काठमाण्डौंः एक वर्ष बिसिए अध्ययन गरी विद्यार्थीले जाँचसमेत दिइसकेपछि त्रिभुवन विश्वविद्यालयले जनकपुरस्थित युथ कलेजको सम्बन्धन खारेज गरेको छ ।
नियमविपरीत स्वीकृति पाएको भन्दै त्रिवि कार्यकारी परिषद्ले १८ फागुनमा बिसिए कार्यक्रम खारेज गरेको हो । दुई वर्षअघि सम्बन्धन दिने निर्णय भए पनि कलेजले स्वीकृतिपत्र नलिईकनै पढाउन सुरु गरेको थियो ।
युथ कलेजले बिसिए अध्ययनका लागि ३५ विद्यार्थी भर्ना गरेको थियो । नयाँ कार्यक्रम अध्ययन गरी उज्ज्वल भविष्यको कल्पना गरेका विद्यार्थी त्रिविको निर्णयपछि चिन्तामा परेका छन् । कलेजको सम्बन्धन खारेज भएपछि त्रिविले विद्यार्थीलाई अन्य कलेजमा सार्न निर्देशन दिएको छ ।
कलेजको सम्बन्धनका विषयमा उजुरी परेपछि त्रिविको अनुगमन निर्देशनालयले छानबिन गरेको थियो । त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकाय र योजना निर्देशनालयबाट त्रिविको नियम, विनियमविपरीत युथ कलेजलाई बिसिए कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिइएको छानबिन प्रतिवेदनमा उल्लेख छ । त्यसकै आधारमा कार्यकारी परिषद्ले १८ फागुनमा सम्बन्धन खारेज गरेको हो । नयाँपत्रिका
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया