघि मैले चीन–नेपाल सीमा क्षेत्रमा रहेको लो गेकर दामोदर कुण्ड गाउँपालिकाले चीनको तिब्बत स्वशासित क्षेत्रको चुङ्पा गाउँलाई लेखेको धन्यवाद ज्ञापनपत्र प्राप्त गरेको थिएँ । त्यसमा चुङ्पा गाउँले उनीहरूलाई महामारी रोकथाम सामग्री, खाद्य पदार्थ र कृषि औजार प्रदान गरेकामा धन्यवाद ज्ञापन गरिएको थियो ।

केही शक्तिले समय समयमा तथाकथित ‘चिनियाँ नाकाबन्दी’ को कुरालाई चर्चामा ल्याउने गरेका छन् । मैले यहाँ जोड दिएर भन्न चाहेको कुरा के हो भने चीनले नेपाललाई नाकाबन्दी गर्ने भन्ने कुरा इतिहासमा कहिल्यै पनि भएको थिएन, अहिले पनि छैन र भविष्यमा पनि हुनेछैन । हामी नेपाली पक्षसँग संयुक्त प्रयास गरी सीमा नाकाको कार्य अवस्थामा सुधार गर्न चाहन्छौं ।

चीनको सम्बन्धित निकायले दिएको जानकारीका अनुसार, महामारी सुरुदेखि तातोपानी र रसुवा नाकामा रोकिएका सबै सवारी साधनहरु नेपालमा ढुवानी गरिसकेका छन् र अहिले त्यहाँ कुनै कार्गो पनि रोकिएको छैन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली राजनीतिमा आएको नयाँ परिवर्तनलाई महामहिमले कसरी हेर्नुभएको छ ? अहिले सत्तारूढ दल नेकपा दुई समूहमा विभाजन भएको छ, नेकपाको आन्तरिक मामिलामा चिनियाँ पक्ष अझ सक्रिय भएको हो कि ?

नेपालको राजनीतिक क्षेत्रमा हालै आएको लहरप्रति चीनको ध्यानाकर्षण भएको छ । चीन अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा सधैं अडिग छ । नेपालको सच्चा मित्रको नाताले चीन नेपाली राजनीतिका सम्पूर्ण पक्षले आपसी संवादका माध्यमद्वारा समस्या समाधान गर्ने उपाय पत्ता लगाई राजनीतिक स्थिरता र विकासको वातावरण कायम राख्न संयुक्त प्रयास गरोस् भन्ने चाहन्छ । स्थिर, विकासशील, समृद्धशाली नेपाल नै नेपालीका हितमा छ । चीनले देख्न चाहेको पनि यही हो । चिनियाँ पक्षले नेपालका हरेक राजनीतिक पार्टीसँग सुमधुर सम्बन्ध कायम गर्दै आएको छ । हामीलाई विश्वास छ, नेपालमा जस्तोसुकै राजनीतिक परिवर्तन आए पनि त्यसले चीन–नेपालको मैत्री सम्बन्ध र ‘एक प्रदेश एक मार्ग’ अन्तर्गत विभिन्न क्षेत्रमा चीन र नेपालले गर्ने सहकार्यलाई अघि बढाउन कुनै प्रभाव पार्नेछैन ।

चीन नेपालको संसद्बाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रस्ताव पारित नहोस् भन्ने चाहन्छ भन्ने सुनिन्छ । के यो सत्य हो ? अमेरिकाको हिन्द–प्रशान्त रणनीति (आईपीएस) दस्ताबेजमा स्पष्ट शब्दमा त्यसलाई बीआरआई प्रस्तावनाको भरपर्दो विकल्प हो भनिएको छ । यसलाई चीनले कसरी हेरेको छ ?

एमसीसी नेपाल र अमेरिकाबीचको कुरा हो । नेपाली पक्षले आफ्नो देशको हितलाई ध्यानमा राखी यस क्षेत्रको शान्ति र स्थिरताका दृष्टिकोणबाट समेत विचार गरी उचित निर्णय गर्नेछ भन्ने विश्वास छ । बीआरआई आपसी सरसल्लाह, संयुक्त निर्माण र साझा उपभोगको उत्पादन हो । यो हरेक देशको साझा विकास र समृद्धिलाई साकार बनाउने ठूलो फोरम हो । यसलाई समानता, आपसी हित, सर्वपक्षीय जितको सिद्धान्तका आधारमा अगाडि बढाइन्छ ।

डाभोस एजेन्डा संवाद बैठकमा चिनियाँ राष्ट्रपति सीले भनेजस्तै विश्वका समस्या जटिल छन्, ती समस्या समाधानको उपाय भनेको बहुलवादको रक्षा गर्नु र यसलाई व्यवहारमा उतार्नु हो । हामीले खुलापन र समावेशीकरणलाई जोड दिनुपर्छ । अरूलाई अलग्याउने गर्नु हुँदैन । हामीले अन्तर्राष्ट्रिय नियम–कानुनलाई आधार बनाउनु पर्दछ । आफू मात्र सही हुँ भन्ने सोचाइ राख्नु हुँदैन । एकपक्षको मात्र जित हुने खेल र शीतयुद्धका विचार परित्याग गरी आपसमा हात मिलाई बहुलवादको मसालले मानव जातिको अघि बढ्ने मार्गलाई उज्यालो बनाउनुपर्छ ।

चीनले सिन्चियाङका अल्पसंख्यक जातिका मानिसलाई ठूलो संख्यामा नजरबन्द राखेको आरोप लाग्दै आएको छ । यसबारे तपाईंको धारणा के छ ?

सबैभन्दा पहिले यो कुरा स्पष्ट पार्नैपर्छ, सिन्चियाङको मामिला पूर्ण रूपले चीनको आन्तरिक मामिला हो, हामी अरू कसैले तथाकथित मानव अधिकारको बहाना बनाई चीनको आन्तरिक मामिलामा गरेको हस्तक्षेपलाई कडाइसाथ विरोध गर्छौं । दोस्रो, सिन्चियाङ अहिले इतिहासकै सबैभन्दा समृद्धशाली अवस्थामा छ । त्यहाँको आर्थिक सामाजिक विकास र जनजीवनमा अभूतपूर्व उपलब्धि भएका छन् । म यहाँ केही तथ्यांक प्रस्तुत गर्न चाहन्छु । सन् २०१० देखि २०१८ सम्ममा सिन्चियाङमा उग्वेर जातिको जनसंख्या १ करोड १ लाख ७० हजारबाट बढेर १ करोड २७ लाख २० हजार पुगेको छ । त्यसकारण तथाकथित ‘जातीय विनाश’ नितान्त आधारहीन कुरा हो । सन् २०१४ देखि २०१९ सम्म सिन्चियाङ क्षेत्रको कुल गार्हस्थ्य उत्पादन ९ खर्ब १९ अर्ब ५९ करोड यूआनबाट बढेर १३ खर्ब ५९ अर्ब यूआन पुगेको छ । वार्षिक औसत वृद्धिदर ७.२ प्रतिशत छ । व्यक्तिगत आयको वार्षिक औसत वृद्धिदर ९.१ प्रतिशत छ । विगत चार वर्षदेखि सिन्चियाङमा एउटा पनि आतंककारी घटना भएको छैन । समाज स्थिर छ । जनता खुसी छन् । यी उपलब्धिमाथि शंका गर्न सकिँदैन ।

तेस्रो, पश्चिमी देशका केही राजनीतिज्ञले आफ्नो व्यक्तिगत स्वार्थका लागि अथवा आफ्नो पक्षपातपूर्ण सैद्धान्तिक दृष्टिकोणका कारण सिन्चियाङसम्बन्धी कपोलकल्पित भ्रामक कुरा गर्ने गरेका छन् । चीनले धेरैपटक ती कुराको आलोचना र खण्डन गरी सत्यतथ्य प्रकाशमा ल्याइसकेको छ । नेपालले सदैव अडिग भई एक चीन नीतिको समर्थन गरेको र चीनको जातीय नीतिको समर्थन गरेकामा हामी कृतज्ञता ज्ञापन गर्छौं । केही देश र राजनीतिज्ञहरूले मानव अधिकार, धर्म आदि कुरालाई बहाना बनाई अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने दुराशयको हामी नेपालसँग मिलेर विरोध गर्न चाहन्छौं र संयुक्त रूपमा विकासशील देशहरूको साझा हितरक्षा गर्न चाहन्छौं । हामी नेपाली मित्रहरूलाई सिन्चियाङ भ्रमणका लागि निमन्त्रणा गर्न चाहन्छौं । सिन्चियाङ आई त्यहाँका सुन्दर पहाड, नदीनाला हेर्नुहोस्, सिन्चियाङका विभिन्न जातिका जनताको एकता र आपसी सहयोगयुक्त शान्तिपूर्ण जीवनको अनुभव गर्नुहोस् । मलाई विश्वास छ, सिन्चियाङप्रति तपाईंहरूको धारणा अझ सुन्दर हुनेछ ।

अन्त्यमा, नेपाल–चीन सम्बन्ध भविष्यमा कसरी जान्छ होला ?

चिनियाँ परम्परागत चाङ ‘छुन्चिए’ वसन्त उत्सव आउनै लागेको छ । यस अवसरमा म नेपाली मित्रहरूलाई शुभकामना दिन चाहन्छु । नयाँ वर्षको प्रारम्भपछि सम्पूर्ण स्वरूपमा परिवर्तन हुनेछ । यस वर्ष चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६६ औं वर्ष हो । चिनियाँ परम्परागत गाई वर्ष हो । चिनियाँ सांस्कृतिक परम्परामा ६६ लाई अन्त्यमा शुभ अंक मानिन्छ । गाईगोरु परिश्रम तथा लगनशीलताका प्रतीक हुन् । यो वर्ष चीनका लागि एक अत्यन्त महत्त्वपूर्ण वर्ष हो । यो वर्ष चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्ष पुग्दै छ । यो ऐतिहासिक विन्दुमा चीन–नेपाल सम्बन्धमा पनि महत्त्वपूर्ण विकासका नयाँ अवसर आउनेछन् । लगनशीलताको प्रतीक रहेको गाई वर्षमा हामी नेपाली पक्षसँग नयाँ आशा बोकी नयाँ विजययात्रा प्रारम्भ गर्न चाहन्छौं ।

दुई देशका नेताको संयुक्त प्रयास र निर्देशनमा द्विपक्षीय आदानप्रदान बढाई महामारी रोकथाम, कनेक्टिभिटी र विकास सहकार्यलाई महत्त्वपूर्ण विन्दु बनाई ‘एक प्रदेश एक मार्ग’ खाकाअन्तर्गत सम्पूर्ण क्षेत्रमा सहकार्य गर्नेछौं । हिमालय वारपारको त्रिआयामिक कनेक्टिभिटी सञ्जाल निर्माणलाई क्रमिक रूपमा बढाउन, नेपालमा महामारी नियन्त्रण, गरिबी निवारण, ऋणको चाप घटाउन, आर्थिक वृद्धि विकासलाई साकार बनाउँदै चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छौं । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार