असार २२, २०८२ आइतबार July 6, 2025

हामीलाई कारबाही गर्न ओलीसँग नैतिक साहस छैन : अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पार्टीको अध्यक्षको हिसाबले प्रधानमन्त्री ओलीले भेलालाई स्थगन गर्न भन्नुभएको थियो । तर, तपाईंहरूले भेला स्थगित गर्न किन आवश्यक ठान्नुभएन?

भेला आयोजना गर्नु हाम्रो बाध्यता हो । किनभने सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि अध्यक्षको नाताले हामीलाई जे व्यवहार गर्नुपर्ने हो, उहाँले त्यो गर्नुभएन । उहाँले एक ठाउँमा बसौँ, मिलौँ, मन माझामाझ गरौँ, मिलेर एकढिक्का बनेर जाऔँ, पार्टीलाई अझै बलियो बनाऔँ भनेर भन्नुपर्ने थियो । त्यसको सट्टा उहाँले २८ फागुनमा विधानविपरीत गुटको भेला गरेर हामीलाई पार्टी पदाधिकारीबाट निकाल्नुभयो । योजस्तो अपमान अरू के हुन सक्छ ? माधव नेपाललगायतका नेताले २८ फागुनको निर्णय फिर्ता लिनुस्, तब छलफल गरेर अगाडि जान सकिन्छ भनेर प्रस्ताव गर्नुभएकै हो । तर, उहाँले फिर्ता लिन सकिँदैन, बरु ४–५ गतेको भेला पनि रोक्नुस् भन्नुभयो । यस्तो पनि कुरा हुन्छ ? पार्टी अध्यक्ष भएको नाताले मिलाउनुपर्ने, समझदारी विकास गर्नुपर्ने उहाँले होइन ? खासमा उहाँ मिल्न नै चाहनुहुन्न । एमालेलाई एक बनाएर लैजाने उहाँको कुनै चाहना छैन । बाहिर खाली देखावटी मात्रै हो । एकता चाहेको भए हामी एक ठाउँ बसौँ भनेर तुरुन्तै बैठक बोलाउनुपर्ने होइन र ?

सर्वोच्च अदालतको आदेश मान्न तपाईंहरूलाई असहज लागेको हो ? 

सर्वोच्च अदालतको आदेश त मान्यौँ नि ! जे–जे भए पनि एकै ठाउँ बस्नुपर्छ भनेर फर्किएका हौँ । उहाँले पनि अदालतको निर्णय त मान्नुपर्‍यो नि ! २८ फागुनको गुटको भेलाबाट गरेको निर्णय गलत र अवैध हो । हामी त महाधिवेशनबाट निर्वाचित हो । विधान मिचेर कसरी निर्णय गर्न मिल्छ ? उहाँको मुखको भरमा अध्यक्ष र महासचिवचाहिँ टिकाउने, अनि हामीलाई चाहिँ निकाल्ने ?

तर, भेला आयोजना भयो भने कारबाही गर्ने भन्नुभएको छ नि ?

कारबाही गरेर देखाउनुस् न त । पार्टीमा यति ठूलो पंक्ति छ, इमानदार छ, अनुशासित छ, जिन्दगीभर लागेको, ओलीलाई यहाँसम्म पुर्याउने काम गरेको छ । अनि त्यो पंक्तिलाई चाहिँ कारबाही गर्ने ? मैले भनेको मानेन भनेर कारबाही गर्ने । हाम्रो गल्ती के छ ? उहाँ एकदमै गुटगत मानसिकता भएको, गलत सोच भएको मान्छे हो । उहाँसँग कम्युनिस्टको चरित्र र संस्कार छैन । हामी बाध्य भएर यो गरिरहेका छौँ । केन्द्रीय कमिटीमा पदाधिकारी र सदस्यमा मात्रै होइन, जिल्ला र तल्ला तहसँग विदेशमा पनि हाम्रो वर्चस्व छ । हाम्रो बहुमत छ । सदस्यहरूको कुरा गर्ने हो भने हामी बहुमतमा छौँ । अनि हामीले उहाँहरूको भविष्य अन्धकार बनाउने ? हामीले जे–जे पर्छ–पर्छ भनेर भेला गरेका हौँ । आज एउटै पार्टीमा एकले अर्कोलाई चिन्दै नचिनेको जस्तो अवस्था छ । हिजो हामीले कति प्रशिक्षण, भेला र कार्यक्रम गथ्र्यौं । अहिले त उहाँहरूले संगठनलाई यति कमजोर बनाउनुभयो कि एकले अर्कोलाई चिन्दै नचिनेको जस्तो छ । उहाँ शून्यको स्थितिमा झारेर सबैलाई कमजोर बनाउने, पार्टी पनि सिध्याउने र जनलोकतन्त्र पनि सिध्याउने बाटोमा जानुभएको छ । अनि हामी चुपचाप बस्न मिल्यो त ? हाम्रो पनि योगदान छ, दुःख गरेर आएको हो । माधव नेपाल, झलनाथ खनाललगायत सबै पुराना नेताहरू मञ्चमा हुनुहुन्थ्यो ।

भोलि उहाँले संसदीय दलको बैठक पनि बोलाउनुभएको छ । तपाईंहरूलाई अनुशासनको कारबाही गर्न मिल्ला नि ? 

उहाँले गुटको भेला गर्न, मनपरी गर्न कसरी मिल्छ ? उहाँलाई पहिले अनुशासनको कारबाही लाग्छ होला नि ? उहाँलाई सबैभन्दा पहिले अनुशासनको कारबाही गर्नुप¥यो । अध्यक्षले मनपरी गर्ने कहाँ लेखेको छ ? विधानमा देखाउनुपर्‍यो नि । हामीले के गरेका छौँ र ? हामीले गलत काम गरेका छैनौँ । पंक्तिबद्ध होऔँ, आन्दोलनलाई जोगाऔँ, इमानदार पंक्तिलाई गोलबद्ध गरौँ भन्या हो । आजै पनि २८ फागुनको निर्णय फिर्ता लिएर उहाँले यो भेलामा आएर सम्बोधन गरेको भए कार्यकर्ता खुसी हुन्थे । तर, उहाँमा चाहना छैन । अब हेरौँ उहाँ कति सच्चिने हो ?

ओलीले त पार्टीभित्र गुटबन्दी गर्ने, भेला गर्नेलाई कारबाही गर्ने भन्नुभएको छ । त्यसरी त अब एमाले पनि एक भइरहने कुरामा प्रश्न उठ्न थाल्यो नि ? 

होइन, अहिलेसम्म पार्टीमा सधैँ गुटबन्दीको नाइके त केपी ओली नै हो । उहाँले पार्टीका नेताहरूलाई अथाह पीडा दिनुभएको छ । मदन भण्डारी, सिपी मैनाली, झलनाथ खनाल र माधव नेपाल कसलाई दुःख दिनुभएन ? जहिल्यै पनि गुटबन्दी गरेर मनपरी ढंगले व्यवहार गरेर दुःख दिने काम त उहाँले नै गर्दै आउनुभएको हो । त्यसैले गुटबन्दी आफूले गर्ने, आसेपासे भेला गर्ने अनि कारबाहीको कुरा गर्ने ? उहाँका मान्छे हेर्नुस् न, कसकसलाई बोक्नुभएको छ ।

अध्यक्षले कारबाहीको प्रक्रिया अघि बढाउनुभयो भने पार्टी एकता रहिरहन्छ त ?

उहाँले त्यस्तो गर्नुहुन्न । उहाँले हामीलाई कारबाही गर्ने हिम्मत नै छैन । हामीलाई कारबाही गर्न उहाँमा नैतिकता पनि हुनुपर्‍यो । उहाँसँग नैतिकता छ त ? कारबाही गर्न सक्ने हिम्मत छ त ? उहाँले नैतिकवान् भएर आफ्नो काम कारबाही अगाडि बढाउनुभएको छ ? कम्युनिस्ट पार्टीमा अध्यक्षले भनेको जे पनि मान्नुपर्ने छ र ? त्यसैले त्यस्तो हुँदैन । गलत गर्छ भने हामीले अध्यक्षलाई पनि कारबाही गर्न सक्छौँ ।

अब एमाले एक रहने उपाय के हो ?

हामीले धेरै भनेकै छैनौँ, चाहेको एकता नै हो । हामी एमाले बनाउनकै लागि फर्किएका हौँ । त्यसका लागि त उहाँले २८ गतेको निर्णय फिर्ता लिनैपर्छ । फिर्ता भयो भने बल्ल छलफल गर्न सकिन्छ । होइन भने त अगाडि बढ्नुपर्ने हुन्छ ।

भेलाबाट फर्किंदा कार्यकर्ताहरू कस्तो मनोविज्ञान लिएर फर्किएलान् ?

उहाँहरू एकदम स्पष्ट र प्रस्ट हुनुहुन्छ । आज पनि धेरै कार्यकर्तासँग भेट भयो, उहाँहरू विचलित हुनुहुन्न । उहाँहरू खुसी हुनुहुन्छ, ठीक वेलामा बोलाउनुभयो भन्नुभएको छ । किनभने उहाँहरूले पनि जीवन बिताउनुभएको छ पार्टीमा । पार्टी र आन्दोलन भन्दाभन्दै उमेर त गयो । त्यसैले उहाँहरू स्पष्ट हुनुहुन्छ कि ओली सच्चिनैपर्छ । होइन भने उहाँ एक्लै भएर अघि बढे हुन्छ । उहाँ सच्चिएर आउनुपर्छ, हामी मान्छौँ । अध्यक्ष मानेकै छौँ, फेरि पनि मान्छौँ साथीहरूले प्रस्ट भन्नुभएको छ । हाम्रो आदरणीय नेता माधवकुमार नेपाल हुनुहुन्छ, झलनाथ खनाल हुनुहुन्छ । उहाँहरू पार्टीको इतिहास हो । पार्टीको संस्थापन भनेको जम्मा चारजना हुनुहुन्छ । ओली त होइनन् । उहाँले जतिसुकै फुर्ती गरे पनि उहाँसँग दम छैन । सबै गतिविधि हेर्ने हो भने उहाँ कम्युनिस्ट विचारबाटै च्यूत हुँदै जानुभएको छ । उहाँले प्रतिगमन किन गर्नुभयो ? गणतन्त्र, लोकतन्त्र र संविधानमाथि किन आक्रमण गर्नुभयो ? नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार