असार २२, २०८२ आइतबार July 6, 2025

सरकार र महाधिवेशनमध्ये कांग्रेसको पहिलो प्राथमिकता महाधिवेशन नै हो : प्रकाशमान सिंह (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सर्वोच्च अदालतले संसद्को पुनस्र्थापना गरिदिएको छ । तर, कांग्रेसले असंवैधानिक भने पनि पुनस्र्थापनाको पक्षमा औपचारिक रूपमा प्रस्ट धारणा राख्न सकेन । तीन वर्षसम्म संसद्मा विपक्षीको भूमिकामा चुकेको कांग्रेसले यो मुद्दामा पनि आफ्नो भूमिका निभाउन सकेन नि ? 

यसमा तपाईंले सभापतिजीले चुनावको कुरा गर्नुभएको विषय उठाउनुभयो । वास्तवमा कांग्रेसले प्रस्ट रूपमा संसद् पुनस्र्थापनाको पक्षमा धारणा राखेको हो । ५ पुसमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेलगत्तै कांग्रेसले त्यो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख भनेको हो ।

७ पुसमा बसेको केन्द्रीय समितिको बैठकले पनि सर्वसम्मत रूपमा त्यसैलाई सदर गरेर कांग्रेस अघि बढेको हो । हामीले असंवैधानिक भन्नु भनेकै त्यसलाई संवैधानिक बनाऊ भनेको हो नि । हामीले असंवैधानिक र अलोकतान्त्रिक भन्यौँ, त्यो भनेको पनि संसद्को पुनस्र्थापना नै हो ।

अब पुनस्र्थापना गर भन्दै संयुक्त आन्दोलन गर्ने भन्ने विषय त कानुनी प्रश्नसँग जोडिएको विषय भयो । प्रधानमन्त्रीका रूपमा ओलीले संसद् विघटन गरे, तर राजनीतिक र वैधानिक रूपमा हेर्दा त त्यो कदम सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको हो । यसमा हामीले हाम्रो धारणा राख्ने हो, जो हामीले राखेकै थियौँ । राजनीतिक रूपमा जे भने पनि कानुनी दस्तावेजहरू नै यसका तथ्य हुन् । नेताहरूले कहाँ के भने भन्दा पनि कांग्रेसको केन्द्रीय समितिले के निर्णय गर्‍यो, त्यो मुख्य हो । कांग्रेसले विघटनलगत्तै जे भनेको थियो, अहिले सर्वोच्च अदालतले त्यही त गरेको छ ।

यो मुद्दामा कांग्रेसले निर्वाह गरेको भूमिकामा तपाईं सन्तुष्ट हुनुहुन्छ ? 

सन्तुष्ट नहुने कुरै छैन । यो मुद्दा नै कांग्रेसको हो नि । यहाँ ओली, प्रचण्ड, माधव नेपाल जे भने पनि आजको दिनसम्म नेकपा नै त सत्तामा छ । हामीले केन्द्रीय समितिबाट असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख भनिसकेपछि ७७ वटै जिल्लामा पुगेर विरोधसभा गर्‍यौँ, बोल्यौँ । असंवैधानिक कदम खारेज गर, सच्याऊ भनेर भन्यौँ ।

यो त एक–दुई नेताले बोलेको कुरा मात्रै होइन नि । १६५ वटै संघीय निर्वाचन क्षेत्र, ३३० वटै प्रदेश निर्वाचन क्षेत्र, ७५३ स्थानीय तह, ६,७४३ वटै वडाबाट पनि कांग्रेसले आवाज दियो । यो मुद्दामा हामीले कार्यकर्ता र सर्वसाधारण नागरिकलाई यो के कारणले चाहिँ गैरसंवैधानिक हो भनेर तल्लो तहमा पुगेर प्रशिक्षित गर्ने काम गरेका छौँ । यो स्तरबाट विरोध भएको छ ।

तर, तपाईंहरूले नेतापिच्छे फरक–फरक धारणा राखेर जनतालाई अलमलमा त पार्नुभयो नि ? 

होइन । हामीले अलमलमा पारेका होइनौँ । बरु जनताले प्रस्ट हुने मौका पो पाए । यो मुद्दाका कारण कसको नियत के रहेछ, परीक्षण गर्ने मौका पाए जनताले । कुन नेताको नियत के रहेछ, जनताले सुने, बुझे नि । प्रकाशमान सिंहले के बोल्यो ? रामचन्द्र पौडेलले के बोले ? शेरबहादुर देउवाले के बोले ? र, उनीहरूका मान्छेले के बोले ? यो त जनताले हेरेका, बुझेका छन् । को इमानदार छ भन्ने पनि एक्स्पोज भएको छ । को लोकतन्त्रको पक्षमा ? को प्रतिगमनको पक्षमा ? त्यसको हिसाबकिताब जनताले गरिहाल्छन् नि । बितिसकेको कुरामा अब मैले किन मुख तितो गराइराख्ने ?

अब नयाँ सरकार गठनको छलफल सुरु भएको छ । कांग्रेसले के गर्छ ? 

अहिल्यै यस्तै भन्न सकिने अवस्था छैन । आजसम्म पनि नेपाल कम्युनिस्ट पार्टी एउटै छ । संसद्मा नेकपाको संसदीय दल पनि एउटै छ । अहिलेसम्म त्यो दलको नेता ओलीजी नै हो । उहाँहरू राजनीतिक रूपमा विभाजित हुनुभएको होला, तर संसद्भित्र त एउटै हुनुहुन्छ नि । त्यसैले कांग्रेसले अहिले यस्तै हो भनेर धारणा राख्ने वेला भएकै छैन ।

संसद्को अधिवेशन बोलाइएको छ । संविधान छ, कानुन छन्, त्यही आधारमा संसदीय प्रक्रिया अघि बढ्ला । हामीलाई त चाहिएको संसद् हो । संसद् बोलाइसकेपछि संसदीय अभ्यासअनुसार त्यहाँभित्रैबाट एउटा नतिजा आउँछ, हामीले पदाधिकारी बैठकबाट पनि भनिसकेका छौँ । अहिले कांग्रेसले निर्णय गर्ने वेला भएको छैन ।

खासमा कांग्रेसलाई नेकपाको विभाजन चाहिएको हो कि संसदीय प्रक्रिया ? 

संसद्मा त संसदीय प्रक्रिया नै महत्वपूर्ण हुने भयो । संसद्मा प्रतिनिधित्व गर्ने दलहरू को–को हुन् भन्नेले पनि त्यहाँ अर्थ त राख्छ । कुनै पनि राजनीतिक निर्णय हचुवामा लिने होइन, उपयुक्त समयमा उपयुक्त निर्णय लिन सक्नुपर्छ । ‘बच्चा जन्मिने कहिले–कहिले भोटो सिलाउने अहिले’ भनेजस्तो अहिले नै कांग्रेसले निर्णय गर्ने कुरै छैन । संसद् सुरु भइसकेपछि त्यहाँको परिस्थिति हेरेर कांग्रेसले आफ्नो निर्णय लिने हो । त्यसैले, पहिले त संसदीय प्रक्रिया अगाडि बढाउनुप¥यो, उहाँहरूले ।

संसद् विघटन हुनुअगावै प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ भनिएको छ । त्यसमा कांग्रेसले के गर्छ ?

संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेको भनिएको छ । तर, त्यो प्रस्ताव अगाडि बढ्छ कि बढ्दैन ? अझै क्लियर छैन । त्यो त दर्ता नै भएको हो कि नभएको हो भन्ने पनि टुंगो लागेको छैन । संसद्मा त्यसको जानकारी दिनुपर्‍यो नि । संसद्मा प्रक्रिया सुरु हुँदा त्यहाँ जे हुन्छ, हामी त्यहीअनुसार अघि बढ्ने हो । अहिले कांग्रेसले यसो गर्ने भन्ने हाइपोथेटिकल कुरा गर्ने विषय नै होइन यो ।

यसमा व्यक्तिगत विचार फरक हुन सक्लान्, तर संसद्मा प्रक्रिया सुरु भइसकेपछि परिस्थिति हेरेर पार्टी र संसदीय दलले यसमा उचित निर्णय गर्नेछ । त्यसैले संसद्मा पहिले त अविश्वासको प्रस्ताव कसरी आउँछ ? कि आउँदैन कि ? नेकपा कसरी अगाडि बढ्छ ? कांग्रेसको निर्णय यिनैमा निर्भर हुन्छ । यो विषयमा हामी पार्टी र देशका निम्ति जे राम्रो हुन्छ, हामी त्यही गर्छौं ।

कांग्रेसले त गत वैशाखमै यो सरकारले शासन गर्ने नैतिक अधिकार गुमाइसकेको भनेको थियो । अहिले त्यही सरकारका विरुद्ध अविश्वासको प्रस्ताव आउँदा फेरि सोच्नुपर्ने अवस्था किन आयो ? 

पहिलो त, यत्रो असंवैधानिक कदम उठाइसकेपछि अदालतले खारेज गरेको अवस्थामा ओलीजीले नैतिकताको हिसाबले स्वतः राजीनामा दिनुपर्ने हो । तर, उहाँसँग नैतिकता त के नैतिकताको न पनि छैन । अर्को, यो सरकार भ्रष्टाचारमा लिप्त भयो । कोभिड–१९ महामारीको वेलामा समेत जनताको स्वास्थ्यको विषयमा काम गर्न सकेन ।

सुशासन होइन, कुशासन गर्‍यो । स्थिरता दिन सकेन भनेर हामीले त्यसो भनेका हौँ । सरकारको अक्षमता देखेरै हामीले राजनीतिक र वैधानिक तवरले नै यसले औचित्य गुमाइसकेको भनेर वैशाखमै भनेका हाैँ । तर, त्यसवेला त उहाँहरू पार्टीभित्र कोही पनि बोल्नुभएन नि । हामी प्रतिपक्षीको भूमिका त हामीले हाम्रो संख्याअनुसार निभाएकै हौँ । हामीले सरकारले राम्रो काम गरेन है भन्ने त हो नि । हामीले त्यो संकेत गरिसकेपछि लिडरसिप परिवर्तन गर्नुपर्ने त नेकपाले हो ।

नेकपाले आफूलाई दिएको जनमतको सम्मान गर्न नसकेको हो । समयमा निर्णय लिन सकेन । त्यसवेला प्रचण्डजी, माधवजीलाई पनि हामीले बोलेको सत्यले केही अर्थ राखेन । पछि उहाँहरूबीच कुरा नमिलेपछि फेरि उहाँहरूले पनि हामीले भन्दै आएकै कुरा सरकारलाई भन्न थाल्नुभयो । यो भनेको हामीले हाम्रो भूमिका निभाएकै थियौँ भन्ने हो । त्यसैले हामी परिस्थिति हेरेर नै अगाडि बढ्ने हो ।

मैले त नराम्रो गर्नेलाई नराम्रो भनेकै छु नि । गलत विचार र नियत बोकेको मान्छेसँग कांग्रेस एक ठाउँमा हुन सक्दैन । हामी परिस्थिति हेरेर नै निर्णय गर्छौं । यसमा व्यक्तिगत विचार फरक हुन सक्छ, तर पार्टीको आधिकारिक निर्णय परिस्थितिअनुसार कांग्रेसले दिन्छ ।

अहिले कांग्रेस सरकारमा जान्छ कि जाँदैन त ? 

संसद्मा कांग्रेस प्रमुख प्रतिपक्षी दल हो । गत निर्वाचनमा जनताले पाँच वर्षका लागि नेकपालाई झन्डै दुईतिहाइ मत दिएका हुन् । तर, उसले काम गर्न नसकेको यथार्थ जगजाहेर छ । जनताले नेकपालाई पाँच वर्षसम्म संविधानको कार्यान्वयन, स्थिरता, विकास र समृद्धिका लागि म्यान्डेड दिएकै हो ।

नेकपालाई अवसर दिँदादिँदै पनि आफ्नै कलहमा फसेर असंवैधानिक कदमहरू चालेर देशलाई अँध्यारोतर्फ लैजाने काम गरेको छ । अब नेकपाले चलाउन नसक्ने हो भने हामीले परिस्थिति हेर्नुपर्ने हुन्छ । तर, अहिले नै कांग्रेसले जाने वा नजाने निर्णय गर्ने वेला भएको छैन । यसमा हाइपोथेटिकल रूपमा बोल्नु हुँदैन । तर, संसदीय प्रक्रियामा अभ्यास गर्दै जाँदा सरकारको नेतृत्वचाहिँ कांग्रेसले गर्नुपर्‍यो भन्ने आयो भने त्यसवेला कांग्रेसले सोच्नुपर्ने पनि हुन्छ ।

किनभने, संसारभरिकै संसदीय अभ्यासमा विपक्षी दल ‘वेटिङ गभर्नमेन्ट’ हो । सत्ताधारी दलले जनताले दिएको जिम्मेवारीअनुसार काम गर्न नसके विपक्षी दलको भूमिका स्वतः बढ्छ । देशलाई निकास दिने काम हामीले गर्नुपर्छ । त्यस्तो परिस्थिति सिर्जना भयो भने विपक्षी दलले पनि आवश्यकताअनुसार आफ्नो निर्णय गर्नुपर्ने हुन्छ । घटनाक्रमले जे गर्छ, हामीले त्यहीअनुसार आफ्नो भूमिका निभाउँछौँ ।

कांग्रेसभित्रै सरकारमा जाने/नजाने विषयमा फरक–फरक धारणा आइरहेका छन् नि ?

लोकतान्त्रिक पार्टीभित्र सबैले बोल्न पाउँछन् । सबैले आफ्नो व्यक्तिगत धारणा राख्न पाइन्छ । तर, पार्टीको आधिकारिक धारणा छलफल गरेर तय हुने विषय हो । त्यो अहिलेसम्म भइसकेको छैन । मेरो धारणा स्पष्ट छ, हामी संसद्मा मुख्य विपक्षी पार्टी हौँ । संसद्को अभ्यासअनुसार असंवैधानिक कदम उठाएको नेकपाले हो ।

ओली सरकारले हो । त्यसैले सत्तारूढ दलले काम गर्न नसकेको अवस्थामा प्रतिपक्षले स्वतः आफ्नो भूमिका निभाउनुपर्ने हुन्छ । हामी त संसदीय प्रणालीका पक्षधर हौँ । हामीले संसद्मा सरकार नै बन्न नसक्ने अवस्था भयो भने हामी त प्रतिपक्ष हौँ भनेर बसिरहने भन्ने पनि हुँदैन । त्यसवेला परिस्थिति हेरेर निकास दिनुपर्ने हुन्छ । त्यसकारण संसद्भित्र जस्तो परिस्थिति उत्पन्न हुन्छ, त्यहीअनुसार कांग्रेस अघि बढ्नुपर्छ, बढ्छ । यो संसदीय प्रक्रियामा गइसकेपछि टुंगो लाग्ने विषय हो ।

महाधिवेशनको मिति तोके पनि तपाईंहरू संसद् र नयाँ सरकार गठनको गृहकार्यमा व्यस्त भएको जस्तो लाग्छ । अब कांग्रेसको प्राथमिकतामा महाधिवेशन कि सरकार हुन्छ ?

हाम्रा लागि संसद्भित्रको भूमिका र पार्टीको वैधानिकता बचाउने विषय दुवै उत्तिकै महत्वपूर्ण हुन् । पार्टीको महाधिवेशन गर्न धेरै नै ढिला भइसकेको छ । यो त निष्पक्ष, धाँदलीरहित रूपमा अहिले तोकिएकै मितिमा गर्नैपर्छ । त्यसैले सरकार र महाधिवेशनमध्ये कांग्रेसको पहिलो प्राथमिकता महाधिवेशन नै हो । संसद्मा पनि जनताले दिएको भूमिका त निभाउनैपर्ने हुन्छ । तर, संसद्भित्र अल्झेर पार्टीको महाधिवेशनलाई प्रभावित गर्न भने मिल्दैन ।

नयाँ सरकारको गृहकार्य सुरु भएको वेला पार्टीभित्र सभापतिज्यूको नेतृत्वमा सरकारमा जाँदा महाधिवेशन प्रभावित हुन्छ, दोस्रो तहका नेताहरूको नेतृत्वमा सरकारमा जानुपर्छ भनेर नेताहरूले तपाईंको नाम पनि लिइरहेका छन् । तपाईंले चाहिँ के सोच्नुभएको छ ? 

यो कुरा तपाईंले सुनाउनुभयो । नाम आयो भनेपछि त साथीहरूले यो मान्छे इमानदार छ, योग्य छ भनेर नै त भन्नुभयो होला नि । यसमा मलाई केही भन्नु छैन । तर, जहाँसम्म महाधिवेशनको मुखमा सरकारमा जाँदा फेरि महाधिवेशन नहुने अवस्था आउने हो कि भन्ने छ, त्यो स्वाभाविक आशंका हो ।

पार्टीले चार वर्षमा गर्नुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसकेपछि अहिले संविधानले दिएको अधिकार प्रयोग गरेर ६ महिना थप गरिएको छ । यो एउटा प्रजातान्त्रिक पार्टीभित्रको अभ्यास, विधि र पद्धतिसुहाउँदो भइरहेको छैन । अहिले पनि महाधिवेशन नगरेर त कसरी हुन्छ ? पार्टीलाई सुचारु रूपले चलाउन नसक्ने नेताले सरकार र देशको सञ्चालन कसरी गर्न सक्छ ? तर मलाई लाग्छ, पार्टी नै अवैधानिक होस् भन्ने चाहना त सभापतिजीको पनि छैन होला । नयाँपत्रिका दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार