काठमाडौंः इटहरीका निजी कलेजले विद्यार्थीलाई मानसिक यातना दिएर लकडाउनको समयमा अध्ययन नभएको शुल्क असुल्ने गरेको पाइएको छ । इटहरीका अधिकांश निजी कलेजले विद्याार्थीलाई विभिन्न बहाना बनाएर मानसिक यातना दिई शुल्क असुल्ने गरेको पाइएको हो ।
इटहरीको विश्व आदर्श कलेजमा कक्षा १२ अध्ययनरत नीमा तामाङले आफूलाई कलेजले मानसिक यातना दिने गरेको बताए । ‘हामीले जति समय पढ्यौं त्यति समयको पैसा तिर्ने माग राखेका हौं, कलेजले मानसिक रूपमा यातना दिएर शुल्क असुल्न लागिपरेको छ ।’ शिक्षकले प्रयोगात्मक परीक्षामा फेल गराइदिने भन्दै अश्लील शब्द प्रयोग गरी धम्की दिने गरेको उनले गुनासो गरे । ‘प्राक्टिकलको नम्बर काटिदिन्छु भन्दै धम्की दिएर शुल्क असुल्ने गरेको छ,’ उनले राजधानीसँग भने, ‘परिवारलाई पनि फोन गरेर मानसिक रूपमा टर्चर दिने गरेका छन् ।’
शिक्षकले निजी विद्यालय राजनीति गर्ने थलो नभएको भन्दै सामुदायिक विद्यालयमा अध्ययन गर्न जानका लागि पटक–पटक धम्की दिने गरेको तामाङको गुनासो थियो । ‘तिमीहरू राजनीति गर्ने भए सामुदायिक क्याम्पस जानू, नभए प्रहरीको भ्यान बोलाएर पठाइदिन्छु, यतिसम्म भनेर पटक–पटक धम्की दिएका छन् ।’
उनी एक प्र्रतिनिधि पात्र मात्र हुन् । इटहरीको विश्व आदर्श, कस्तुरी, कोसी, सुष्मा, नमुनालगायत यहाँ रहेका आधा दर्जन बढी निजी कलेजका सयौं विद्यार्थीहरू उनीजस्तै शोषणमा छन् । कलेजले विभिन्न बहानामा विद्यार्थीसँग यातना दिएर शुल्क असुल्ने गरेको विद्यार्थीको गुनासो छ ।
इटहरीको कस्तुरी कलेजमा कक्षा १२ मा अध्ययनरत निश्चल पौडेल भन्छन्, ‘जम्मा सात महिना पढाइ भएको छ, अहिले कलेजले विभिन्न रूपमा मानसिक यातना दिएर १२ महिनाको नै फि मागिरहेको छ ।’ उनका अनुसार कलेजले १२ कक्षाको फर्म भर्नु अगाडि नै वर्षभरिको सबै पैसा माग्ने गरेकाले आफूहरू समस्यामा रहेको उद्धृत गरे ।
इटहरीको कोसी कलेजकी सुमिना डाँगीले अनलाइनबाट कक्षा सञ्चालन भएको पनि कलेजले शुल्क असुलेको बताइन् । ‘लकडाउनको समयमा कहिलेकाहीँ अनलाइनबाट पढाइ भएको पनि कलेजले रकम मागेको अवस्था छ,’ उनले आफ्नो समस्या सम्झँदै भनिन्, ‘सबैको घरमा नेट हुँदैन धेरैजसो विद्यार्थीले त अनलाइनबाट पढ्न पनि पाएनन्, तर हामीले मानसिक यातना भोगिरहेका छौं ।’ उनका अनुसार अनलाइन क्लासको नाममा कलेजले चरम शोषण गरेको बताइन् । ‘त्यो समयमा अनलाइनबाट कक्षा लिनका लागि भर्ना नगरी हुँदैन भनेर हामीले जबर्जस्ती १० हजार रुपैयाँ तिर्न बाध्य भयौं,’ उनले भनिन्, ‘१२ कक्षाको फर्म भर्नका लागि अहिले सबै रकम मागिरहेको अवस्था छ ।’
यता, इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद सुवेदीले भने उपमहानगर र कलेज प्रशासनबीच छलफल भए पनि कुनै निर्णय भई नसकेको प्रतिक्रिया दिए । उनले भने, ‘हामीले विभिन्न चरणमा विद्यार्थी र कलेज प्रशासनबीच छलफल गर्नेछौं, वास्तविकताको नजिक पुगेर उचित निर्णय गर्नेछौं ।’
उता, हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेले भने सुनसरीको मात्रै नभई यो समस्या राष्ट्रिय मुद्दा रहेकाले सरकारबाटै निर्णय आएमा मात्रै समस्याको निराकारण हुने बताए । उनले भने, ‘विद्यालयले छुट्टीका दिन पनि पढाएका छन् र जेठसम्ममा कक्षा सक्नु विद्यालयको दायित्व हो । कक्षा सकेपछि पैसा तिर्नु विद्यार्थी र अभिभावकको दायित्व हो ।’ उनले विषय पढाइ भइसक्ने भएपछि रकम तिर्नु अनिवार्य रहेको भन्दै गैरजिम्मेवारीपूर्ण जवाफ दिए ।
विद्यार्थीको माग जायज भए पनि यहाँका निजी कलेज सञ्चालक यस विषयमा मौन रहेका छन् । कलेज सञ्चालकले भने विषय अध्यापन गराइसकेपछि शुल्क लिन पाइने, आफूहरूले शिक्षक, कर्मचारीलाई तलब दिनुपर्ने भएकाले विद्यार्थीबाट शुल्क लिनुपरेको भन्दै रेडिमेट जवाफ दिने गरेका छन् । मंगलबार इटहरी उपमहानगरपालिका, हिसान सुनसरी र विद्यालय प्रशासनबीच छलफल भए पनि यकिन निर्णय नहुँदा उपमहानगरपालिका परिसरमा भेला भएका विद्यार्थी निराश भएर घर फर्किएका छन् । राजधानी दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया