असार २४, २०८२ मंगलबार July 8, 2025

बौद्धिक चोरीमा त्रिविका प्राध्यापक: फ्रान्सेली प्राध्यापकको अनुसन्धान चोरेर आफ्नो नामबाट प्रकाशित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले नै विदेशी प्राध्यापकहरूको अनुसन्धान चोरेर आफ्ना नाममा प्रकाशन गरेको पाइएको छ । प्रा.डा. परशुराम मिश्रसहित सातजनाले फ्रान्सका प्राध्यापक आर्मेल ली बेलको ‘क्रिस्टल स्ट्रक्चर’ चोरी गरी भारतका जर्नलमा प्रकाशन गरेको छानबिनबाट खुलेको छ ।

प्राध्यापक बेलले आफ्नो अनुसन्धान चोरी गरी प्रा.डा. मिश्रसहितका व्यक्तिले भारतीय जर्नलमा प्रकाशित गरेको भन्दै त्रिविका उपकुलपति, रेक्टर, रजिस्ट्रारसहितलाई इमेलमार्फत उजुरी गरेका थिए । त्रिविले रसायनशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामचन्द्र बस्नेतको संयोजकत्वमा प्रा.डा. निरञ्जन पराजुली र डा. भानुभक्त न्यौपाने सदस्य रहेको कमिटी बनाएर छानबिन गरेको थियो ।

छानबिनमा प्रा.डा. मिश्र मुख्य र अरू ६ जना कोअर्थर रहेका ११ आर्टिकल जर्नलमा प्रकाशन भएको पाइएको हो । बौद्धिक चोरीमा संलग्न हुने अन्यमा जनक अधिकारी, रोहित देव, युवराज साउ, विमलकुमार कण्ठ, हरेराम मिश्र र कल्पना मिश्र रहेका छन् ।

मिश्र त्रिविको आंगिक महेन्द्र मोरङ क्याम्पसका रसायनशास्त्रका प्राध्यापक हुन् । केही समयअघि मात्रै उनी सेवानिवृत्त भएका छन् । त्यस्तै, अधिकारी, देव र साउ त्रिविमै रसायनशास्त्रमा पिएचडी गर्दै छन् । अधिकारी र साउ त्रिविका प्राध्यापक पनि हुन् ।

उनीहरूले ‘क्रिस्टल स्ट्रक्चर’को डेटा तोडमोड गरी आफ्ना नामबाट प्रकाशन गरेको छानबिनबाट खुलेको छ । थप आधा दर्जन जर्नलमा छापिएका आर्टिकलमा समेत उनीहरूले चोरी गरेको आशंका भए पनि पुष्टि भएको छैन । ११ वटै प्रकाशनमा प्रा.डा. मिश्र ‘करेस्पोन्डेन्ट’ र बाँकी ६ जना फरक–फरकमा ‘कोअर्थर’ रहेका छन् ।

त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले प्रा.डा. मिश्रलगायतले ‘फेक’ काम गरेर आर्टिकल प्रकाशित गरेको छानबिनबाट पुष्टि भएको बताए । ‘मिश्रका पब्लिकेसन्सले त्रिविकै बेइज्जत भएको छ,’ उनले भने ।

त्रिविले बौद्धिक चोरीमा संलग्नमाथि सामान्य कारबाही गरेको छ । उपकुलपति बाँस्कोटाका अनुसार छानबिन प्रतिवेदन आइसकेपछि फ्रान्सेली प्राध्यापक बेल र प्रकाशन गर्ने भारतीय जर्नललाई आर्टिकल ‘फेक’ भएको जानकारी गराइएको छ ।

साथै, मिश्रसहितका अनुसन्धानलाई रद्द गर्ने तथा पिएचडी गर्दै गरेकालाई सचेत गराउने निर्णय भएको छ । छानबिन कमिटीले ११ आर्टिकललाई ‘रिट्र्याक्ट’ गर्नुपर्ने, सातजनालाई त्रिविमा अध्ययन अनुसन्धानमा दुई वर्ष निलम्बन गर्न सिफारिस गरेको थियो ।

किन हुन्छ चोरी ?

त्रिविमा प्रवेश पाउनका लागि अंक बढाउन बौद्धिक चोरी हुने गरेको त्रिविका अधिकारी बताउँछन् । उपप्राध्यापक र अन्य व्यक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा आर्टिकल प्रकाशन गरेबापत अंक प्राप्त हुने र त्यसले पदस्थापन तथा बढुवामा सहयोग पुग्ने, बायोटाडा बढ्ने भएकाले केही व्यक्तिले बौद्धिक चोरीसमेत गर्ने उनीहरूको तर्क छ । नयाँ पत्रीका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया